काठमाडौं : महिनावारी योनिबाट प्रत्येक महिना रगत निस्कने प्रक्रिया हो। रजस्वला चक्रले शरीरलाई सम्भावित गर्भवती हुन तयार गर्दछ। हर्मोनले बनाएको पाठेघरको तह योनिमार्ग हुँदै बाहिर निस्कने प्रक्रिया महिनावारीको सुरुवात हो।
अन्तिम महिनावारीलाई ’रजोनिवृत्ति’ भनिन्छ। महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ। महिनावारी तीन देखि सात दिन सम्म रहन सक्छ। अधिकांश मानिसहरूले आफ्नो महिनावारीको अवधिमा कुल ८० एमएल भन्दा कम रगत गुमाउँछन्।
रक्तस्राव सानो मात्रा देखि भारी मात्रा सम्म फरक फरक हुन सक्छ। महिनावारीको प्रवाह पहिलो तीन दिन सम्मको लागि भारी र अन्त्यमा हल्का हुन सक्छ। औषधि, रोग, हर्मोन, हर्मोन थेरापी, तनाव, व्यायाम, आहार र तौललगायत धेरै कारकहरूले महिनावारीलाई असर गर्न सक्छन्।
धेरै मानिसहरूले आफ्नो महिनावारी सुरु हुनु अघि भावनात्मक र शारीरिक लक्षणहरू अनुभव गर्छन्। सामान्य लक्षणहरूमा बाउँडिनु, चिडचिडापन, फुल्ने, पिम्पल र थकान समावेश छन्। महिनावारी सुरु भएपछि लक्षणहरू सामान्यतया रोकिन्छन्।
थप जानकारीका लागि यो लिंक क्लिक गर्नुहोला : महिनावारी (रजस्वला)
महिनावारी जो हुन्छन्, उनीहरू योनी लिएर जन्मिएका हुन्छन्। जो महिनावारी हुँदैनन्,उनीहरू लिङ्ग लिएर जन्मिएका हुन्छन्। छोरा मान्छे महिनावारी हुन्छन् भनेर कल्पना गर्ने ठाउँ समेत देखिँदैन।
तर, पाठ्यक्रम विकास केन्द्रले छोरा मान्छे महिनावारी हुन्छन् भनी पाठ्यपुस्तकमा राख्नु पर्ने दबाब झेलेको छ। कक्षा ७ को स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कलाको यौनिकता र लैङ्गिकता पाठमा राख्न दबाब आएको केन्द्रले बताएको छ।
ट्रान्ससेक्सुयल को हुन्? तेस्रोलिंगीको पहिचानसँग जुधाइएको छ। पृष्ठ ६० मा ट्रान्ससेक्सुयल समूहका व्यक्ति शारीरिक रूपमा वा जन्मँदा महिला वा पुरुष भएता पनि आफ्नो शारीरिक वा प्राकृतिक स्वरूपभन्दा विपरीत यौनिक व्यवहार गर्छन् भनिएको छ।
शारीरिक रूपमा महिला भएता पनि पुरुष जस्तो व्यवहार गर्ने र पुरुषको जस्तो पहिरन लगाउने, पुरुषको जस्तो शृङ्गार गर्ने गर्छन् लेखिएको छ। शारीरिक रूपमा पुरुष भए महिलाको जस्तो व्यवहार गर्ने र महिलाको पहिरन लगाउने, महिलाको जस्तो शृङ्गार गर्नेलाई ट्रान्ससेक्सुयल भनेर पढाउन थालिएको छ।
ट्रान्ससेक्सुयल अङ्ग्रेजी शब्द हो, जुन शब्दको अर्थ बालक जन्मेकाले चिकित्सकीय पद्धति प्रयोग गरेर महिला बन्ने र बालिका जन्मेकाले पुरुष बन्ने भन्ने हो। गुगल सर्च गर्दा ट्रान्ससेक्सुयल व्यक्ति भनेको लिङ्ग पहिचान अनुभव गर्ने व्यक्ति हो, जुन तिनीहरूको तोकिएको लिङ्गसँग असङ्गत छ। र, तिनीहरूले पहिचान गरेको लिङ्गमा स्थायी रूपमा सङ्क्रमण गर्न चाहन्छन्। सामान्यतया उनीहरू पहिचान गरिएको लिङ्गसँग आफ्नो शरीरलाई पङ्क्तिबद्ध गर्न मद्दत गर्न चिकित्सा सहायता खोज्छ भन्ने आउँछ।
लैङ्गिकताको भ्रम : महिला या पुरुष बन्नुपर्ने अनिवार्यता
तेस्रोलिंगी पहिचानको उदाहरण ट्रान्ससेक्सुयलमा मिसाउन खोजिएकोमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले आपत्ति जनाएको छ। तेस्रोलिंगीलाई अङ्ग्रेजीमा थर्डजेण्डर भनिन्छ। पाठ्यक्रममा व्याख्या तेस्रोलिंगीको राख्ने तर, शब्द ट्रान्ससेक्सुयल चिप्काउँदा बालबालिकामा समेत अन्योल देखिएको छ। अभिभावकले तत्काल पाठ्यक्रम सच्याउन भनेका छन्।
पाठ्यक्रमको यो परिभाषाले कुनै चिकित्सकीय सहायता बिना बालक जन्मेका महिला स्वभावका र बालिका जन्मेका पुरुष स्वभावका तेस्रोलिंगी समूहलाई चिढ्याएको छ। अभिभावकहरूले पनि ट्रान्ससेक्सुयल शब्द राखेर तेस्रोलिंगी स्वभावका बालबच्चालाई भ्रममा नपार्न आग्रह गरेका छन्।
पाठ्यक्रम विकास केन्द्र भने अझै ट्रान्ससेक्सुयल नै राखेर पाठ्यपुस्तक छपाई रहेको छ। आफ्नो वेबसाइटमा पनि त्यही राखेको छ। जुन शब्दले लिङ्ग परिवर्तनलाई प्रोत्साहित गर्छ।
कलिलै उमेरमा जन्मँदाको भन्दा फरक हाउभाउ गर्नेलाई चिकित्सा पद्धति तिर प्रोत्साहित गर्ने विषय पाठ्यक्रममा कहाँबाट आयो? पाठ्यक्रम विकास केन्द्रसँग यसको उत्तर छैन। शिक्षकले बुझ्दैनन्। विद्यार्थी गुगलको सहायता लिन बाध्य छन्। गुगलमा चिकित्सा पद्धति भनेर उपाय दिन्छ।
नेगेटिभ जानु भएन भन्ने मात्र प्रतिक्रिया छ केन्द्रको। शब्द शब्दको जवाफ दिन नसकिने बताउँछन् केन्द्रका निर्देशक तथा सूचना अधिकारी वासुदेव वस्ती। शिक्षकले नबुझेको हुन सक्ने उनको जवाफ थियो।
नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि काम गर्दै आएको दलिल गर्ने स्वार्थ समूहको दबाबमा पाठ्यक्रममा ट्रान्ससेक्सुयल राखिएको यसअघि पनि सार्वजनिक भएको थियो। केन्द्रले सच्याउने बताएको थियो। अहिले पनि जस्ताको त्यस्तै राखेर केन्द्रले ढाँटेको छ भने विदेशी अनुदान सहयोगमा केन्द्रलाई दबाब दिनेहरू अझ उक्साहटमा लागेर पुरुष पनि महिनावारी हुन्छन् भन्ने राख्न दबाब दिइरहेका छन्।
कक्षा ७ को पाठ्यक्रममा पश्चिमा प्रभाव, भ्रम फैलाउने शब्द राखिनु रहस्यमय
तेस्रोलिंगी छाता शब्द बुझिन्छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भन्ने बित्तिकै समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी पहिचान भएका व्यक्ति भनेर चिनिन्छ। केही ट्रान्स महिलाहरूले भने तेस्रोलिंगीहरू “ट्रान्सजेन्डर” भन्ने शब्दको छातामुनि पर्ने भ्रममा पार्न लागेको पाइएको छ।
तेस्रोलिंगीहरुले यसमा आपत्ति नै जनाएका छन्। मायाको पहिचान नेपालकी अध्यक्ष एवं दक्षिण एसियामै पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल माया गुरुङ्गले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,’यो कुरा गलत छ, समस्याजनक छ, र स्वीकार गर्न मिल्दैन।’
उनले तेस्रोलिंगीहरू—(बालक वा बालिका भएर जन्मिएका)—आफ्नो पहिचानलाई पुरुष वा महिलाभन्दा फरक रूपमा स्वीकार गर्छन्,लेखेकी छन्। ’हामीलाई ‘ट्रान्सजेन्डर’को छातामुनि राखेर हाम्रो मौलिक पहिचान मेट्न खोज्नु गम्भीर अन्याय हो;’अध्यक्ष गुरुङ्गले भनिन्,’पश्चिमी शब्दको अन्धानुकरण गरेर पाठ्यक्रममा यस्ता शब्द राख्न लगाइनु झन् आपत्तिजनक छ। यसले हाम्रो पहिचानमा बाँचिरहेका व्यक्तिहरूलाई अपमानित गर्छ।’
ट्रान्सजेन्डरहरूले आफू जन्मिएको लिङ्गबाट विपरीत लिङ्गमा परिवर्तन गरेको वा गर्दै गरेको विश्वास गर्छन्। ट्रान्सजेन्डरको पहिचान अझै पनि पुरुष–महिला भन्ने दुईलिंगी सोचभित्र सीमित हुन्छ, तर तेस्रोलिंगीहरू यस्तो दुईलिंगी धारणा अस्वीकार गर्छन् र लिङ्गको विविधता स्वीकार गर्छन्।
“ट्रान्सजेन्डर” भन्ने अङ्ग्रेजी शब्दलाई सबै समेट्ने छाता बनाउनु उपयुक्त नहुने अध्यक्ष गुरुङ्गले बताइन। उनले प्रश्न गरिन्,’पश्चिमी समाजले के हामीले उल्टो गरेर भन्यौँ—ट्रान्सजेन्डरहरू तेस्रोलिंगी पहिचानभित्र पर्छन् भने स्वीकार गर्थे त?’
उनले भनिन्, ’यो हाम्रो समुदायमाथिको सांस्कृतिक हिंसा हो। समाजलाई यो बुझाउन जरुरी छ कि ट्रान्सजेन्डर र तेस्रोलिंगी एकै होइनन्।’
तेस्रोलिंगी समुदायले पाठ्यक्रम र नीति निर्माणमा यस्ता शब्द समावेश नगर्न र पहिचानको विविधता सुनिश्चित गर्न सरकार र सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन्। उनले भनिन्,’हाम्रो मौलिकता र पहिचानको रक्षा गर्न हामी अब चुप लाग्दैनौ।’
मायाको पहिचान नेपालका सचिव समेत रहेका दक्षिण एसियामै पहिलो पटक समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल सुरेन्द्र पाण्डेले तेस्रोलिंगीहरुलाई विदेशी नीति नपच्ने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। विदेशी नीति हामीलाई पच्दैन, तेस्रोलिंगीको हक अधिकार खोस्न पाइँदैन। यदि तेस्रोलिङ्गीको हक अधिकार खोस्ने हो भने हामी आन्दोलनमा उत्रिन तयार छौँ, हामी चुप बस्दैनौँ।
तेस्रोलिंगी समुदाय, अभिभावक र शिक्षाविद्हरूले पाठ्यक्रम विकास केन्द्रसँग स्पष्ट नीति, स्पष्ट शब्द र समाजसँग मेल खाने पाठ्यक्रमको माग गरेका छन्।
सम्बन्धित समाचार :
पाठ्यक्रममा एलजिबिटिआई : तेस्रोलिंगीको ठाउँमा पारलिंगी
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको विषय अब कक्षा कोठामा, ट्रान्सजेण्डरलाई ‘देहान्तर’ भनेर पढाइने
समलिंगी, तेस्रोलिंगी… यसरी बुझौं र बुझाऊँ
महिला बन्न हर्मोन खाँदा प्यारालाइसिस
तेस्रो लिङ्गीहरूको प्रश्न : हर्मोन थेरापी र सेक्सचेन्ज नगर्ने तेस्रो लिङ्गी होइनन्?
फरक महसुस गरेका बालबच्चालाई अभिभावकले कसरी मार्ग निर्देशन गर्ने?
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.