स्वास्थ्य मन्त्रीसँग केसी रुष्ट, आरोप पुष्टि गर्न चुनौती

स्वास्थ्य मन्त्रीसँग केसी रुष्ट, आरोप पुष्टि गर्न चुनौती

काठमाडौं : चिकित्सा शिक्षा सुधारको नारा दिएर अनसनको उपाधि पाएका डा. गोविन्द केसी र स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतबीच वार सुरु भएको छ। केसी मेडिकल माफियाद्वारा सञ्चालित भएको मन्त्री बस्नेतले आरोप लगाए पछि केसीले मन्त्री बस्नेतलाई बर्खास्त गर्न माग गरेका छन्।

बस्नेतले स्वास्थ्य मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेदेखि नै मेडिकल माफियाका पक्षमा लबिङ गरिरहेको केसीले काउन्टर जवाफ दिएका छन्। आफूमाथि लाञ्छना लगाउने मन्त्री बस्नेतलाई नै बर्खास्त गर्न डा केसीले विज्ञप्ति जारी गरेर माग गरेका हुन्।

‘मापदण्ड नपुगेका र विगतमा ऐन विपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐन विपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैर कानुनी र खेदपूर्ण कार्य हो। यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्डजीका स्वास्थ्य मन्त्री माफियाहरूका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप हो,’केसीले निकालेको विज्ञप्तिमा लेखिएको छ,‘निजलाई तत्काल पदमुक्त गरियोस्।’

उनले स्वास्थ्य मन्त्री बस्नेतसँग स्वास्थ्यसम्बन्धी ज्ञान, अनुभव नभएको र उनले जान्ने प्रयाससमेत नगरेको आरोप पनि लगाएका छन्। ‘ठुला मुखे गैरजिम्मेवार, भ्रष्ट र गँवार व्यक्तिलाई स्वास्थ्य मन्त्री बनाएर प्रचण्ड र देउवा, स्वास्थ्य मन्त्रालयजस्तो संवेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलवाड गर्दैछन्, यो राजनीतिक तथा सामाजिक अपराध हो’ डा केसीले भनेका छन्।

केसीमाथि मन्त्री बस्नेतले लगाए गम्भीर आरोप

केसीले अधिकांश ग्रामीण क्षेत्रका मानिसहरू स्वास्थ्य सेवाबाट वञ्चित भएको, निःशुल्क औषधि सेवा उपलब्ध हुन नसकेको, हजारौँ स्वास्थ्यकर्मीहरू बेरोजगार रहेको, श्रम शोषण रहेको, सरकारी स्वास्थ्य संस्थाको सङ्ख्यामा खासै वृद्धि नभएको, चार दशकअघिकै दरबन्दीमा स्वास्थ्य केन्द्र र अस्पताल सञ्चालन गर्ने बाध्यता रहेको डा. केसीले उल्लेख गरेका छन्।

उनले चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार प्रत्येक प्रदेशमा एक सरकारी मेडिकल कलेज वा प्रतिष्ठान २०८० सम्म निर्माण कार्य सम्पन्न गरी सञ्चालन आइसक्नुपर्नेमा त्यसलाई समेत रोकिएको, सरकारी प्रादेशिक अस्पतालहरू नर्सिङलगायतका कार्यक्रमहरू सञ्चालन गर्न मापदण्ड यथेष्ट पूरा भए पनि वास्ता नगरिएको भन्दै स्वास्थ्य मन्त्रीलाई ती कामहरू गर्न आग्रह पनि गरेका छन्।

आफ्ना माग पूरा नभए डा केसीले मङ्सिर २९ गतेदेखि थप कडा मागसहित सत्याग्रह सुरु गर्ने बताएका छन्। शनिवार स्वास्थ्य मन्त्री बस्नेतले राष्ट्रिय ट्रमा सेन्टरको वार्षिकोत्सवमा डा. गोविन्द केसी मेडिकल माफियाद्वारा सञ्चालित भएको आरोप लगाएका थिए। मन्त्री बस्नेतले वरिष्ठ चिकित्सक केसीले बेलाबेला अनशन बस्ने कुरा देश र जनताको अहितमा भए पनि मेडिकल गिरोहजस्ता गलत मान्छेको फन्दामा परेर त्यसो गरिरहेको उल्लेख गरेका थिए।

नेपाल मेडिकल ‘शिक्षाको हब’ बन्ने शक्ति र वातावरण हुँदाहुँदै पनि वरिष्ठ चिकित्सक केसी र मेडिकल माफियाले त्यसो हुन नदिन मेडिकल कलेज थप सञ्चालन गर्न नदिएको मन्त्री बस्नेतको जिकिर थियो।

डा. केसीले आफूमाथि लगाएको आरोप कपोलकल्पित र सम्पूर्ण झुटा भएको दाबी गरेका छन्। डाक्टर केसीले आफूमाथि लाञ्छना लगाउनुभन्दा छानबिन आयोग गठन गर्न चुनौती दिएका छन्। दोषी ठहरिए आफू जुनसुकै सजाय भोग्न तयार रहेको केसीले उल्लेख गरेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading