नक्कली शरणार्थी मुद्दामा अदालतको सक्रियता, दुवै पक्षसँग प्रमाणित कागजात माग

नक्कली शरणार्थी मुद्दामा अदालतको सक्रियता, दुवै पक्षसँग प्रमाणित कागजात माग

40
SHARES

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी मुद्दामा आफूसँग रहेका प्रमाणित कागजात उपलब्ध गराउन जाहेरवाला र प्रतिवादी दुवै पक्षलाई आग्रह गरेको छ।

ठगी, लिखत किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा न्यायाधीश तेजबहादुर खड्काको इजलासले जेनजी आन्दोलनका क्रममा जलेका तथा क्षतिग्रस्त कागजात अध्ययन गर्न कठिनाइ भएको उल्लेख गर्दै दुवै पक्षसँग रहेका प्रमाणित डकुमेन्ट पेश गर्न आग्रह गरेको हो।

सुनुवाइका क्रममा न्यायाधीश खड्काले नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्ण फैसला आउने जानकारी पनि गराए। “यो मुद्दाको पनि फैसला आउँछ र भन्ने सुनेको छु,” सोमबार बेचन झाको तर्फको बहस सकिएपछि उनले भने, “सम्पूर्ण प्रमाण जुटाएर फैसला गर्छौँ। तपाईँहरूसँग भएका कागजात दिनुहोला, काम लाग्ने राख्छौँ, नलाग्ने फिर्ता लैजान सक्नुहुन्छ।”

उनले केही जलेका तथा च्यातिएका कागजात अध्ययन गर्न कठिन भएको बताए। “म फाइल अध्ययन गरिरहेको छु, तपाईँहरूको बहस सुनिरहेको छु। बोलिरहेको छैन भन्नुहोला, हामी मिहिन रूपमा अध्ययन गरिरहेका छौँ। एक दिन समय पनि लिन्छौँ,” उनले भने, “भोलिका लागि कोही तयार हुनुहुन्न भने भोलि नै अध्ययन गर्छौँ।”

आङटावा शेर्पा र सागर राईको तर्फबाट बहस गर्न तयारी रहेको जानकारी इजलासलाई गराइएपछि न्यायाधीश खड्काले एक दिन बहस स्थगित गरेर अध्ययन गर्ने बताए। उनले जाहेरवाला र प्रतिवादी दुवै पक्षलाई पूर्ण फैसला आउने जानकारी पनि गराए।

२०८० जेठ १० गते ३० जनालाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार केही प्रतिवादी पुर्पक्षका लागि हिरासतमा छन् भने केही धरौटी बुझाएर साधारण तारेखमा रिहा भएका छन्।

नेपाल प्रहरीको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले ३० जना प्रतिवादीमध्ये १६ जनालाई उपस्थित गराएको थियो भने १४ जनालाई फरार सूचीमा राखेको थियो। २०८१ जेठ ९ गते पूरक अभियोग दर्ता गरिएको थियो भने राजनीतिक उच्च नेतृत्वसँग साँठगाँठ भएको आरोप लागेका बेचन झाविरुद्ध २०८१ साउन २८ गते मुद्दा दर्ता भएको थियो।

अदालतको आदेशअनुसार झासहित पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई हिरासतमा छन्।

प्रतिवादीमाथि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा राज्यशक्तिको दुरुपयोग गर्दै रकम उठाएको अभियोग छ। सोमबार सन्दीप रायमाझी र अन्तिममा पक्राउ परेका बेचन झाको तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए।

बहसका क्रममा बेचन झाको नाममा दुई करोड रुपैयाँको चेक हिमालयन बैङ्कमा दाखिला भएको तर हस्ताक्षर नमिलेकाले बाउन्स भएको विषय झाका कानुन व्यवसायीले इजलाससमक्ष उठाए। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहबाट रकम लिएको आरोप झामाथि लागे पनि उक्त आरोप बयान तथा कागजातका आधारमा खण्डित भइसकेको दाबी उनीहरूको थियो।

झाको आवाज रहेको भनिएको भिडियो विधिविज्ञान प्रयोगशालाबाट परीक्षण हुँदा उनको आवाज पुष्टि नभएको प्रतिवेदन आएको जिकिर पनि कानुन व्यवसायीहरूले गरे। “झामाथि लगाइएको आरोपको आधार खण्डन भएको छ,” झाका कानुन व्यवसायीले भने, “बेचन झाले एक कप चिया खाएको देखिँदैन, जाहेरवालाबाट कुनै लाभ लिएको देखिँदैन।”

झाको तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरूले भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानका लागि गठित बालकृष्ण पन्थी कार्यदलका तीनवटा प्रतिवेदन प्रस्तुत गर्दै सुनिता गौतमले पेश गरेको प्रतिवेदनलाई आधार बनाएर अभियोग लगाइएको जिकिर गरे।

मन्त्रिपरिषद्मा पेश गरिएको प्रतिवेदन र पन्थीले हस्ताक्षर स्वीकार गरे पनि ब्यहोरा स्वीकार नगरेको प्रतिवेदनभन्दा फरक प्रतिवेदन सुनिता गौतमबाट पेश भएको दाबी गर्दै उनीहरूले त्यसको प्रमाणिक मूल्य नरहेको तर्क गरे। “सुनिता गौतमको डकुमेन्टको प्रमाणित भ्यालु छैन,” उनीहरूले भने।

कानुन व्यवसायीहरूले सरकारले किर्ते कसले गरेको हो भन्नेबारे अनुसन्धान नै गर्न नसकेको जिकिर पनि गरे। उनीहरूको भनाइमा यो मुद्दामा राहदानी ऐनको दफा २१(क) अनुसार अनुसन्धान हुनुपर्ने थियो।

“जाहेरवालाहरू भुटानी शरणार्थीको नाममा यात्रा अनुमति पत्र लिएर अमेरिका जान खोजेको देखिन्छ। यो राज्यले गरेको निर्णय होइन, बेचन झाले गरेको निर्णय पनि होइन,” उनीहरूले भने।

झाको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता महादेव यादवले ठगी मुद्दामा हदम्यादको प्रश्न उठाए। उनले नीतिगत प्रभाव पार्ने, रकम उठाउने वा निर्णय प्रक्रियामा संलग्न रहेको कुरा बेचन झासम्बन्धी प्रमाणबाट पुष्टि हुन नसक्ने बताए।

वरिष्ठ अधिवक्ता यादवले टेकनारायण पाण्डे र रामशरण केसीसँग लिइएको थप बयानको सवाल–जवाफको दोस्रो बुँदामा मात्र बेचन झाको नाम उल्लेख भएको दाबी गरे। उनले झाको आधार कार्डसम्बन्धी विषयमा पनि प्रष्टीकरण दिएका थिए। त्यस क्रममा न्यायाधीश खड्काले विदेशी नागरिकको विषयमा प्रश्न नरहेको टिप्पणी गरेका थिए।

वरिष्ठ अधिवक्ता यादवले “टप–बटम केही नभएको” उल्लेख गर्दै बेचन झाले सफाइ पाउनुपर्ने दलिल इजलासमा पेश गरे।

काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

सम्बन्धित समाचार :

नक्कली भुटानी शरणार्थी मुद्दामा टोपबहादुर पक्षको दाबी : “उहाँविरुद्ध कुनै प्रमाण छैन, सजाय हुने आधार पनि छैन”

नक्कली शरणार्थी मुद्दामा हरिभक्त पक्षको प्रतिवाद : ‘सहकारीका लागि रकम लियौँ, अमेरिका पठाउने कारोबार होइन’

नक्कली भुटानी शरणार्थी : प्रहरी बयानमा स्वीकार, अदालतमा इन्कार

नक्कली भुटानी शरणार्थी : कानुन व्यवसायीको ‘इन्टेन्सन’ शब्दमा न्यायाधीशको आपत्ति

नक्कली भुटानी शरणार्थी : उजुरीकर्तामाथि नै अनुसन्धान हुनुपर्ने प्रतिवादी पक्षको जिकिर

समाचार शेयर गर्नुहोस्
40
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.