स्वास्थ्य मन्त्री पौडेलको अपिल : स्वास्थ्य सामग्री नपुगे खबर गर्नुस्

स्वास्थ्य मन्त्री पौडेलको अपिल : स्वास्थ्य सामग्री नपुगे खबर गर्नुस्

134
SHARES

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री नपुगे खबर गर्न अपिल गरेका गरेका छन्।

विपद् प्रभावित क्षेत्रका नागरिकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पानीको शुद्धीकरण, व्यक्तिगत सफाइ तथा स्वास्थ्य उपचारका लागि आवश्यक सामग्री मन्त्रालयले पठाएको उल्लेख गरे।

‘अहिले विपद्पछि पानीका श्रोतमा हुने प्रदूषण र फोहोरका कारण झाडापखाला, हैजा वा लामखुट्टेको टोकाइबाट डेंगु र जापनिज इन्सेफलाइटिस्जस्ता सङ्क्रमणको सिकार तपाईँ हुन नपरोस् भनेर हामीले सचेतना र आवश्यक शुद्धीकरण तथा सरसफाइका सामग्री विपद् प्रभावित तपाईँको क्षेत्रलाई प्राथमिकता दिएर पठाएका छौँ,’मन्त्री पौडेलले भिडियो सम्बोधनमा भनेका छन्,‘तपाईँको ठाउँमा ती सामग्री पुगेको छैन वा तपाईँलाई कुनै आपत्कालीन सहायता आवश्यक छ भने स्थानीय स्वास्थ्य संस्था वा मन्त्रालयको आपत्कालीन सहायता नम्बर १११५ मा सम्पर्क गरिदिनुहुन म विनम्र अनुरोध गर्दछु। हामी तपाईँलाई यथासम्भव सघाउन तत्पर छौँ।’

देश प्राकृतिक विपद्को चपेटामा परेका कारण नागरिकले अझै पनि कष्ट भोगिरहनुपरेको भन्दै मन्त्री पौडेलले एउटा सङ्कटबाट पार पाए पनि बाढी पहिरोका कारण सिर्जित सङ्कटको चुनौतीबाट पार पाइ नसकेको उल्लेख गरे।

‘हामीले विपद्का समयमा घाइतेहरूको निःशुल्क उपचारको प्रयत्न गर्‍यौँ। तर, अब हामीले यत्तिकैमा सन्तोष मानेका छैनौँ,’उनले भने,’नागरिकको स्वास्थ्य रक्षाका लागि आवश्यक हरेक प्रयत्नहरूमा हामी तपाईँको साथमा छौँ।

तीनै तहका सरकारको सहकार्यमा सकेसम्म स्वस्थ पिउने पानी उपलब्ध गराउने प्रयत्न सङ्घ सरकारले गरिरहेको उनले बताए। उनले कतिपय स्थानमा तत्काल विकल्प प्राप्त नहुँदासम्म र सङ्क्रामक रोगबाट जोगिन पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन अनुरोध गरे।

‘यसले अर्को ठुलो विपत्तिबाट तपाईँ र देशलाई जोगाउने हाम्रो विश्वास र आशा छ,’मन्त्री पौडेलले भने।

मन्त्री पौडेलले विपद्को घडीमा तमाम कठिनाइकाबीच आम नागरिकको सेवामा तल्लीन भएको भन्दै स्वास्थ्यकर्मी र स्वयंसेवीहरूमा आभार प्रकट गरेका छन्।

समाचार शेयर गर्नुहोस्
134
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.