सुनिलबाबुको नीलो फूल : ‘केटै होइन भन्छन्, कसरी हुन्छ बच्चा?’

सुनिलबाबुको नीलो फूल : ‘केटै होइन भन्छन्, कसरी हुन्छ बच्चा?’

काठमाडौं : ‘बिहे भइसक्यो तेरो बच्चा जन्माउने तिर लाग। जति भने नि लाग्दैन। केटा होस त। हाम्रो इज्जत माटोमै मिलाउने भयो।’ यस्ता शब्द नेपाली समाजमा प्रयोग भइरहेको देखाइएको सर्ट फिल्म नीलो फूल बुटवलपछि काठमाडौँमा प्रदर्शन भएको छ।

माथि नै सुत्नु न महिलाले अनुरोध गर्छिन्। केटो माथि त सुत्छ तर, अडेस लागेर मात्रै। तपाईँको इच्छा बिना विवाह भएको हो? महिलाले सोध्छिन्। ‘मलाई मन थिएन, बुझिदिनु मलाई’ पुरुष उत्तर दिन्छन्।

‘मलाई कसले बुझिदिने। बन्द कोठा भित्र के भएको छ कसलाई थाहा?’महिलाले प्रतिप्रश्न गर्छिन्,‘तपाईँ नपुंसक हो?’ पुरुष महिलालाई आफू नपुंसक नभएको तर पुरुष प्रति मात्रै यौन इच्छा रहेको बताउँछन्।

‘बिहे अगाडि किन नभनेको?’महिलाले फेरी प्रश्न गर्छिन्। ‘मैले आमाको कसम खाएको थिए। छाडेर जान सक्नुहुन्छ। म केही भन्दिन।’ जबरजस्ती विवाह गर्न पुगेको पुरुष जसलाई गाउँ समाजका अगाडि श्रीमान् नाता जोडेकी महिला भाग्यलाई दोष दिन्छिन। ‘थुक्क मेरो भाग्य। मेरो जिन्दगी बरबाद भयो’ रूदैरूदै निदाउँछिन् उनी।

रोजेको मान्छेसँग विवाह गर्न नपाउँदा…

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिको इच्छा विपरीत विवाह गराइदिँदा महिलाले भाग्यलाई दोष दिनु परेको छ। बच्चा जन्माउन नसक्दा महिलाले बोक्सीको आरोप खेप्नु परेको छ। विवाह गरेर ल्याएकी महिलालाई नर्कको जीवनबाट छुटकारा दिलाउन सर्ट फिल्म ‘नीलो फूल’का नायक तिलक पनि छटपटिइरहेका छन्।

‘कान्छोको सन्तान हेरेर आनन्दले मर्ने धोको छ मलाई’तिलककी आमा भन्छिन्। तिलककी श्रीमतीले पानी भर्ने पधेरामा श्रीमानको कुरा काटेको सुन्नु परेको छ। ‘केटै होइन भन्छन्, कसरी हुन्छ बच्चा? बाझै पनि हुन सक्छे है’उनले जवाफ फर्काउँदै गर्दा पुग्छन् सभ्य समाज संस्थाका प्रतिनिधिहरू।

सुनिलबाबु पन्त सभ्य समाजबाट आएको बताउँदै भन्छन्,‘मानवअधिकार हनन, जबरजस्ती विवाह भएको छ भने खबर गर्नुहोला। रोजगारीका लागि तालिम पनि दिन्छौँ।’


पधेरामा पन्तको कुरा सुनेकी तिलककी श्रीमती अस्ति समलिङ्गीहरू आएको सुनाउँछिन्। ‘अभागी भनेको त भाग्यमानी छु क्यारे,’तिलक श्रीमतीसँग भन्छन्,‘जिन्दगी भर भुल्ने छैन।’ दुई जनाको सल्लाहमा घरबाट टाढा सभ्य समाजको सम्पर्कमा पुग्छन् तिलक।

सभ्य समाज संस्थाले कन्डम वितरणको काम दिन्छ। कन्डम वितरण गर्दा गर्दै पक्राउ पर्छन् सभ्य समाजका कर्मचारीहरू। पक्राउ पर्नेमा हुन्छन् तिलक। कन्डम बाँडेर विकृति फैलाएको आरोप लाग्छ उनीहरूलाई। प्रहरी कार्यालयमा लगिएका उनीहरू ‘हामी वेश्या हो र? मान्छे होइन र’ भन्छन्।

इन्स्पेक्टरको भूमिका निर्वाह गरेका घनश्याम जोशी बिना कारण ल्याउने काम नगर्न मातहतका प्रहरीलाई निर्देशन दिन्छन्। पक्राउ परेका तिलकमा प्रवेशको माया देख्छन्। ‘प्रवेश केसी चिन्छौ, तिमी जस्तै थियो। माया गर्थ्यो मलाई। कहाँ हरायो हरायो।’ उनले तिलकलाई आफूसँगै राख्छन्।

तिलक पनि हौसिँदै आफूलाई पाको पुरुष मन पर्ने सुनाउँछन्। उनीहरूले चिया पिउँदै मिलाएको हात बेड रुममा पुग्छ। बच्चा नभएर बुढीले वचन सहनु परेको सुनाउँछन् तिलक। श्रीमतीलाई गर्भवती बनाउने तिलकको प्रस्तावमा इन्स्पेक्टर तयार हुन्छन्।

त्यही प्रस्ताव तिलकले श्रीमतीसँग राख्छन्। ‘बरु चाहिँदैन बच्चा,अप्ठ्यारो लागेन भन्नलाई,मलाई रण्डी बनाउन खोजेको?’उनी रुँदै प्रश्न गर्छिन्। तिलक बच्चा भएमा कसैले औँला उठाउन नसक्ने सुनाउँछन् श्रीमतीलाई। ‘एक्लै लड्न सकिन। ‘हार खाएर आत्महत्या गर्न सकिन, रोजे मध्यमार्गी बाटो’तिलक सर्ट फिल्म नीलो फूल मार्फत आफ्नो वेदना पोख्छन्।

तिलकका पार्टनरलाई श्रीमती सोध्छिन्,‘बच्चा भएको मान्छे किन मान्नु भयो?’

‘तिलकलाई पनि माया गर्छु। तिलक जस्तै सम्झे हुन्छ’ प्रहरी इन्स्पेक्टरले बाईसेक्सुयलको भूमिका निभाएका छन् सर्ट फिल्ममा। ‘के उनले बच्चा जन्माउँछिन्? परिवार राम्रो हुन्छ?’ यो अनुत्तरित प्रश्न दर्शकलाई छोडेर सकिन्छ नीलो फूल।

पन्तको कम ब्याक


गोरखामा जन्मेका हुन सुनिलबाबु पन्त। ‘म गोरखामै भएकै भए मेरो पनि अवस्था तिलकको जस्तै हुन्थ्यो भन्न सकिन्न’पन्तले सुनाए। २३ वर्ष अगाडि सन् २००१ मा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिको मानवअधिकार र स्वास्थ्यमा काम गर्न नील हिरा समाज नामक गैरसरकारी संस्था स्थापना गरेका हुन् पन्तले।

उनले नै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको पहिचान र अधिकार माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिए। पहिलो संविधान सभाका सदस्य पन्तको रिटमा सर्वोच्च अदालतले २०६४ पुस ६ गते सरकारका नाममा निर्देशनात्मक आदेश दियो।

सर्वोच्चको आदेश पछि जिल्ला प्रशासन कार्यालय कास्कीले पहिलो पटक तेस्रोलिंगी पहिचानमा नागरिकता प्रदान गर्‍यो विष्णु अधिकारीलाई। अधिकारी अमेरिकामा छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीले डिलु बुदुजालाई पनि तेस्रोलिंगी पहिचानमा नागरिकता दियो।

त्यही नागरिकताका आधारमा गत मङ्सिर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार बनेकी बुदुजा निर्वाचन आयोगले लैङ्गिक पहिचान फरक परेको भन्दै नाम हटाउने निर्णय गरेपछि सर्वोच्च अदालत पुगेकी थिइन।

तेस्रोलिंगी डिलु बुदुजाको उम्मेदवारी कायम


पहिचान अनुसारको नागरिकता लिए पनि ‘कागजको खोस्टो’ सरह भएको गुनासो बुदुजाको कायमै छ। समलिङ्गी विवाहको कानुन अहिलेसम्म बन्न सकेको छैन। सर्वोच्च अदालतको आदेशपछि गठन भएको समलिङ्गी विवाहबारे अध्ययन गर्ने समितिले २०७१ साल वैशाखमा सरकारलाई प्रतिवेदन बुझाइसकेको छ।

सरकारले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन। प्रतिवेदन बुझाइसकेपछि जारी भएको संविधान अनुसार मुलुकी देवानी र फौजदारी संहितामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिको विवाह हुन्छ भनेर कल्पना समेत गरिएको छैन।

संविधान विपरीतको कानुन संशोधन गरेर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिले विवाह गर्न पाउनु पर्ने व्यवस्था गर्न माग गरेको पनि २३ वर्ष भएको सुनाउँछन् पन्त। ‘सर्वोच्चको आदेश कार्यान्वयन नहुँदा अवहेलना भएको ठहर्छ कि ठहर्दैन?’पन्त प्रश्न गर्छन्।

संविधानमा अधिकार लेख्न मुख्य भूमिका निर्वाह गरेका पन्त १५ वर्षसम्म सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगर्ने नीति निर्माण तहका जिम्मेवार पदाधिकारीलाई प्रश्न गर्न सर्ट फिल्म नीलो फूल लिएर आएका छन्। बेलायती पार्टनरको निधन पछि दुई वर्ष भिक्षु बनेका पन्त अहिले कश्यप अनागरिकको नामबाट ‘कम ब्याक’ भएका हुन्।

प्रकृति विरुद्धको डिजास्टर


नीलो फूल प्रदर्शनपछि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रकृति विरुद्ध जान खोज्दा डिजास्टर बेहोर्नुपर्ने बताए। ‘रियालिटीलाई स्वीकार नगर्ने, रियालिटीका आधारमा अगाडि नजाने अथवा प्रकृतिसँग मिलेर नजाने हो भने प्रकृति विरुद्ध जुध्न खोज्दा ठुलो डिजास्टर बेहोर्नुपर्ने हुन्छ,’सभामुख घिमिरेले भने,‘जबरजस्ती प्राकृतिक विरुद्ध जाने कुरा बेठीक हुन्छ।’

उनले समाजमा पुरुष र महिला दुइटा लिङ्गको मात्रै चर्चा गरिरहँदा अहिलेको संविधानले तेस्रोलिंगको पनि व्यवस्था गरेको बताए। तर, तेस्रोलिंगको समस्या के हो? त्यो रियालिटी हो। रियालिटीलाई समाधान गर्ने व्यवहार के हुन्? नियम कानुन ऐनहरू के हुन्?’उनले भने,‘यी कुराहरू व्यवहारमा खासै उत्रेर आइरहेको छैन।’


समाजलाई गाइड गर्न समाजको वास्तविकतालाई बुझ्नुपर्ने उनले बताए। त्यसको सङ्केत नीलो फूल फिल्मले देखाएको उनको भनाई थियो। ‘मान्छेको जीवनलाई अगाडि लैजानका लागि विवाह सँग सम्बन्धित रहेर छोटो समयमा देखाइएको फिल्मले केही न केही सङ्केत गरेको छ,’उनले भने,‘मलाई लाग्छ त्यो सङ्केत मात्रै हो। यस्ता कुराहरू सङ्केतको रूपमा मात्रै नभई जनजीवनको व्यवहारमा सच्चाइलाई बुझ्ने ऐन कानुनमा मिलाउने कुरालाई सहयोग गर्नेछ। त्यसलाई स्विकार्नु पर्छ।’

सभामुख घिमिरेले फिल्मलाई सराहनीय काममा रूपमा लिएको बताए। ‘सुनिलबाबु पन्त जसले ऐन कानुन बनाउने ठाउँमा प्रतिनिधित्व गरेर भूमिका खेले पनि अहिले विभिन्न खालको जीवन बिताउँदै यो फिल्म देखाउनु भएको छ,’उनले भने,‘यसलाई सराहनीय कामका रूपमा ठिक दिशामा लैजानु पर्छ।’

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले सर्वोच्च अदालत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिको अधिकारमा उदार रहेको बताए। उनले मानवअधिकार रक्षाका लागि सर्वोच्च अदालत प्रतिबद्ध रहेको सुनाए।

‘समाधान होइन, सोच्न बाध्य’ बनाउने नीलो फूल निर्माणदेखि प्रदर्शनमा सहयोग गरेको हो अमेरिकी दूतावासले। काठमाडौँमा बुधवार भएको नीलो फूल प्रदर्शनमा अमेरिकी र अस्ट्रेलियन दूतावासका अधिकारीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिलाई सामाजिक, संस्कृति, आर्थिक रूपमा परेको वास्तविकता चलचित्रमा देख्न पाइएको प्रतिक्रिया दिए।

बुटवल र काठमाडौँमा प्रदर्शन भएको नीलो फूल शनिवार विराटनगर र सोमबार नेपालगन्जमा प्रदर्शन हुँदै छ।

चुनावमा समलिङ्गी तेस्रोलिंगी : राधाको जोगिएन जमानत, गोमा झिनो मतले पराजित

ओभरलुक्ड फेसेज अफ नेपाल : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिको रियल स्टोरी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.