चुनाव

सङ्खुवासभामा गौतमसँग हारको बदला लिन खड्काको दौडधुप

सङ्खुवासभामा गौतमसँग हारको बदला लिन खड्काको दौडधुप

सङ्खुवासभा : सङ्खुवासभामा एक प्रतिनिधिसभा सदस्यका लागि १० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। प्रतिस्पर्धा भने सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका दीपक खड्का र नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमबिच हुने देखिएको छ।
पुरानै उम्मेदवार र एजेन्डाका कारण जिल्लावासीमा भने चुनावको उत्साह देखिएको छैन। विगतमा एक अर्कामा हारजित बेहोरिसकेका खड्का र गौतम स्वयम् तेस्रो पटक आमनेसामने भएका हुन्। तर चुनावी माहौल भने काँग्रेसका जिल्ला सभापतिसमेत रहेका खड्काले खिचेका छन्। गौतम एमालेका स्थायी कमिटी सदस्य हुन्। खड्का खानेपानी तथा सरसफाइ राज्यमन्त्री भइसकेका हाल काँग्रेसको जिल्ला सभापति छन्।
०७४ मा बाम गठबन्धनका कारण गौतमले चुनाव जितेका थिए। खड्का यसपटक गौतमसँग त्यसैको बदला लिने दौडमा छन्। त्यसो त खड्का र गौतमबिच बदलाको शृङ्खला सुरु भएको ०७० देखि नै हो।
दोस्रो संविधान सभा निर्वाचनमा पहिलो पटक आमनेसामने हुँदा युवा नेता खड्काले गौतमलाई पराजित गरेका थिए। तर ०७४ मा भने उनै गौतमले नेकपा माओवादी केन्द्रसँगको गठबन्धनका कारण खड्कालाई पराजित गरे। यसपटक भने माओवादी केन्द्रको समर्थन खड्कालाई छ। खड्का गठबन्धनको बलमा चुनावी परिणाम सहजै आफ्नो पक्षमा पर्ने विश्वासमा छन्।
०७४ मा बाम गठबन्धनबाट गौतमले ३२ हजार ७६९ मत ल्याउँदा काँग्रेसका खड्काले ३१ हजार ६३९ मत ल्याएका थिए। जबकि ०७० मा काँग्रेस, एमाले र माओवादी केन्द्र एक्ला एक्लै प्रतिस्पर्धा गर्दा काँग्रेसका खड्काले ११ हजार ५५२ मत पाएका थिए भने एमालेका गौतमले १० हजार ९७३ र माओवादी केन्द्रका राजेन्द्र किराँतीले ४ हजार २९२ मत पाएका थिए। जिल्लामा अहिले मतदाताको सङ्ख्या थपिएको छ। हाल जिल्लामा एक लाख १६ हजार ५५४ मतदाता छन्।
पाँच महिना अघि भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका दसमध्ये काँग्रेसले छ स्थानीय तह जितेको छ। एमालेले चार वटा स्थानीय तह जितेको छ। स्थानीय तहको मतका आधारमा सत्ता गठबन्धनका उम्मेदवार खड्का जित नजिक छन्।
स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा एमाले पहिलो दल छ। एमालेले ३२ हजार ९११ मत पाएको छ भने काँग्रेसले ३० हजार ८४९, माओवादी केन्द्रले ७ हजार १२२, नेकपा एकीकृत समाजवादीले एक हजार १०१ र जसपाले ४७१ मत पाएका छन्। यसआधारमा एमालेको भन्दा गठबन्धनको मत करिब छ हजारले बढी छ।
काँग्रेस उम्मेदवार खड्का आफूले पाँच महिना अघि स्थानीय चुनावमा पाएको मतको संरक्षण मात्रै गरे पुग्ने अवस्था रहेको बताउँछन्। ‘उम्मेदवारी दर्तापछि एक चरण गाउँ डुलिसकेको छु। यसपटक मतदाताबाट राम्रो प्रतिक्रिया पाइरहेको छु।०७४ मा पनि थोरै मतान्तरले मात्र पराजित भएको हुँ। चुनाव हारे पनि मतदाताबाट टाढिएको छैन,’उनले भने,‘जसले जित्नुभयो, उहाँले पनि जिल्लामा राष्ट्रिय बजेट र योजना भित्राउन सक्नुभएन। उहाँप्रति एमालेमै निराशा छ। त्यसैले यसपटक मलाई निकै सहज छ।’ उनले गठबन्धनका कारण समेत आफूलाई सहज हुने दाबी गरे।
खड्काले जिल्लाको विकास निर्माणलाई प्राथमिकतामा राखेर चुनावी एजेन्डा अघि सारेका छन्। ‘मतदाताको चासो विकास निर्माणकै कुरामा छ। त्यसैले चुनावी एजेन्डा पनि त्यही छन्,’उनले भने, ‘अहिले यहाँ सबैभन्दा महत्त्वपूर्ण एजेन्डा भनेको जोगबनी–किमाथाङ्का सडक हो। यो सडक जिल्लाको विकास र संमृद्धिकालागि माध्यम बन्ने अवस्था छ। भारत र चीनलाई एउटै सडकले, त्यो पनि छोटो दुरीमा जोड्न सकेको खण्डमा त्यसले राष्ट्रकै आर्थिक विकासमा योगदान पुग्ने आधार खडा हुन्छ। त्यसपछि जलविद्युत उत्पादन, पर्यटन प्रवर्द्धन, कृषिको व्यवसायीकरण, स्वरोजगारीको सिर्जना र आर्थिक संवृद्धि हाम्रा मूल एजेन्डा हुन्।’
एमाले स्थायी कमिटी सदस्य एवम् सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले पनि यसपटक आफैँले जित्ने दाबी गरेका छन्। ‘जनताको बीचमा, गाउँ टोल र घरदैलोसम्म जाने काम भइरहेको छ। मैले एउटा उम्मेदवारकोरुपमा अहिले राम्रो प्रतिक्रिया पाएको छु। किनभने मैले ०७४ देखि पाँच वर्षसम्म जनप्रतिनिधिकोरुपमा काम गरिरहँदा विकास निर्माणको क्षेत्रमा के–के काम भयो भनेर यहाँका जनताले छर्लङ्ग बुझेका छन्,अनुभूत गरेका छन्,’गौतमले भने,‘त्यसमाथि अहिलेको जुन गठबन्धन छ, त्यसमा तालमेल मिलेको छैन, सिद्धान्त मिलेको छैन। नेताले गठबन्धन गर्दैमा मतदाताको बीचमा गठबन्धन हुँदैन।’ उनले मतदाताले भने आफूसँग गठबन्धन गरेको दाबी गरे।
गौतमले संवृद्ध सङ्खुवासभा निर्माणलाई प्रमुख चुनावी मुद्दा बनाएर अघि बढेको दाबी गरेका छन्। ‘हामीले गएको पाँच वर्षमा जे काम थालेका छौँ, त्यसको निरन्तर र पूर्णता नै अहिले मेरो चुनावी प्राथमिकताहरू हुन्,’ उनले भने,‘यसपटक विगतमा मैले थालेका योजनाको समापनकै लागि मैले जित्ने हो।’
पूर्वसहकर्मीले छोडेपछि सङ्कटमा गोकुल, गठबन्धनको साथले उत्साहित हुमागाईँ
पूर्वमन्त्री त्रिपाठीलाई अर्बपति चौधरीको टक्कर
सिलवालसँग बदला लिने राणाको दाउ
प्रदीप पौडेलको इच्छा देशको कार्यकारी बन्ने, नरहरि आचार्यको अभाव खड्कन नदिने

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading