हप्तामा दुई दिन एलजीबीटीआईक्यू व्यक्तिहरूको यौन स्वास्थ्य तथा एचआइभी परीक्षण

हप्तामा दुई दिन एलजीबीटीआईक्यू व्यक्तिहरूको यौन स्वास्थ्य तथा एचआइभी परीक्षण

2.1k
SHARES

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआईक्यू) व्यक्तिहरूको स्वास्थ्य पहुँचलाई सघाउन मायाको पहिचान नेपाल र एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रबीच सहकार्यमा एचआइभी तथा यौनरोग परीक्षण सेवा सुरु हुँदैछ।

अबदेखि हरेक मङ्गलवार दिउँसो ३ बजेदेखि ५ बजेसम्म र शुक्रवार बिहान ८ः३० बजेदेखि १० बजेसम्म एलजीबीटीआईक्यू समुदायका सदस्यहरूले गोप्य र मैत्रीपूर्ण वातावरणमा स्वास्थ्य परीक्षण सेवा लिन सक्ने केन्द्रका प्रशासन व्यवस्थापक अशोक पाण्डेले जानकारी दिए।

सहकार्य प्रारम्भको सन्दर्भमा, २०२५ मे २७ मा केन्द्रका स्वास्थ्यकर्मीहरूलाई यौनिक तथा लैङ्गिक विविधता तथा समावेशी सेवासम्बन्धी ओरियन्टेसन दिइएको थियो।

अमेरिकी सहयोग नियोग युएसएआडीको सहयोगमा सञ्चालनमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक लक्षित २० वटा परीक्षण क्लिनिक बन्द भएपछि, सो सेवाको अभाव टार्न मायाको पहिचान नेपालले यो सहकार्य अघि सारेको जनाएको छ।

संस्थाकी अधिकारकर्मी नुमा लिम्बु चञ्चलाका अनुसार, “स्वास्थ्यभन्दा ठुलो कुरा केही छैन। परीक्षणको प्रक्रिया पूर्ण गोप्य र सुरक्षित छ। समुदायले ढुक्क भएर सेवा लिन सकुन् भनेर हामीले स्वास्थ्यकर्मीलाई आवश्यक अभिमुखीकरण गरिसकेका छौँ।”

यस क्लिनिकमा मायाको पहिचान नेपालले उपाध्यक्ष मधु केसी र मिस्टर गे हेन्डसम २०१७ विजेता मनिन्द्र सिंह दनुवारलाई फोकल पर्सनका रूपमा तोकेको छ।

सामान्य स्वास्थ्य परीक्षणका लागि एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र हरेक आइतबारदेखि शुक्रवार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ।

२०७२ सालको विनाशकारी भूकम्पपछि सुरु भएको ‘एक एक पाइला’ नामक गैरसरकारी संस्थाले काठमाडौँको थापाथलीमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरेको छ। स्वयंसेवक डाक्टर तथा स्वास्थ्यकर्मीहरूको अग्रसरतामा सुरु भएको संस्थाले प्रारम्भमा भूकम्प पीडितका लागि अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको थियो।

केन्द्रमा आँखा, नाक, कान, घाँटी, मेडिसिन, छाला, यौन रोग, स्त्री तथा प्रसूति, बाल रोग, हाडजोर्नी, दन्त चिकित्सा लगायतका विशेषज्ञ चिकित्सकहरूको स्थायी टोली खटाइएको छ। प्याथोलोजी सेवा पनि उपलब्ध रहेको केन्द्रले जनाएको छ।

एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रमा अन्य निजी अस्पतालहरूमा भन्दा किफायती दरमा उपचार सेवा दिने व्यवस्था गरिएको प्रशासन व्यवस्थापक पाण्डेले जानकारी दिए। संस्थाका अनुसार, थापाथलीस्थित केन्द्रबाट सुरु भएको यो सेवा विस्तार गर्दै आगामी दिनमा अन्य सहरी तथा ग्रामीण क्षेत्रमा पनि पुग्ने लक्ष्य राखिएको छ।

सेवा लिन आवश्यक सम्पर्क

📞 फोन : ०१-४१०१०६६

💬 ह्वाट्सएप : ९८४७३४५९४७

👉 (सेवा लिन आउनु अघि अनिवार्य रूपमा सम्पर्क गर्नुहोस्।)

अमेरिकी अनुदान कटौतीपछि सङ्कटमा परेका एलजीबीटीआईलाई स्वास्थ्य सेवा

एलजीबीटीआईका लागि सुलभ स्वास्थ्य सेवा, न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण

समाचार शेयर गर्नुहोस्
2.1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.