चुनौतीलाई अवसरमा परिणत गर्दै महिला सञ्चारकर्मी

चुनौतीलाई अवसरमा परिणत गर्दै महिला सञ्चारकर्मी

पत्रकारिता आफैँमा चुनौतीपूर्ण पेसा हो। यो पेसामा लागेका पुरुष या महिला उनीहरूलाई विभिन्न चुनौतीका बाबजुद आफ्नो नित्य कर्म गर्नुपर्ने हुन्छ। महिला र पुरुष सञ्चारकर्मीले समाचार सङ्कलनका लागि फिल्डमा खटिँदादेखि सञ्चारगृहको डेस्कमा विभिन्न चुनौतीको सामना गर्नुपर्ने हुन्छ।

पुरुष पत्रकारका लागि आर्थिक र भौतिक असुरक्षा छ भने महिलालाई यसका साथै सामाजिक असुरक्षा समेत सामना गर्नुपर्ने बाध्यता छ।

हालै सार्वजनिक ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८.६ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको जनाएको छ। यसले पनि महिला पत्रकारको चुनौती बारेमा प्रस्ट पार्छ।

मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत २८१ महिला पत्रकारको सहभागिता रहेको अध्ययनमा ८८.६ प्रतिशत महिला पत्रकारले हिंसा भोग्नुपरेको देखाएको छ।

सन् २०२२ मे महिनादेखि ३१ अगस्टसम्म गरिएको अध्ययनमा हिंसा गर्ने व्यक्तिबारे सोधिएका प्रश्नमा २८१ जना सहभागीमध्ये ११६ जनाले कार्यालयभित्रका सहकर्मीबाट, ८९ जनाले कार्यालयबाहिरका सहकर्मीबाट, ८९ जनाले परिचित व्यक्तिबाट, ६३ जनाले समाचार स्रोतबाट, ५६ जनाले राजनीतिक दलसम्बद्ध व्यक्तिबाट र २६ जनाले सरकारी अधिकारीबाट अनलाइन हिंसा भएको उल्लेख गरेका छन्।

नेपाल पत्रकार महासङ्घ धनुषाकी उपाध्यक्ष नेहा झाले धनुषा शाखामा अहिलेसम्म महिला सञ्चारकर्मीको हिंसा सम्बन्धमा लिखित रूपमा कुनै जानकारी नआएको बताइन्। मौखिक रूपमा जानकारी आएपछि त्यसमा महासङ्घले पहलकदमी लिँदै आएको उनले बताइन्।

अहिले दिनहुँ हत्या, हिंसा, बलात्कार जस्ता समाचार आउने गरेको छ। यसले अबेर रातिसम्म काम गरेर फर्कने वातावरण पनि नरहेको अवस्था छ। एकातर्फ आपराधिक क्रियाकलापले महिला पत्रकारमाथि खतराको घण्टी बजाएको छ भने अर्कोतर्फ घरको कामका साथै सञ्चारकर्ममा जानुपर्ने अवस्था उनीहरूमा छ।

महिला पत्रकारमा रहेका विभिन्न चुनौतीकै कारण सम्भवतः तराई मधेसमा महिला पत्रकारको सङ्ख्या न्यून छ। महिला पत्रकार फिल्डमा जानुभन्दा सञ्चारगृहमै काम गर्न रुचाउनुको कारण पनि यही हुन सक्छ।

रेडियो टुँडे, हिमालिनी म्यागेजिन सहितका सञ्चारगृहमा काम गर्दै आएकी उमा सिंहले २०६५ साल पुस २७ गते ज्यान गुमाइन्।

जनकपुरधामको रजौलस्थित डेरा लिएर बस्दै आएकी सिंहको हातहतियार बोकेका पन्ध्र/बिस जनाको समूहले विभिन्न भाग गरी लगभग बत्तीस तेत्तीस स्थानमा खुकुरीले प्रहार गरेका थिए। पछि उनको मृत्यु भयो। यस घटनापछि धनुषामा महिलाको सहभागितामा खासै बढोत्तरी भएन। सञ्चारक्षेत्रमा आए पनि विवाहपछि उनीहरू यस पेसाबाट पलायन हुने अवस्था छ।

पत्रकार महिला उमा सिंहको हत्यापछि केही वर्षसम्म महिलाहरू यो पेसाप्रति उदासीन देखिए। पत्रकार सिंहको निर्मम हत्याले धनुषा मात्रै होइन देशभर तहल्का मच्चिएको थियो। हत्यापछिको अवस्था सुधार ल्याउन नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका तत्कालीन नेतृत्वदेखि हालसम्मका नेतृत्वपंक्तिले पत्रकारको सुरक्षाका लागि विभिन्न समयमा भूमिका खेल्दै आएका छन्।

सङ्घीयता आएपछिको अवस्थामा समेत पत्रकारिता पेसालाई भने सुरक्षित पेसा बनाउन तीन तहमध्ये कुनै सरकारले खासै पहल गरेको देखिँदैन तर महासङ्घ धनुषा शाखा भने पत्रकारलाई जीउज्यान लिने धम्की दिने सम्बन्धित व्यक्ति तथा संस्थाहरू समेतलाई कारबाहीको दायरामा ल्याउन सफल भएको छ।

केही महिनाअघि स्थानीय निर्वाचनका क्रममा जनकपुरधाम उपमहानगरपालिकामा उम्मेदवारी दर्ता भइरहेका वेला सोही ठाउँमा महिला सञ्चारकर्मीले पुरुष सञ्चारकर्मीलाई कुटिन्। कारण थियो उनको चरित्रमाथि लाञ्छना लगाइँदै थियो। यो घटना प्रहरीसम्म पुग्यो तर सम्झौतामै टुङ्गियो। यो घटना उदाहरण रहेको महिला सञ्चारकर्मीहरू बताउँछन्। यस्ता यस्ता घटना कैयौँ पटक सामना गर्नुपरेको उनीहरू बताउँछन्।

नेपाली पत्रकारिताले एक शताब्दी पार गरे पनि देशको जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगट्ने महिलाको अहिले पनि नेपाली पत्रकारितामा उपस्थिति न्यून छ। धनुषा पनि योभन्दा फरक छैन।

पुरुष प्रधान समाज र पितृसत्तात्मक सोचका कारणले पनि नेपालमा महिला पत्रकारको सहभागिता न्यून रहेको महिला अधिकारकर्मीहरू बताउँछन्। यद्यपि पछिल्लो समयमा मिडिया क्षेत्रमा महिलाको सहभागिता क्रमिक रूपमा बढ्दै जानुलाई भने सकारात्मक सङ्केतका रूपमा लिन सकिन्छ।

नेपाल पत्रकार महासङ्घको तथ्यांकअनुसार देशभर १३ हजार ७७ जना सदस्य हुँदा महिलाको सङ्ख्या २ हजार ४०८ जना छ। महासङ्घको तथ्याङ्कले नेपाली पत्रकारितामा महिलाको सहभागिता न्यून रहेको देखाएको छ।

धनुषा जिल्लामै थोरै सङ्ख्यामा महिला सञ्चारकर्मी छन्। जनकपुरधामबाट प्रकाशन तथा प्रसारण हुने पत्रपत्रिका, टेलिभिजन, रेडियोमा महिलाको सहभागिता भए पनि उनीहरू सञ्चारगृहमै बसेर काम गर्न रुचाउँछन्। धनुषामा महिला पत्रकारको सङ्ख्या न्यून भएको अवस्थामा फिल्डमा भने २/४ जना मात्र देखिन्छन्।

धनुषामा एक सयभन्दा बढी पत्रपत्रिका दर्ता भए पनि अहिले ११ वटा पत्रिका मात्रै नियमित प्रकाशित भइरहेको नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष अवधेश कामतले बताए। धनुषाबाट ११ वटा पत्रिका नियमित प्रकाशित भए पनि काम गर्ने महिला एक जना मात्र छन्। यस्तै धनुषाबाट राष्ट्रिय स्तरको पत्रिकामा एक जना छन्।

रेडियोको सङ्ख्या १२ वटा हुँदा औसतमा दुई जनाले एउटा रेडियोमा काम गर्ने गरेका छन्। अनलाइन पत्रिकामा समेत यो सङ्ख्या आधा भन्दा कम छ।

नेपालको संविधानले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरे पनि समान सहभागिता र समावेशिताको वकालत गर्ने सञ्चारमाध्यमले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न सकेका छैनन्। सीमित सङ्ख्यामा रहेका महिला सञ्चारकर्मी सञ्चारगृहमा स्पष्ट लैङ्गिक नीतिको अभावका कारण टिक्न सकिरहेका छैनन्।

यसका लागि संविधान प्रदत्त अधिकार कार्यान्वयनमा नियमनकारी निकायको ध्यान जान जरुरी छ। राज्यले नीति बनाएर कार्यान्वयनमा लानुपर्ने पत्रकार महासङ्घ धनुषाकी महिला उपाध्यक्ष नेहा झाको धारणा छ।

सञ्चारक्षेत्रमा महिला सहभागिता बढाउन पत्रकार महिलाहरूको भौतिक र पेसागत सुरक्षा पनि उत्तिकै जरुरी रहेको उनी बताउँछिन्। सञ्चारसम्बन्धी हरेक नीति निर्माण तहमै महिलाको प्रतिनिधित्व भए सहभागिता र पत्रकारितामा महिलाले भोगेका समस्या समाधान हुन सक्छन्।

आधुनिक युगमा अहिले महिला पत्रकारहरूलाई निरुत्साहित गर्न अनलाइन प्रविधि र सामाजिक सञ्जालमार्फत हिंसा हुँदै छ। यसका लागि बदलिँदो समयसँगै नयाँ कानुन निर्माणदेखि कार्यान्वयन हुनुपर्छ। सञ्चार संस्था महिलामैत्री नहुँदा विवाहित महिला पेसाबाटै पलायन हुन परेको विभिन्न अध्ययनले देखाएको छ। त्यसैले यस क्षेत्रमा समान व्यवहार, उचित पारिश्रमिक र महिलामैत्री वातावरण आवश्यक छ।

धनुषाका सन्दर्भमा महिलाको सहभागिता कम भए पनि उनीहरूले नेपाली पत्रकारितामा आफ्नो अमूल्य योगदान दिँदै आएका छन्। आफ्नो क्षमता र योग्यताको आधारमा अवसर पाउनबाट समेत पछि परेका छैनन्।

विभिन्न बाधा अवरोध तथा चुनौती सामना गर्दै धनुषामा त्यसलाई अवसरको रूपमा परिणत गर्ने एक पात्र हुन् पत्रकार महासङ्घ धनुषा शाखाकी अध्यक्ष मनिका झा।

जनकपुरधाममा सञ्चारकर्मी उमा सिंहको हत्या भएपछि यस क्षेत्रबाट पलायन भइरहेका वेला उनी अडिग रहिन्। त्यसपछि सञ्चारक्षेत्रमा उनले पुर्‍याएको योगदानकै कारण आज उनी नेतृत्वदायी भूमिकासम्म पुग्न सकिन्।

सञ्चारक्षेत्रमा महिलालाई दिने जिम्मेवारी, कार्यस्थलको वातावरण, शारीरिक र पेसागत सुरक्षाका कारणले पनि पत्रकारितामा महिला सहभागितालाई प्रभाव पारेको विभिन्न अध्ययनले देखाउँछन्।

(पत्रकार राजा झाको यो समाचार फिचर प्रशिक्षार्थी पत्रकार लेखनवृत्तिका लागि नेपाल पत्रकार महासङ्घले युरोपियन युनियन र इन्टरनेशनल अलर्टको सहयोगमा प्रकाशन गरेको ‘सिक्दै…लेख्दै…सिक्दै’ बाट लिइएको हो)

सूचना लुकाउने प्रतिस्पर्धा

न्यायिक निकायको प्रभावकारितामा सञ्चारक्षेत्र

अझै असहज र चुनौतीपूर्ण पत्रकारिता

त्यो समाचार, जसले अँध्यारोमा सुत्केरी गराउँदा हुने जोखिम कम भयो

गोपनीयताको संस्कारमा हुर्केको प्रशासनिक संयन्त्र

पत्रकार महिलालाई सबै क्षेत्रमा असुरक्षा

पत्रकार महिला : नाम छ, दाम छैन

विस्थापित हुँदै पत्रकार

न्यायिक निकायको विश्वसनीयतामा शङ्का

महिला पत्रकार : अवसरभन्दा चुनौती धेरै

सामाजिक सञ्जाल : परिवर्तनको संवाहक तर जोखिम उस्तै

सूचनाको हक : कानुनमा छ, व्यवहारमा छैन

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading