केटीको भेषमा लुट्नेलाई दुई महिना कैद, पीडितलाई क्षतिपूर्ति भराउने आदेश

केटीको भेषमा लुट्नेलाई दुई महिना कैद, पीडितलाई क्षतिपूर्ति भराउने आदेश

काठमाडौं : केटीको भेषमा लुटपाट गर्ने सुस्मिता तामाङसहित दुई जना दोषी ठहर भएका छन्। होटेल सञ्चालकसँगको मिलेमतोमा चोरी, लुटपाट गर्ने कार्यमा संलग्न तेस्रोलिंगी नाम एन्जेला रहेका सुस्मिता सहित दुई जना दोषी ठहर भएका हुन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक खनालको एकल इजलासले पीडितबाट लुटिएको नगद फिर्ता गराउने आदेश दिएको छ। ‘जाहेरवालाको दाबी पुग्ने आदेश आएको छ,’इजलासका शाखा अधिकृत श्री पौडेलले पहिचानसँग भने,‘सुस्मिता भन्ने एन्जेला र राम अधिकारीले दुई महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।’

तेस्रोलिंगी महिला एन्जेलाले बालिका प्रयोग गरेर होटेल सञ्चालकसँगको मिलेमतोमा परिवर्तित नाम मनोजको १ लाख ४५ हजार रुपैयाँ लुटेको पुष्टि भएको हो। अदालतले मनोजलाई क्षतिपूर्ति दिनुपर्ने आदेश पनि दिएको छ।

तेस्रोलिंगी महिला एन्जेलाले ७० हजार ७५ रुपैयाँ र बालाजु नयाँ बसपार्कको सिद्धिगणेश होटेलमा सञ्चालक राम अधिकारीले ३० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने छ। यसअघि २५ दिन हिरासतमा बसेर धरौटीमा रिहा भएका एन्जेला र अधिकारीले अब ३५ दिन हिरासतमा बस्नुपर्नेछ।

होटेल साहुसँग सेटिङ, केटीको भेषमा लुटपाट

पीडित मनोजले लुटपाट भएको रकम झन्डै चार महिनापछि फिर्ता पाउने आदेश आएको सुनाए। ‘धेरै दुख पाइयो,पैसा लुट्ने र आफैलाई उल्टो धम्की दिने काम पनि भयो,’अदालत परिसरमा भेटिएका पीडितले पहिचानसँग भने,‘अदालतबाट न्याय पाएको छु।’

पीडितलाई प्रहरीमा उजुरी गर्न लगाउनेदेखि न्यायालयसम्म साथ दिएका थिए मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले। चोरी, लुटपाट लगायतका विकृति विसङ्गति विरुद्ध अभियान चलाएको मायाको पहिचान नेपालको तर्फबाट उपाध्यक्ष केसी पीडितको पक्षमा साक्षी बसेका थिए।

केटीको भेषमा लुटपाट, पीडितलाई नै जेल हाल्ने धम्की

स्रोतका अनुसार चोरी, लुटपाटमा संलग्नहरूको संरक्षण गर्नेहरूबाट केसीले धम्की समेत पाएका थिए। केही समय अघि १ लाख रुपैयाँ लुटपाटको घटनामा कारबाही नगराएर पीडित र पीडकबीच मेलमिलाप गराएपछि केसीले कारबाही गर्नु पर्ने आवाज उठाएका थिए।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका नाममा हुने विकृति विसङ्गति रोक्ने अभियानमा कसैको धम्कीबाट नडराउने अठोट लिएर केसीले पीडितको पक्षमा अन्तिमसम्म साथ दिइरहे। आफ्नो अधिकार लिँदा अरूको अधिकार हनन गर्न नहुनेमा आफूहरू सचेत रहेको उपाध्यक्ष केसीले बताए।

मायाको पहिचान नेपालका सल्लाहकार रहेको एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले पीडितले न्याय पाउनु राम्रो भएको बताए। समुदाय भित्रको विकृति विसङ्गति नियन्त्रण गर्न राज्यलाई सहयोग गर्ने गरी संस्थाले चलाएको अभियानमा पन्तले पनि साथ दिए।

घटना यस्तो थियो :

२८ भदौको बिहान ११ः४० बजे नयाँ बसपार्कमा एक व्यक्तिले होटेल जाऊ भन्दै टोखा मिलनटोलमा रहेको सिद्धि गणेश गेस्टहाउस पुर्‍याए।

होटेलका कर्मचारीले रुम देखाए। उनी मिर्गौलाका बिरामी आराम गर्न होटेलको रुममा प्रवेश गरे। सडकको धुलो पखाल्न बाथरुम गए।

१६ वर्षकी वालिकाले बाथरुममा पानी छ्याप्न थालिन। ढोकाको कापैमा लुकेका महिला गेटअपका अर्का व्यक्ति पर्स निकालेर भागे।

पीडितले होटेल सञ्चालकसँग लुटिएको रकम फिर्ता मागे। रकम फिर्ता दिने भन्दा बालिका बलात्कारको आरोप लगाएर उल्टै थुनाउने धम्की दिए सञ्चालकले।

समुदायको नाममा गलत काम हुन नदिने अभियान सञ्चालन गरेकाहरूसँग भेटे पछि साहसका लागि प्रहरीमा उजुरी गरेको उनले। गलत कामको भण्डाफोर गर्दै विकृति विसङ्गति अन्त्य गर्ने अभियान चलाएका समलिङ्गी तेस्रोलिंगीले न्यायका लागि साथ दिए।

मायाको पहिचान नेपालका स्वयंसेवकहरूले ती व्यक्तिलाई प्रहरी चौकी पुर्‍याए। सिसिटिभी फुटेज निकाल्न अनुरोध गरे।

प्रहरीले सिसिटिभी फुटेजका आधारमा धादिङ गजुरीका एन्जेला तामाङ र १६ वर्षकी बालिकालाई पक्राउ गर्‍यो। उनीहरू लुटपाट गरेको प्रहरी समक्ष स्वीकार गरेका थिए। तत्काल पीडित मनोजलाई २५ हजार रुपैयाँ फिर्ता समेत गरेका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.