नक्कली भुटानी शरणार्थी मुद्दामा सोमबारदेखि जवाफी बहस

नक्कली भुटानी शरणार्थी मुद्दामा सोमबारदेखि जवाफी बहस

200
SHARES

काठमाडौँ – नक्कली भुटानी शरणार्थी मुद्दामा सोमबारदेखि जवाफी बहस सुरु हुने भएको छ। काठमाडौँ जिल्ला अदालतमा गत जेठ २७ गतेदेखि सुरु भएको पूर्ण सुनुवाइमा ३१ जना प्रतिवादीमध्ये २१ जनाको बहस सकिएको अदालत प्रशासनले जनाएको छ।

सरकारी, जाहेरवाला र प्रतिवादीका तर्फबाट करिब ५० जना कानुन व्यवसायीले बहस गरेको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।

न्यायाधीश तेजबहादुर खड्काको इजलासमा नक्कली भुटानी शरणार्थी मुद्दाको पूर्ण सुनुवाइ भइरहेको छ। प्रतिवादीका तर्फबाट भुटानी शरणार्थी नेता टेकनाथ रिजालका कानुन व्यवसायीले अन्तिममा बहस गरेका थिए। रिजालका कानुन व्यवसायीको बहससँगै प्रतिवादीका तर्फबाट हुने बहस सकिएको हो।

अदालतमा हाजिर भएका २३ जना प्रतिवादीमध्ये टङ्क गुरुङ र गोविन्द चौधरीको तर्फबाट भने बहस नभएको सूचना अधिकारी खतिवडाले जानकारी दिए। अदालत प्रशासनका अनुसार बाँकी ८ जना प्रतिवादी काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका छैनन्।

अब सोमबारदेखि सरकारी र जाहेरवालाका तर्फबाट जवाफी बहस सुरु हुने अदालत प्रशासनले जनाएको छ। शुक्रवार भने मुद्दाको सुनुवाइ स्थगित गरिएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम उठाई ठगी गरेको आरोपसम्बन्धी यो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्वसांसद आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, बेचन झा, केशव दुलाल, रामशरण केसी, सन्दिप रायमाझी सागर राई, सन्देश शर्मासहित २१ जना प्रतिवादीको बहस सकिएको हो।

जाहेरवालाका तर्फबाट भुटानी शरणार्थी मुद्दामा बहस गरेका कानुन व्यवसायी स्वागत नेपालले भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसमेतलाई अदालतमा बोलाउनुपर्ने माग गरेका छन्।

सरकारी पक्षको बहस भइरहेका बेला ओली, देउवा र राईलाई पनि बोलाएर मात्र सुनुवाइ गर्नुपर्ने माग गर्दै जाहेरवालाका कानुन व्यवसायीले इजलासमा निवेदन दर्ता गराएका थिए। तर, जाहेरवालाका कानुन व्यवसायीको मागअनुसार काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई बोलाउन नमानेपछि बोलाउनैपर्ने मागसहित उच्च अदालतमा निवेदन दर्ता गरिएको जाहेरवालाका कानुन व्यवसायी नेपालले उल्लेख गरेका छन्। उक्त निवेदन दरपीठ भएको जानकारी स्वागत नेपालले फेसबुकमार्फत दिएका छन्।

उनका अनुसार निवेदन दरपीठ भएपछि त्यसविरुद्ध अर्को निवेदन पनि उच्च अदालतमै दर्ता गरिएको छ, जसको शुक्रवार पेशी तोकिएको छ। काठमाडौँ जिल्ला अदालतमा भने शुक्रवार मुद्दाको सुनुवाइ स्थगित गरिएको छ।

समाचार शेयर गर्नुहोस्
200
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.