काठमाडौँ – नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनासँग सम्बन्धित मुद्दामा प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले जाहेरवालामाथि नै प्रश्न उठाएका छन्।
काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी टोपबहादुर रायमाझीका कानुन व्यवसायी तथा पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले मुद्दालाई हेर्ने दृष्टि र दृष्टिकोण फरक हुन सक्ने भन्दै इजलाससमक्ष आफ्नो तर्क प्रस्तुत गरे।
जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासमा बहस गर्दै उनले मन्दिरमा आँखा देख्ने व्यक्तिले आँखा नदेख्नेहरूको लाइन मिचेको उदाहरण प्रस्तुत गर्दै न्यायिक दृष्टिकोणबाट विषयलाई हेर्न आग्रह गरे।
पूर्वमहान्यायाधिवक्ता पन्तले नेपाली नागरिकहरूले आफू नेपाली भएको तथ्य लुकाएर भुटानी शरणार्थी बन्ने उद्देश्यले रकम बुझाएको र अमेरिका जान नपाएपछि जाहेरी दिएको जिकिर गरे। “जसले अवैध काम गर्छ, उसले फलानालाई पैसा बुझाउँछ,” उनले भने, “आफूले चाहेको काम गर्न पाइएन भनेर अरूलाई आरोप लगाउँछ, तर त्यो व्यक्ति भने प्रतिवादी बन्दैन किन?”
उनले केही व्यक्तिहरूले आफूले गरेका अवैध कार्य लुकाउन खोजेको दाबी गर्दै मुद्दाको आधार नै अवैध क्रियाकलापसँग जोडिएको बताए। “मुद्दाको बेस नै इलिगल छ,” उनले भने, “नतिजा नआएपछि पैसा फिर्ता गर्न नसक्दा स्वयं उनीहरूले नै मुद्दा दायर गरेका हुन्।”
उनले राजनीतिक प्रतिशोधका कारण टोपबहादुर रायमाझीमाथि आरोप लगाइएको जिकिर पनि गरे। सानु भण्डारी र सन्दीप रायमाझी एउटै कम्पनीमा आबद्ध रहेको आधारलाई लिएर टोपबहादुर रायमाझीलाई समेत मुद्दामा मुछिएको दाबी गर्दै उनले बयान मात्र आफैँमा प्रमाण नहुने तर्क गरे।
सन्दीप रायमाझीसँग १३६ पटक टेलिफोन सम्पर्क भएको भनिएको कल डिटेलसम्बन्धी प्रमाणमाथि पनि उनले प्रश्न उठाए। बहसका क्रममा उनले पटक–पटक “सन्दीप लामिछाने” नाम उच्चारण गरेपछि इजलासमा हाँसो गुन्जिएको थियो। त्यसपछि उनले बुबा–छोराबीच महिनामा १०–११ पटक कुरा हुनु अस्वाभाविक नभएको जिकिर गरे।
बहसका क्रममा उनले गजेन्द्र बुढाथोकीको दोहोरो नागरिकताको प्रसङ्ग पनि उठाए। अमेरिका लैजाने उद्देश्यले नेपाल आएर पैसा उठाइएको र त्यो पनि भुटानी शरणार्थी बनाएर गरिएको दाबी गर्दै उनले उक्त विषयलाई अदालतको ध्यानाकर्षण गराए।
टोपबहादुर रायमाझीको घरमा गरिएको खानतलासीबाट कुनै सामग्री वा प्रमाण फेला नपरेको जिकिर गर्दै उनले टोपबहादुरविरुद्ध प्रत्यक्ष प्रमाण नभेटिने दाबी गरे। “उहाँविरुद्ध कतैबाट पनि इभिडेन्स भेटिँदैन,” उनले भने, “सजाय हुने अवस्था छैन।”
बहसको अन्त्यतिर उनले “धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछोड्नु” भन्दै आफ्नो तर्क दोहोर्याए।
पूर्वमहान्यायाधिवक्ता पन्तको बहससँगै शुक्रवार हेर्दाहेर्दैमा राखिएको नक्कली भुटानी शरणार्थी मुद्दाको सुनुवाइ सोमबार पनि निरन्तर हुने भएको छ। अदालत प्रशासनका अनुसार सोमबार दिउँसो १ बजेदेखि मात्र बहस सुरु हुनेछ। सोमबार सन्दीप रायमाझीका कानुन व्यवसायीले बहस गर्नेछन्।
सम्बन्धित समाचार :
नक्कली भुटानी शरणार्थी : प्रहरी बयानमा स्वीकार, अदालतमा इन्कार
नक्कली भुटानी शरणार्थी : कानुन व्यवसायीको ‘इन्टेन्सन’ शब्दमा न्यायाधीशको आपत्ति
नक्कली भुटानी शरणार्थी : उजुरीकर्तामाथि नै अनुसन्धान हुनुपर्ने प्रतिवादी पक्षको जिकिर
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.