भुटानी शरणार्थी मुद्दा: केसीको बहस, रायमाझीको असहमति

भुटानी शरणार्थी मुद्दा: केसीको बहस, रायमाझीको असहमति

64
SHARES

काठमाडौँ – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका, पठाइदिने प्रलोभन देखाएर करोडौँ रुपैयाँ असुलिएको भन्दै दायर मुद्दामा काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ चलिरहेको छ। मङ्गलवार प्रतिवादी रामशरण केसीका कानुन व्यवसायीले काठमाडौँ जिल्ला अदालतमा बहस गरेका छन्।

राज्यविरुद्धको अपराध, सङ्गठित ठगी, किर्ते आरोपसहित विचाराधीन रहेको उक्त मुद्दाको सुनुवाइ न्यायाधीश प्रेमबहादुर खड्काको इजलासमा भइरहेको छ। मङ्गलवार भएको बहसमा केसीका कानुन व्यवसायीले रामशरण केसी आफैँ अमेरिका जाने उद्देश्यले रकम बुझाएको व्यक्ति भएकाले उनलाई प्रतिवादी बनाउन नमिल्ने जिकिर गरे।

केसीले परिवारसहित अमेरिका जान पैसा उठाएका थिए। उनले २ करोड रुपैयाँको चेक बेचन झाको नाममा जम्मा गराएका थिए। तर चेक साटिएन। “म अमेरिका जान लागेको छु, जाने भए तयार हुनु,” केसीले भनेको कानुन व्यवसायीले इजलासमा सुनाए।

केसी रंगरोगनको काम गर्ने श्रमिक रहेको उल्लेख गर्दै उनका कानुन व्यवसायीले प्रश्न गरे, “श्रमिकले प्रतिवेदनमा किर्ते गर्न सक्छ? पहुँच हुनेहरूले गरे होलान्।”

बहसका क्रममा कानुन व्यवसायीले अन्तर्राष्ट्रिय मानव तस्करी तथा शरणार्थी ठगीका विभिन्न उदाहरण पनि प्रस्तुत गरे। रोहिङ्ग्या तथा बङ्गलादेशी नागरिकलाई अमेरिका पठाउने नाममा थाइल्यान्डको जङ्गलमा उच्च तहको सञ्जालमार्फत राखिएको तथा अमेरिकाको क्यालिफोर्नियामा नक्कली कागजात बनाएर ठगी भएका घटनाको प्रसङ्ग इजलासमा उठाए।

त्यस्तै, १० वर्षे सशस्त्र माओवादी द्वन्द्वका क्रममा गोला–बारुद बोकेका व्यक्तिहरू नै “माओवादीले बस्न दिएन” भन्ने आधार देखाएर बेल्जियम पुगेको दाबी गर्दै कसीका कानुन व्यवसायीले भने, “नेपालका माओवादी बेल्जियम पुगेर माओवादीले नै बस्न दिएन भनेर शरण लिएको पाए। त्यस्ता व्यक्ति ६ हजार पुगेका रहेछन्।”

क्यानडामा शरणार्थी बन्नका लागि पासपोर्ट फाल्ने चलनसमेत रहेको उल्लेख गर्दै उनले भने, “संसारभर यस्ता घटना भएकै रहेछन्।”

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो देश (अमेरिका) पठाइदिने भन्दै रकम उठाएर ठगी गरेको मुद्दामा केसी प्रतिवादी छन्। तर उनका कानुन व्यवसायीले, “अमेरिका जान आफैँले समेत रकम बुझाएको मान्छे कसरी प्रतिवादी हुन्छ?” भन्ने प्रश्न उठाए।

न्यायाधीश प्रेमबहादुर खड्काको इजलासमा मुद्दाको सुनुवाइ चलिरहेको छ। उक्त मुद्दालाई संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) र तेस्रो देश पुनर्वास कार्यक्रमसँग सम्बन्धित पक्षहरूले समेत चासोका साथ हेरिरहेको कानुन व्यवसायीले इजलासमा बताए।

केसीका कानुन व्यवसायीले यो मुद्दा लेनदेनतर्फ जानुपर्ने देखिने जिकिर गर्दै भने, “ठगेको हो कि लेनदेन हो?” साथै, बैङ्किङ कसुर देखिएको छैन भन्ने दाबी पनि गरे।

यस क्रममा न्यायाधीश खड्काले २ करोड रुपैयाँको चेक जारी भएको तथ्यतर्फ ध्यानाकर्षण गराउँदै चेक बाउन्स भएको देखिने उल्लेख गरे। केसीका कानुन व्यवसायीले उक्त चेक बेचन झाको नाममा काटिएको बताए। त्यसपछि न्यायाधीश खड्काले अदालती बयानमा “चेक हराएको थियो” किन भनिएको भनेर प्रश्न गरे।

जवाफमा केसीका कानुन व्यवसायीले डरका कारण त्यस्तो बयान दिएको हुन सक्ने तर्क गरे। केसीमाथि अन्य प्रतिवादीबाट हातपात भएको र ज्यान मार्ने धम्कीसम्म आएको दाबी गर्दै कानुन व्यवसायीले केशव दुलालदेखि सन्दीप रायमाझीसम्मको नाम लिए। बहस सुनिरहेका सन्दीप रायमाझी उठेर “त्यस्तो होइन” भन्दै असहमति जनाए।

न्यायाधीश खड्काले त्यसपछि आफ्नै कुराले आफैँ खण्डित भएको टिप्पणी गरे।

आफैँ परिवारसहित जान खोजेको, अरूलाई पनि जान सक्ने सूचना दिएको तथा आफूले जे गरेको छ, अरूलाई पनि त्यही भनेको भन्ने कानुन व्यवसायीको दलिल इजलासमा प्रस्तुत भयो। टेकनाथ रिजालको घरमा रंगरोगनको काम गरेको प्रसङ्ग पनि केसीका कानुन व्यवसायीले उल्लेख गरे।

सुनुवाइका क्रममा न्यायाधीश खड्काले, “हरिभक्त महर्जनबाट सनराइज बैङ्कमा आएको फ्याक्ट हो नि?” भनेर प्रश्न गरेका थिए। उक्त तथ्य होइन भन्न केसीका कानुन व्यवसायीले सकेनन्।

केसीले २०७८ सालमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा पैसा उठाइएको भन्दै उजुरी दिएको उनका कानुन व्यवसायीले उल्लेख गरे। पैसा लिएर फिर्ता गराउनु अपराध नहुने जिकिरसमेत गरे।

काठमाडौँ जिल्ला अदालतमा मङ्गलवार केसीका कानुन व्यवसायीले बहस गरेका हुन्। बुधवार पनि प्रतिवादी पक्षकै कानुन व्यवसायीको बहस जारी रहनेछ। बुधवार भुटानी शरणार्थी नेता टेकनाथ रिजालका कानुन व्यवसायीले बहस सुरु गर्ने भनेका अदालत प्रशासनले जनाएको छ। गत २७ जेठदेखि यो मुद्दा “हेर्दाहेर्दै” मा रहेको छ।

सम्बन्धित समाचार :

नक्कली भुटानी शरणार्थी प्रकरण : बहस लम्बिँदै, मुद्दा ‘हेर्दाहेर्दै’मा

नक्कली शरणार्थी मुद्दामा अदालतको सक्रियता, दुवै पक्षसँग प्रमाणित कागजात माग

नक्कली भुटानी शरणार्थी मुद्दामा टोपबहादुर पक्षको दाबी : “उहाँविरुद्ध कुनै प्रमाण छैन, सजाय हुने आधार पनि छैन”

नक्कली शरणार्थी मुद्दामा हरिभक्त पक्षको प्रतिवाद : ‘सहकारीका लागि रकम लियौँ, अमेरिका पठाउने कारोबार होइन’

नक्कली भुटानी शरणार्थी : प्रहरी बयानमा स्वीकार, अदालतमा इन्कार

नक्कली भुटानी शरणार्थी : कानुन व्यवसायीको ‘इन्टेन्सन’ शब्दमा न्यायाधीशको आपत्ति

नक्कली भुटानी शरणार्थी : उजुरीकर्तामाथि नै अनुसन्धान हुनुपर्ने प्रतिवादी पक्षको जिकिर

समाचार शेयर गर्नुहोस्
64
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.