काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा प्रतिवादीहरूको बहस लम्बिएको छ। काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश तेजबहादुर खड्काको इजलासमा प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले असार १ गतेदेखि सुरु गरेको बहस जारी छ।
मुद्दामा प्रतिवादी बनाइएका ३० जनामध्ये १८ जनाको बहस सकिएको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।
जेठ २७ गतेदेखि सुरु भएको सुनुवाइमा सरकारी र जाहेरवालाको बहस सकिए लगत्तै प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस थालेका थिए। त्यसयता प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले लामो बहस गरिरहेकाले मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ। प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस सुरु गरेको दुई साता पुग्दासमेत सकिएको छैन।
सूचना अधिकारी खतिवडाका अनुसार प्रतिवादीहरूका कानुन व्यवसायीको बहस सकिए लगत्तै सरकारी पक्षको जवाफी बहस सुरु हुनेछ। प्रतिवादीहरूका कानुन व्यवसायीहरूले भने आफ्नो पक्षलाई सफाइ दिनुपर्ने जिकिर गरिरहेका छन्।
जाहेरवालाका कानुन व्यवसायीहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई र मञ्जु खाँणसहितलाई पक्राउ गरी बयान लिनुपर्ने जिकिर गरेका छन्। उनीहरूले त्यससम्बन्धी छुट्टै निवेदनसमेत इजलासमा दर्ता गरेका छन्।
पूर्वगृहमन्त्री बालकृष्ण खाणका कानुन व्यवसायीले भने भुटानी शरणार्थीको अभिलेख (ट्र्याक रेकर्ड) राख्न खोज्दा नै अभियोग लगाइएको जिकिर गरेका छन्। भुटानी शरणार्थीलाई व्यवस्थित गर्न उनीहरूको जन्म र मृत्युको अभिलेख राख्ने निर्णय गराउँदा राजद्रोही बनाउन नमिल्ने जिकिर खाणका कानुन व्यवसायी पंकजकुमार कर्णले गरे।
कर्णले प्रेमराज पन्थी र केशव दुलाललाई खाणले देख्दै नदेखेको बताए। अभियोग पुष्टि हुन नसक्ने जिकिर गर्दै उनले भने, “मुद्दा चलाउनका लागि तयार पारिएका कागजात मात्रै हुन्, जाहेरवाला गजेन्द्र बुढाथोकीलाई बचाउन बालकृष्ण खाणलाई गलत रूपमा दुरुपयोग गरेर मुद्दा दायर गरिएको हो।”
नक्कली भुटानी शरणार्थी प्रकरणमा सङ्गठित गिरोहको योजनाअनुसार नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाई रकम उठाएर ठगी, लिखत किर्ते र राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुर गरेको अभियोग प्रतिवादीहरूमाथि लागेको छ। उक्त मुद्दाको पूर्ण सुनुवाइ काठमाडौँ जिल्ला अदालतमा जारी रहेको छ।
सम्बन्धित समाचार :
नक्कली शरणार्थी मुद्दामा अदालतको सक्रियता, दुवै पक्षसँग प्रमाणित कागजात माग
नक्कली भुटानी शरणार्थी : प्रहरी बयानमा स्वीकार, अदालतमा इन्कार
नक्कली भुटानी शरणार्थी : कानुन व्यवसायीको ‘इन्टेन्सन’ शब्दमा न्यायाधीशको आपत्ति
नक्कली भुटानी शरणार्थी : उजुरीकर्तामाथि नै अनुसन्धान हुनुपर्ने प्रतिवादी पक्षको जिकिर
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.