छक्का निषेधित क्षेत्र घोषणा गर्ने पौडेललाई कारवाही गर्न माग

छक्का निषेधित क्षेत्र घोषणा गर्ने पौडेललाई कारवाही गर्न माग

कास्की (पहिचान) कार्तिक २८ -यौनिक तथा लैगिंक अल्पसख्यक समलिंगी तेस्रोलिंगीले विकिनी प्रदर्शन गर्न लागेको प्रचारमा कुनै सत्यता नभएको नौलो विहानी र परिवर्तन नेपालले बताएका छन् । परिवर्तन नेपालकी बिन्दिया गौतम र नौलो विहानीकी रोशनी राईको हस्ताक्षर रहेको संयुक्त अपिलमा समाजिक संजालमा पोखराका सुजनवावु पौडेलले गरेको यस्तो दुष्प्रचार प्रति आपत्ती जनाउँदै पौडेललाई कारवाही गर्न समेत माग गरिएको छ । पोखरा पराजुली मार्गका सुजन बाबु पौडेलले पुर्वाग्रह वा आफ्नै मानसिक समस्याका कारण यस्तो दुष्प्रचार गरेको हुनसक्ने दावी परिवर्तन नेपाल र नौलो विहानीले समेत गरेका छन् ।

केही वर्ष देखि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार विरुद्धमा फेसबुकबाट सार्वजनिक अभियान चलाउदै आएका पौडेलमा व्यक्तिगत समस्या रहेको समलिंगी तेस्रोलिंगीले दावी समेत गरेका छन् । हालसालै उनले आफ्नै टोल, पोखराको पराजुली मार्गलाई छक्का निषेधित क्षेत्र भनेर घोषणा गरेर व्यानर टाँगेकोमा पनि समलिंगी तेस्रोलिंगीले आपत्ती जनाएका छन् । पौडेलले गरेका काम कानुन र संविधान विपरित भएको अधिवक्ता एवं नील हिरा समाजका कानुनी सल्लाहकार प्रेम थापाले बताए । थापाले कुनै पनि मानवको मौलिक हक विपरितको काम गर्न कसैलाई पनि छुट नभएको र यस्तो काम गर्नेलाई कानुनी कठघरामा उभ्याउनु पर्ने बताए । अर्का अधिवक्ता सुजन पन्तले गंम्भिर मानवअधिकारसँग जोडिएको बिषयलाई समेत संवेदनशिल नभई जिल्ला प्रशासन कार्यालय कास्कीले छक्का निषेधित क्षेत्र घोषणा गर्न स्वीकृती दिनु कानुनी शासनको उपहास भएको वताए । कारवाहीको दायरामा ल्याउनु पर्ने व्यक्तिलाई प्रशासनले संरक्षण गर्नु देशमा कानुन र संविधान छैन कि भन्ने सन्देश गएको समेत पन्तको भनाई छ ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले छक्का निषेधित क्षेत्र घोषणा गर्ने पौडेलको क्रियाकलापले देशभरका समलिंगी तेस्रोलिंगीलाई आफ्नो अधिकारका लागि थप सचेत, सजग र जागरुप बनाएको बताइन । अहिलेको समयसम्म आइपुग्दा विपरितलिंगीहरु र बहुसंख्यक समूदाय समेत सहयोग र समर्थन गरिरहँदा पौडेलले यसरी खुलेर सार्वजनिक रुपमै विरोध गर्दा हाम्रो मानवअधिकार माथि प्रश्नचिन्ह उठेको अध्यक्ष गुरुङको भनाई छ । सर्वोच्च अदालतले समलिंगी तेस्रोलिंगीयही देशका नागरिक हुन र उनीहरुलाई पहिचानको आधारमा नागरिकता दिन आदेश समेत दिइसकेको र राज्यले कार्यान्वयन समेत गरिसकेको अवस्थामा पौडेल जस्ता व्यक्तिको मानसिकताका आधारमा सार्र्वजनिक रुपमै सामूहिक विभेद गरेर सामूहिक अन्याय गरिन्छ भने सरकारले यसलाई दण्डको व्यवस्था गर्नुपर्ने अध्यक्ष गुरुङको माग छ ।

समलिंगी तेस्रोलिंगीलाई घृणा गर्नु भनेको आफै भित्रको नकारात्मक सोचको उपज हो र यसले उनलाई मानसिक रुपमै हानी हुने अध्यक्ष गुरुङले वताइन । नेपाली धर्म, संस्कृती, परम्परा प्रति गहिरो माया र आस्थाको ख्याल गर्ने समलिंगी तेस्रोलिंगीले सोच्दै नसोचेको कुरा पौडेलले गर्नुमा आफूले आफ्नो बास्तविकतालाई स्वीकार्न नसक्दा मानसिक रुपमा विछिप्त भएको पो हो कि भन्ने शंंका अध्यक्ष पिंकी गुरुङले गरेकी छन् । समलिंगी तेस्रोलिंगी प्रति हुने गरेका यस्ता विभेदका पराकाष्टाको अन्त्य गर्नका लागि सबै यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय सचेत र सजग हुन अध्यक्ष गुरुङले अनुरोध पनि गरेकी छन् । हामी भन्दा फरक पहिचान र प्रकृती भएका मानिसलाई माया र सम्मान गर्छौ र अरुले पनि हामीलाई माया र सम्मान गरुन भन्ने चाहना अध्यक्ष गुरुङको छ ।

नील हिरा समाजकी कायम मुकायम निर्देशक मनिषा ढकालले अरुको यौनिकता र लैगिंक पहिचानलाई हामी सबैले सम्मान गर्न सिक्नु पर्ने वताइन । यो भन्नुनै आफू प्रति आफैले गौरव गर्ने र अरुको मानवअधिकार प्रत्याभूतिमा सहयोगी भूमिका खेल्नु हो निर्देशक ढकालले भनिन, आफू भन्दा फरक भएकालाई हामीले लाञ्छित र विभेद गर्ने व्यवहार गर्छौ भने हाम्रो यो समाज परिवार, राष्ट्रमा सबै खालको व्यक्तिहरु अटाउन सम्भव हुँदैन । त्यसैले मानव मानवबीच विभेद हुने काम नगर्नु र संविधान विपरित हुने काम नगर्न सबैले ख्याल गर्नुपर्ने निर्देशक ढकालले बताइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading