‘मिडियामाथि धम्की दिने रवि विरुद्ध फौजदारी अभियोगमा कारबाही हुन सक्छ’

‘मिडियामाथि धम्की दिने रवि विरुद्ध फौजदारी अभियोगमा कारबाही हुन सक्छ’

भारतीय प्रधानमन्त्रीलाई हार गुहार गर्नु दुर्भाग्य

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संचारमाध्यमविरुद्ध लगाएको आरोपको चौतर्फी आलोचना भएको छ। नागरिकता विवादमा गैरसांसद बनेका लामिछानेले सञ्चारमाध्यमका कारण आफू पुन गृह मन्त्री बन्न नपाएको आक्रोश पोखेका थिए।

पत्रकार सम्मेलन गरेर मिडिया हाउसविरुद्ध खनिएका लामिछानेले आफ्नो विरुद्ध गलत समाचार आए सञ्चारमाध्यम घेर्ने चेतावनी दिएका थिए। रविले निराधार रूपमा कुनै प्रमाण पेस नगरी स्पेशिफिक नभई १२ भाइ भनेको कुरामा प्रेस काउन्सिलले कारबाही अगाडि बढाउन सम्भव नहुने टिप्पणी पनि सार्वजनिक भएका छन्।

रवि पत्रकार भइरहेको भए प्रेस काउन्सिलले सोध्न सक्ने विषय हुन्थ्यो। तर पत्रकारिता छोडेर राजनीति अथवा अरुअरु ठाउँमा गइसकेको मान्छे भएकाले प्रेस काउन्सिलले आफैँ केही गर्नु पर्दैन।

के हो त रविको अभिव्यक्ति यो प्रश्नमा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले पहिचानसँग भने :

व्यक्ति विशेषले आफ्ना विरुद्ध समाचार आउँदा अवश्य पनि प्रतिक्रिया जनाउँछन्। आक्रोश पोख्छन्। त्यो कुरा स्वयं रवि लामिछानेलाई पनि थाहा छ। उहाँले हिजो कैयौँ मानिसहरूलाई एक्सपोज गराउनु भयो। आफ्नो रिपोर्टिङ अथवा पत्रकारिताको क्रममा कैयौँसँग ठाडो ठाडो रूपमा प्रश्नहरू राख्नुभयो। कठघरामा उभ्याउनु भयो। त्यतिखेर ती मान्छेको प्रतिक्रिया रवि लामिछानेलाई थाहा छ कस्तो हुन्छ। अहिले त्यस्तै खालको प्रतिक्रिया रविले प्रेसमाथि पोखेका हुन्।

आरोप लगाउने मान्छे अथवा पत्रकारलाई आरोप लगाउँदा त्यसको के असर पर्छ भन्ने स्वयं रविलाई थाहा छ हिजोको कुरा सम्झने हो भने। अर्थात् केही पनि असर पर्दैन। प्रेस आफ्नो बाटो अगाडि बढ्छ। रविले मलाई मात्रै लखेट्यो अरू कुरा आएन, मिडियाहरूले यसो गर्‍यो भन्ने कुरामा असहमत हुनुपर्ने कुनै कुरा छैन। किन भने एउटा मिडियाले सबै विषय समेट्नै पर्छ। समेट्नै सक्छ भन्ने कुनै पनि आधार हुँदैन।

मिडिया या सम्पादकले आफ्नू च्वाइस आफ्नो सेलेक्सनको टपिक्स लिन्छ। त्यसमा अनुसन्धान गर्छ। त्यसमा विश्लेषण लेख्छ। त्यसमा आर्टिकल छाप्छ। जे जे गर्नुपर्छ त्यो काम गर्छ। उसलाई त्यो स्वतन्त्रता प्राप्त छ। तिमिले यो इश्युमा स्टोरी गर्नै पर्छ किन गरेनौ? अनि उसमाथि किन गर्‍यौ? यसरी प्रश्न सोध्न थालियो भने त स्वतन्त्र प्रेस नै भएन नि। त्यो सवालै होइन।

रविको मिडिया घेर्ने चेतावनी के हो त?

घेर्ने, भौतिक कारबाही गर्ने, तर्साउने धम्क्याउने कुराहरू स्वतः फौजदारी कानुन अन्तर्गत आइपर्ने विषयहरू हुन्। उहाँले अहिलेसम्म त्यतिसम्म भन्नु भएको छ। भोलि कुनै पनि सानो तिनो खिस्रिक्क पनि उहाँको व्यवहार त्यस्तो दिशामा गएको देखियो भने उहाँ फौजदारी कानुनको पन्जामा पर्नुहुन्छ। त्यसमा कुनै द्विविधा छैन।

रविबाट प्रताडित महिलाले खोलिन पोल

प्रेसलाई यसरी धम्क्याएर तह लगाउँछु भन्नु बस्तुगत कुरै होइन। त्यो सम्भवै छैन। अर्को कुरा उहाँले समग्र प्रेस जगतमाथि जुन आरोप लगाउनु भएको छ, त्यो निराधार छ। किन भने उहाँले जे जति कुरा थाहा पाउनु भयो। खास सम्पादक विशेष या खास मिडिया विशेष जुन नाम लिनु भएको थियो। तिनका बारेमा उहाँले कहाँबाट थाहा पाउनु भयो त? उहाँ हिजो गृहमन्त्री भएको बेला गुप्तचर लगाएर या प्रहरी लगाएर अनुसन्धान गरेको त होइन। ती सबै कुराहरू प्रेसले नै बाहिर ल्याइसक्या हो। मिडियाले नै बाहिर ल्याएको थियो। त्यही मिडियाबाट उहाँले थाहा पाउनु भयो।

उहाँले एउटा गाडी दुर्घटनाको कुरा गर्नु भयो। अनि निश्चित प्रकाशनले त्यो समाचार छापेन भन्नु भयो। त्यसले छापेन अर्कोले त छापेको थियो नि। अर्कोले छापेको भएर न उहाँले थाहा पाउनु भएको हो। त्यसैले स्वतन्त्र प्रेस भनेको जहिले सुकै पनि बहुलवादमा आधारित हुन्छ। प्युरालिजम हुन्छ। तब मात्रै समग्रमा सन्तुलन कायम हुन्छ। त्यसले गर्दा एउटा प्रेसले कुन समाचार लेख्यो, बढी लेख्यो र कुन चाहिँ लेखेन भन्ने आधारमा धम्क्याउने, तर्साउने र निन्दा गर्ने काम दुर्भाग्यपूर्ण छन्।

आपत्ति चाही किन त?

अब त्यो बाहेक पनि मलाई आपत्ति जनक लागेको भनेको हिजोको हाम्रो देशको गृहमन्त्री भारतीय एजेन्टहरूले दुख दिए भनेर भारतको प्रधानमन्त्रीलाई हार गुहार गरिराख्नु भएको थियो। त्यो भनेको दुर्भाग्यको कुरा हो।

‘रविको धम्कीपूर्ण अभिव्यक्ति समग्र सञ्चार क्षेत्रमाथिको प्रहार’

रविको आक्रोश मिडियामा : गलत समाचार लेखे घेर्ने चेतावनी

रबीविरुद्ध मिडियाहरू हात धोएर लागेको आरोप, उपनिर्वाचन भए झन् ठुलो मतान्तरले जित्छौँ : प्रवक्ता ढकाल

नम्बरको रूपमा सदनमा उपस्थित हुनु र संस्कारको रूपमा उपस्थिति हुनु फरक : मनिष झा

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.