नक्कली शरणार्थी मुद्दामा हरिभक्त पक्षको प्रतिवाद : ‘सहकारीका लागि रकम लियौँ, अमेरिका पठाउने कारोबार होइन’

नक्कली शरणार्थी मुद्दामा हरिभक्त पक्षको प्रतिवाद : ‘सहकारीका लागि रकम लियौँ, अमेरिका पठाउने कारोबार होइन’

73
SHARES

काठमाडौं – नक्कली भुटानी शरणार्थी मुद्दाका आरोपी हरिभक्त महर्जन, केशव तुलाधर र लक्ष्मी महर्जनका कानुन व्यवसायीले सन्देश शर्मासँग सहकारी सञ्चालनका लागि रकम लेनदेन गरेको दाबी गरेका छन्।

हरिभक्त महर्जनको सन्देश शर्मासँग नजिकको चिनजान भएको, केशव तुलाधरलाई कोरोना भएको र सहकारी सञ्चालन गर्नुपर्ने जिम्मेवारी हरिभक्तले पाएकाले सन्देश शर्मासँग रकमको जोहो गरिदिन भनेको हरिभक्तका कानुन व्यवसायी प्रकाश महर्जनले दाबी गरे।

अधिवक्ता महर्जनका अनुसार, सन्देश शर्माको अनुरोधमा गजेन्द्र बुढाथोकीले हिमालयन बैङ्क र सिद्धार्थ बैङ्कमार्फत केशव तुलाधर तथा लक्ष्मी महर्जनको खातामा ५४ लाख ९९ हजार रुपैयाँ जम्मा गरेका थिए।

सन्देश शर्माको अनुरोधमा प्राप्त उक्त रकम रामशरण केसीको सनराइज बैङ्क र नेपाल इन्भेस्टमेन्ट बैङ्क खातामा लुम्बिनी विकास बैङ्क र सिद्धार्थ बैङ्कमार्फत फिर्ता गरिएको हरिभक्त महर्जनका कानुन व्यवसायीले इजलासमा पेश गरे। हरिभक्तबाट सन्देश शर्माले १० लाख रुपैयाँ लिएको पनि अधिवक्ता महर्जनले बताए।

अधिवक्ता महर्जनले लक्ष्मी महर्जनको खातामा सहकारी सञ्चालनकै लागि मागिएको पैसा जम्मा भएको बताए। लक्ष्मी हरिभक्तकी श्रीमती हुन् भने उनी नेपाल प्रहरी अस्पतालमा नर्सिङ सेवाको सब–इन्स्पेक्टर पदमा कार्यरत रहेको पनि उनले उल्लेख गरे।

सहकारी सञ्चालनकै लागि सन्देश शर्मामार्फत रकम लिइएको र गजेन्द्र बुढाथोकीसँग हरिभक्तको कुनै चिनजान नै नभएको जिकिर अधिवक्ता महर्जनले गरे। लिएको रकम समेत फिर्ता गरिसकेको अवस्थामा मुद्दा चलाइएको उनको भनाइ थियो।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन कुनै लेनदेन नभएको जिकिर गर्दै अधिवक्ता महर्जनले इजलासमा भने, “सहकारी चलाउन हारगुहार गरेर रकम लिएको हो। जसरी आएको छ, त्यो फिर्ता पनि गरिएको छ। एक रुपैयाँ पनि खाएको–मासेको छैन।”

हरिभक्त महर्जनलाई कसैले पोल वा उजुर नगरेको बताउँदै अधिवक्ता महर्जनले शङ्काको भरमा आरोप लगाइएको दाबी गरे। उनले लक्ष्मी महर्जन नेपाल प्रहरी अस्पतालमा सेवा गरिरहेकै अवस्थामा फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको बताए।

२०८० जेठ १० गते अभियोग दायर हुँदा लक्ष्मीलाई फरार प्रतिवादी बनाइनु हास्यास्पद भएको उनको जिकिर थियो। मुद्दाको अनुसन्धानमा प्रहरीले आफ्ना कर्मचारीलाई पनि नछोडेको देखाउन लक्ष्मीविरुद्ध अभियोग लगाइएको दाबी अधिवक्ता महर्जनले गरे।

“तलब बुझिरहेको आफ्नै कर्मचारी कहाँ छ भनेर थाहा नपाउने पनि हुन्छ ? आफ्नो फेस सेभिङका लागि लक्ष्मीलाई बलि चढाउन खोजिएको देखिन्छ,” उनले इजलासमा भने।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासमा पूर्वगृहसचिव टेकनारायण पाण्डेका तर्फबाट कानुन व्यवसायी विजय मिश्र र माधव रेग्मीले बहस गरेका थिए। त्यसलगत्तै हरिभक्त र लक्ष्मी महर्जनका तर्फबाट बहस भएको हो।

सागर राईले घाँटीमा समस्या आएकाले भोलि (शुक्रवार) बहस गर्ने जानकारी इजलासलाई दिए भने सन्देश शर्मा र टोपबहादुर रायमाझीका तर्फबाट पनि शुक्रवार नै बहस गरिने जानकारी गराइएको थियो। हाल प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले पालैपालो बहस गरिरहेका छन्।

ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा सङ्गठित अपराध सम्बन्धी अभियोगमा गजेन्द्र बुढाथोकीको जाहेरीका आधारमा सन्दीप रायमाझीसहित ३० जना तथा बेचन झा, दाफुरी शेर्पालगायतको जाहेरीका आधारमा केशवप्रसाद दुलालसहित ५ जना प्रतिवादी छन्। उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको अदालत प्रशासनले जनाएको छ।

नक्कली भुटानी शरणार्थी : प्रहरी बयानमा स्वीकार, अदालतमा इन्कार

नक्कली भुटानी शरणार्थी : कानुन व्यवसायीको ‘इन्टेन्सन’ शब्दमा न्यायाधीशको आपत्ति

नक्कली भुटानी शरणार्थी : उजुरीकर्तामाथि नै अनुसन्धान हुनुपर्ने प्रतिवादी पक्षको जिकिर

समाचार शेयर गर्नुहोस्
73
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.