गृहमन्त्री लामिछाने आक्रोशित, मालपुवा उधारो खाएको हेडलाइन बनाउन ध्वाँस

गृहमन्त्री लामिछाने आक्रोशित, मालपुवा उधारो खाएको हेडलाइन बनाउन ध्वाँस

काठमाडौं : इलाममा उपनिर्वाचन नजिकिँदै जाँदा भोट माग्ने नेताहरूको लर्को लाग्न थालेको छ। अरू बेला चरोमुसो नछिर्ने गाउँमा अहिले बिहानै देखि साँझ अबेर सम्म विभिन्न पार्टीका नेताहरू आ–आफ्ना उमेद्वारका पक्षमा घर घर चाहर्दै भोट माग्न व्यस्त देखिएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेसहितका नेताहरूले इलाममा अड्डा जमाएका छन्। सहकारी ठगी गर्नेहरूको सूचीमा परेका लामिछानेलाई मतदाताको विश्वास जित्न आफ्नै कारण चुनौती बनेको छ।

नेपाल प्रहरी र सरकारी वकिल कार्यालयको अभियोग पत्रमा लामिछानेले सुप्रिम सहकारीको २ करोड रकम अपचलन गरेको पुष्टि भएको छ। लामिछानेलाई प्रतिवादी नबनाएको भन्दै सरकारकै चौतर्फी आलोचना भइरहेको छ।

लामिछानेले भने आफूमाथि आरोप मात्रै लगाइएको भन्दै आफ्नो पुरानो उधारो खोजेर समाचारको हेडलाइन बनाउन ध्वाँस दिएका छन्। भ्रष्टाचारमा मुछिएका नेताहरूकै सिको गरेर लामिछानेले आफूमाथिको आरोप मिथ्या भएको दाबी गर्दै आएका छन्।

गृहमन्त्री लामिछानेले सहकारीको २ करोड अपचलन गरेको पुष्टि, प्रहरी र सरकारी वकिल प्रतिवादी बनाउन डराए

कानुन कार्यान्वयन गराउने निकायको नेतृत्वमा रहेका गृहमन्त्री लामिछानेले जनताको आँखामा छारो हाल्न कुनै कसर बाँकी राखेका छैनन्। खातामा रकम जम्मा गरिदिने पक्राउ पर्दा पनि लामिछाने भने आफू पानी माथिको ओभानो बनेका छन्।

बचतकर्ताको रकम हिनामिना गर्ने सहकारीका सञ्चालकको सम्पत्ति बेचेरै भए पनि पीडितलाई न्याय दिने पहल सुरु गरिसकेको दाबी उनले सुनाएका छन्। इलाम २ मा आयोजित चुनावी सभामा लामिछानेले अहिले कानुनकै कारण सहकारीका ठगहरूलाई कारबाही गर्न नसकिएको उल्लेख गरे। सहकारीका ठगहरूलाई कारबाही गर्नेबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएको उनले बताए।

ठगी, चोरी, लुटपाट हुन नदिने मात्रै होइन देशको शान्ति सुरक्षाको मुख्य कमान्ड सम्हालेका लामिछानेले आफू जोगिनका लागि भ्रष्टाचारी नेताहरूको पोलखोलि दिने भनेर बार्गेनिङ पावर बढाएका छन्।

अर्काको नाममा सम्पत्ति राख्ने र कानुनबाट उन्मुक्ति पाउनेहरूको सम्पत्ति जफत गरेर पीडितलाई नदिएसम्म आफू राजनीतिबाट नहराउने उनले बताए।

सत्तारुढ दलबाटै राजीनामा दिन दबाब भए पनि गृहमन्त्री लामिछानेले भने मिति मात्रै लेख्न मिल्ने गरी राजीनामा पत्र झोलामा बोकेर हिँडेको सुनाएका छन्। आफ्ना बिजनेस पार्टनर जीवी राईलाई आकाशमा भए पनि पातालमा भए पनि खोजेर ल्याउनु बताएका लामिछानेले आफ्नो नाम समेत अभियोग पत्रमा आए पछि सबैको ठेक्का नलिने गैरजिम्मेवार अभिव्यक्ति दिएका छन्।

गृह मन्त्रालयको नेतृत्व आफू जोगिन मात्रै लिएको पुष्टि हुने गरी लामिछानेका अभिव्यक्ति सार्वजनिक हुँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने सरकार नै ढल्ने डरका कारण मौन बसेका छन्। सुरक्षा संयन्त्र लामिछानेमाथि अनुसन्धान गर्न सक्ने अवस्थामा नभएको देखिएको छ।

सत्य र तथ्यमा आधारित समाचारलाई लामिछानेले आफ्नो विरोध गर्न मात्रै लेखिएको टिप्पणी पनि गरेका छन्। उनले आफू ४/५ क्लास पढ्दा मालपुवा उधारो खाएको खोजेर हेडलाइन बनाउन भनेका छन्। उनले मालपुवा खाएको १५० रुपैयाँ तिर्न बाँकी रहेको बताएर पहिले देखिको आफ्नो चरित्र आफैँ उजागर गरेका छन्।

इलामको उपनिर्वाचनमा लामिछाने र उनको दलका नेता मात्रै होइनन् चुनाव जिताउन भन्दै राजा सहितको हिन्दु राज्यको मुद्दा बोक्ने राप्रपाका नेताहरूको पनि लर्को लागेपछि मतदाताहरू हैरानीमा परेका हुन्। बिहानै देखि दलबलसहितका नेताहरू घर चाहर्न थालेपछि दैनिकी नै प्रभावित बनेको स्थानीयहरू बताउँछन्।

विभिन्न पार्टीका नेताहरूले भोट दिन भन्दै हात जोड्न थालेको वर्षौँ भइसक्यो। तर जनताको मूल मुद्दा भुल्न थालेपछि यस पटक पुराना दलहरूमा आकर्षण घटेको छ। यही क्षेत्रबाट चुनाव जितेर प्रधानमन्त्री नै भएका झलनाथ खनाललाई पनि इलामका जनताले नरुचाएको पाइएको छ।

राजीनामा दिन लामिछानेमाथि पार्टीभित्रै दबाब, जीवी पक्राउ गर्न कूटनीतिक नोट

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading