चिकित्सकको सल्लाह बिना हर्मोन प्रयोग नगर्न विश्वभरका तेस्रोलिंगीलाई आग्रह

चिकित्सकको सल्लाह बिना हर्मोन प्रयोग नगर्न विश्वभरका तेस्रोलिंगीलाई आग्रह

काठमाडौं (पहिचान) माघ २२- दक्षिण एसिया सहित १५ देशका तेस्रोलिंगी र हिजरा समूदायले तेस्रोलिंगीहरुको स्वास्थ्य र अधिकारका लागि आ आफ्ना देशका सरकारको ध्यानाकर्षण गराउने निष्कर्ष निकालेको छ । काठमाडौंमा भएको तीन दिने तेस्रोलिंगी र हिजरा समूदायको परामर्स बैठकले तेस्रोलिंगी र हिजरा समूदायको स्वास्थ्य र अधिकारका लागि आ आफ्ना देशका सरकारको ध्यानाकर्षण गराउने निष्कर्ष निकालेको हो ।

संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम युएनडिपीको सहयोगमा समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजले आयोजना गरेको बैठकले चिकित्सकको सल्लाह बिना हर्मोन प्रयोग नगर्न विश्वभरका तेस्रोलिंगीलाई आग्रह पनि गरेको छ । नेपाल सहित भारत, पाकिस्तान र बंगलादेशमा तेस्रोलिंगीको पहिचान प्राप्त भएपनि बृत्ति विकास, समान अवसर भने अझै प्राप्त हुन नसकेको निष्कर्ष बैठकले निकालेको नील हिरा समाजकी कार्यबाहक निर्देशक मनिषा ढकालले जानकारी दिइन । बैठकले तेस्रोलिंगीहरुको स्वास्थ्य सम्वन्धमा ब्लुप्रिन्टको मस्यौदा पनि तयार गरेको छ ।IMG_20150205_160051010

ब्लूप्रिन्टले भविष्यमा तेस्रोलिंगी र हिजराहरुको स्वास्थ्य सम्वन्धि नीति निर्माण गर्ने प्रक्रियामा वकालतको भूमिका निर्वाह गर्ने कार्यबाहक निर्देशक ढकालले जानकारी दिइन । तेस्रोलिंगी र हिजराहरुको परिवार, प्रहरी प्रशासन र समाजबाट मानवअधिकार हनन हुने गरेको निष्कर्ष सहित बैठकले मानवअधिकार हनन हुन नदिन सरकार, प्रहरी प्रशासन र मानवअधिकार आयोग मिलेर काम गर्नु पर्नेमा जोड दिएको ढकालले जानकारी दिइन ।

बैठकले दक्षिण एसियाका अरु देशको तुलनामा नेपालमा तेस्रोलिंगीले सहज रुपमा पहिचान पाउने गरेको र अरु देशमा पनि नेपालको जस्तै पहिचान पाउनका लागि उदाहरण सहित प्रस्तुत हुनु पर्ने निष्कर्ष निकालेको छ । बैठकमा नेपालका तेस्रोलिंगी महिला र तेस्रोलिंगी पुरुष सहित १० जनाको सहभागिता थियो भने भारत, पाकिस्तान, भुटान, बंगलादेश, मलेसिया, चीन, थाइल्याण्ड लगायत १५ देशमा झण्डै ६० जना तेस्रोलिंगी र हिजराहरुको सहभागिता थियो । बैठकको उद्घाटन गर्दै सूचना तथा संचारमन्त्री एवं सरकारका प्रवक्ता डाक्टर मिनेन्द्र रिजालले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी माथि विभेद हुने कानुनी प्रावधान संसोधन हुने र आफ्नो पहिचान सहित समान अधिकार लिन कठिनाई नहुने बताएका थिए ।

IMG_20150205_160200266बैठकको समापनमा नेपाली काँग्रेसका तर्फबाट संविधानसभा सदस्य रहेका डाक्टर चन्द्रमोहन यादवले अब बन्ने नयाँ संविधानमा समलिंगी तेस्रोलिंगीको अधिकार लेखिने प्रतिवद्धता जनाए । डा. यादवले नेपाली कांग्रेसले १२ औं महाधिवेसन देखि समावेसिताका लागि पनि समलिंगी तेस्रोलिंगीलाई महाधिवेसनमा सहभागि गराएको भन्दै भूमिका श्रेष्ठलाई जस्तै अन्यलाई पनि भाग लिन आब्हान गरे । उनले समलिंगी तेस्रोलिंगीका सम्बन्धमा सर्बोच्च अदालतले २०६४ साल पुष ६ गते गरेको फैसलाले यो समुदायलाई मान्यता दिइसकेको भन्दै बाँकी रहेका विषय आगामी संविधानमा समेटिने विश्वास व्यक्त गरे ।

यादवले यो समुदायको परिवर्तनको अभियानमा आफ्नो ऐक्यवद्धता समेत रहेको वताए । युएन एड्सका कन्ट्रिडाइरेक्टर रुवेन डेल प्राडोले परिवर्तनको यात्रा अन्तिम कहिल्यै नहुने भन्दै समापन समारोहमा पनि ओपनिङ रिमाक्स व्यक्त गरे । उनले परिवर्तनका लागि अरुले गर्छन भनेर छोड्न नमिल्ने भन्दै अब हामी पनि कसैलाई कुर्ने छैनौं भनेर प्रतिबद्धता जनाउनुपर्ने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले समलिंगी तेस्रोलिंगी समुदायका क्षेत्रमा धेरै काम भइरहेको भन्दै एचआईभि एड्स नियन्त्रणका कार्यमा पनि यो समुदायसँग सहकार्य भइरहेको बताए । बैठक समापनका क्रममा नील हिरा समाजकी कार्यवाहक निर्देशक मनिषा ढकालले सम्मेलन फलदायी भएको भन्दै यसका निष्कर्षको कार्यान्वयनका लागि सम्बन्धीत निकायले भूमिका खेल्नुपर्ने बताइन । कार्यक्रम समापनमा भारत र पाकिस्तान तेस्रोलिंगीले अंकमाल गरेर नाचगान समेत गरेका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.