बजेटको शीर्षकमाथि ३२ वटा खर्च कटौतीको प्रस्ताव

बजेटको शीर्षकमाथि ३२ वटा खर्च कटौतीको प्रस्ताव

काठमाडौं : सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकमा ३२ वटा खर्च कटौतीको प्रस्ताव परेका छन्।

प्रतिनिधिसभामा बिहीबारदेखि सुरु हुन लागेको ‘विनियोजन विधेयक २०८०’ को विभिन्न शीर्षकहरूमाथि खर्च कटौतीको प्रस्ताव दर्ता भएको संसद् सचिवालयले जनाएको छ।

खर्च कटौतीको प्रस्ताव दर्ता गर्न सचिवालयले ४८ घण्टाको समय दिएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतका दलले बुधवार बेलुकीसम्म ३२ वटा खर्च कटौतीको प्रस्ताव पेस गरिसकेका सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

अब सबै मन्त्रालयमा विनियोजन भएको बजेटको शीर्षकमाथि खर्च कटौतीको प्रस्तावसहित छलफल सुरु हुनेछ। अन्त्यमा सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्।

बिहीबार बिहान ११ बजे सुरु हुने बैठकमा विभिन्न चार मन्त्रालयको बजेटमाथि दलीय आधारमा सांसदहरूले आफ्नो धारणा राख्ने सचिवालयले जनाएको छ।

वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद र सहरी विकास मन्त्रालयको बजेटमाथि बिहीबार छलफल हुने कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ।

मन्त्रालयगत छलफलका लागि सभामुख देवराज घिमिरेले असार १२ गतेसम्मको समय निर्धारण गरेका छन्। छलफलका लागि दलीय आधारमा सबै दललाई समय तोकिसकिएको छ।

निर्धारित समयमा बोल्नका लागि कुन सांसदलाई कति समय दिइएको छ भन्ने जानकारी सम्बन्धित दलले कार्यव्यवस्था वा संसद् सचिवालयलाई बैठकको एक घण्टा अघि उपलब्ध गराइसक्नुपर्छ।

सोही आधारमा सांसदहरूले बोल्ने संसद् नियमावलीमा उल्लेख छ। सभामुखले तोकेको समयभित्र छलफल नसकिए बजेट होलिडेको अवस्था आउने सचिवालयले सचेत समेत गराएको छ।

सामान्यतया नेपालमा बजेट संशोधन भएको अभ्यास वा नजिर छैन। यद्यपि यसपटक सत्तारुढ दलहरूले बजेट संशोधन गर्ने सहमति गरिसकेका छन्। बजेट संशोधन हुनका लागि सम्बन्धित मन्त्रीले जवाफ दिने क्रममा प्रस्ताव गरेमा सभाले निर्णय गर्न सक्नेछन्।

सम्बन्धित समाचार

गठबन्धन जोगाउन बजेट संशोधनको तयारी

विवादमा बजेट : सरकार र निर्वाचन आयोगबीच वार

बजेटले सत्ता गठबन्धनमा खटपट, खर्च कटौतीको सूचना दिन ४८ घण्टा

बजेट निर्माणमा अनधिकृत व्यक्ती संलग्न भएको विषय सामसुम

सांसदलाई करोड : प्रत्यक्षले पाउने, समानुपातिक रुष्ट

बजेटमा अर्बपति चौधरीको टिप्पणी : निजी क्षेत्र उत्साहित हुन सकेन

बजेट १७ खर्ब ५१ अर्बको : ४ खर्ब ५२ अर्ब ७५ करोड ऋण खोज्नु पर्ने

अर्थमन्त्री महतले किन पढेनन् बजेटका ६ बुँदा?

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading