संविधानमा समलिङ्गी तेस्रोलिङ्गीका अधिकार सुरक्षित हुनु पर्नेमा जोड

संविधानमा समलिङ्गी तेस्रोलिङ्गीका अधिकार सुरक्षित हुनु पर्नेमा जोड

काठमाडौं (पहिचान) माघ ७ -जेनेभा घोषणा पत्रको पक्षधर बन्दै हस्ताक्षर गरेको नेपालले उक्त घोषणा पत्र लागु गर्ने प्रतिबद्दता पुरा नगरेको समलिङ्गी तेस्रोलिङ्गीले बताएका छन् । नील हिरा समाजले आयोजना गरेको कार्यक्रममा समलिङ्गी तेस्रोलिङ्गीले हरेक सन्धि संझौतामा हस्ताक्षर गर्ने नेपालले त्यसलाई ब्यबाहारमा भने कार्यान्वयन गर्न नसकेको बताएका हुन् ।
उक्त घोषणा पत्रमा सबैले समानरुपमा मानवअधिकार उपभोग गर्न पाउने लगायतका धारा उल्लेख भएपनि त्यसको पक्षधर देश नेपालले समलिंगीहरुको अधिकारका लागि संस्था समेत दर्ता गर्न नदिएको समलिङ्गी तेस्रोलिङ्गीको गुनासो छ । ‘समलिङ्गी पुरुषहरुको अधिकारका लागि काम गर्न भन्दै हामीले पिङ्क ट्याङ्गल नेपाल नामक संस्था दर्ताका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं गएका थियौं, नील हिरा समाजकी कार्यबहाक निर्देशक मनिषा ढकालले भनिन्, तर प्रमुख जिल्ला अधिकारीले समलिङ्गी शब्द हटाएर ल्याउनुस् भन्नु भयो । यस्तो अवस्थामा मानव अधिकारको कुरा कहाँ गयो । खोई हाम्रो अधिकार ।’ उनले जेनेभा घोषणा पत्र पक्षधर राष्ट्रहरुको मानवअधिकारको समिक्षा गर्दै सुझाव पठाउने संस्था युनिभर्सल पिर्योडिक रिभ्युलाई २०६४ सालमा सर्बोच्च अदालतले गरेको फैसला पूर्ण कार्यान्वयन गर्न दबाब दिन सुझाव पठाउन आग्रह गरिन् ।
कार्यक्रममा समाजका उपाध्यक्ष उमेश पाण्डेले विदेश जाँदा समलिङ्गी तेस्रोलिङ्गीलाई इमिगे्रशनमा समस्या हुने गरेको भन्दै सरकारले पहिचान अनुसारको राहदानी वितरण गर्नु पर्नेमा जोड दिए । उनले समलिङ्गी तेस्रोलिङ्गीलाई छुट्टै कारागार आबश्यक रहेको बताए ।
नील हिरा समाजकी मानवअधिकार विभाग प्रमुख भूमिका श्रेष्ठले आँफुहरुलाई प्राबिधिक कारण देखाउदै हरेक अबसरबाट बञ्चित गराउने गरेको भन्दै यस्तो अवस्था अन्त्यका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुले पनि आवाज उठाईदिनु पर्ने धारणा राखिन् ।
कार्यक्रममा युनिभर्सल पिर्योडिक रिभ्युका प्रतिनिधि होम याम्भुले आँफुले समलिङ्गी तेस्रोलिङ्गीका समस्या र समाधानका उपाय सहितको सुझाव प्रतिवेदन जेनेभा घोषणा पत्रको रिभ्यु बैठकमा पठाउने बताए । उनले सबै मानव समान भएको भन्दै संविधान मै समलिङ्गी तेस्रोलिङ्गीका अधिकार सुरक्षित हुनु पर्नेमा जोड दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading