एजेन्सी : छोरीको रूपमा जन्मिएका मनोजले जब १७ वर्षको उमेरमा आफ्नो परिवारलाई पुरुषजस्तै महसुस हुने गरेको र एक महिलासँग प्रेम गरेको कुरा बताएपछि उनको ज्यान नै धरापमा पर्यो।
मनोजका अनुसार, आमाबुबा उनको फरक भावना र पहिचानलाई स्वीकार गर्न तयार थिएनन्। उनलाई हातखुट्टा बाँधेर नराम्रोसँग कुटपिट गरियो र घरभित्र एउटा कुनामा बाँधेर राखियो। बुबाले मारिदिने धम्की दिँदै उनको हातको नसा नै काटिदिए।
‘यति कुटाइ खानुपर्छ भनेर मैले सोचेको पनि थिइन। जे जस्तो भए पनि आफ्ना सन्तानका लागि बाबुआमाले स्विकार्ने छन् भन्ने सोचेको थिएँ। तर मेरो परिवार आफ्नो इज्जतको लागि मलाई मार्न तयार थिएँ’ मनोजले भने।
गाउँमा महिलाको जीवनमा कयौँ बन्धनहरू त छँदै छ। त्यसमा पनि महिलाले पुरुषको भावना महसुस गर्छु भन्दै आफूलाई पुरुष तेस्रोलिङ्गी बताउनु ठुलो चुनौती र चर्को आलोचनाको सिकार बन्नु हो।
भारत बिहारको एउटा गाउँमा बस्ने मनोजले परिवारले स्कुलको पढाइ नै छुटाएर आफूभन्दा उमेरमा दुई गुणा ठुलो पुरुषसँग जबरजस्ती विवाह गराइदिएको बताए। ‘म आत्महत्या गर्न तयार थिएँ,’उनले भने,‘तर मेरी प्रेमिकाले मेरो साथ छाडिनन् र आज म जिउँदो छु र उनले हार नमानेकै कारण आज हामी साथमा छौँ।’
मनोज अहिले २२ वर्षका भएका छन् र उनको २१ वर्षकी प्रेमिका छिन् जसको नाम हो रश्मि। उनीहरू सहरमा लुकेर बसिरहेका छन्। यसैक्रममा उनले रिट दायर गरेर सुप्रिम कोर्टबाट समलैंगिक विवाहलाई कानुनी अधिकार दिन माग गरेका छन् र अहिले अदालतको फैसलाको प्रतीक्षामा छन्।
विवाहको अधिकार
भारतमा सन् २०१८ मा, लामो कानुनी लडाइँपछि सुप्रिम कोर्टले दुई वयस्कहरूबिच सहमतिमा बनेको समलैंगिक यौन सम्बन्धलाई अपराधको श्रेणीबाट हटाइ दियो। तर समलिङ्गी विवाहलाई अहिलेसम्म कानुनी मान्यता प्रदान गरिएको छैन।
यस वर्ष अदालतले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिन माग गरिएका २१ वटा रिट माथि सुनुवाइ गरिसकेको छ र अदालतको फैसला आउन बाँकी छ। सुनुवाइ भएका रिटमध्ये अधिकांशमा विवाहलाई मौलिक अधिकारको रूपमा मान्यता दिन माग गरिएको छ।
चार जना तेस्रोलिंगी अभियन्ता र दुई अन्य जोडीका साथमा दायर गरिएको मनोजको रिटमा, विवाहलाई परिवारबाट हुने शारीरिक र मानसिक हिंसाबाट बाहिर निस्कने एउटा माध्यमको रूपमा उल्लेख गरिएको छ। ‘हाम्रो सम्बन्धलाई कानुनी मान्यता प्राप्त भए सबै डर हट्थ्यो’ मनोजले भने।
सन् २०११ म भएको पछिल्लो जनगणनाअनुसार भारतमा करिब पाँच लाख मानिस स्वयंलाई तेस्रोलिंगी (ट्रान्सजेन्डर) मान्दछन्। यो आँकडा पनि वास्तविक सङ्ख्या भन्दा निकै कम रहेको अभियन्ताहरूको दाबी छ।
भरतमा सन् २०१४ मा सुप्रिम कोर्टले एक ऐतिहासिक फैसला सुनाउँदै ट्रान्सजेन्डर मानिसहरूलाई तेस्रोलिंगीको कानुनी मान्यता दिएको थियो। पाँच वर्ष पछि संसद्ले ट्रान्सजेन्डर समुदायको अधिकारको सुरक्षा खातिर कानुन पारित गर्यो। यससँगै शिक्षा, रोजगार, स्वास्थ्य क्षेत्रमा ट्रान्सजेन्डरहरु माथि भेदभाव र उनीहरू विरुद्ध आर्थिक, शारीरिक, मानसिक, यौन हिंसालाई गैरकानुनी मानिएको छ। तर परिवार भित्र हुने हिंसाबाट भने उनीहरूले अहिले पनि गुज्रनु परेको छ।
परिवारमा हुने हिंसा
एक सार्वजनिक सुनुवाइमा ३१ जना ट्रान्सजेन्डर व्यक्तिको विस्तृत बयान दायर गर्ने मुम्बइकी एक वकिल वीणा गौडा परिवारमा हुने हिंसालाई जानाजानी बेवास्ता गर्ने गरिएको बताउँछिन्। अप्रेलमा गौडासहितका वकिल, पूर्वन्यायाधीस, शिक्षाविद्, अधिकारकर्मी र राज्य सरकारका प्रतिनिधिसहितको सार्वजनिक सुनुवाइका आधारमा जारी रिपोर्टमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मानिसहरूलाई परिवार छान्ने अधिकार दिन सुझाव दिइएको थियो।
जबरजस्ती पुरुषसँग विवाह गरिदिएको केही महिनापछि मनोजले फेरी रश्मिसँग बस्ने प्रयास गरे तर उनको श्रीमानले पत्ता लगाएर दुवै जनासँग जबरजस्ती यौन सम्बन्ध बनाउने धम्की दिए। त्यहाँबाट भागेर मनोज र रश्मि नजिकैको रेलवे स्टेसन पुगे र नयाँ जीवनको कठिन पूर्ण सहयात्रा सुरु गर्ने अर्को प्रयास गरे।
फेरी परिवारले खोजेर उनीमाथि निर्घात कुटपिट गरे। रश्मिलाई आफ्नो कारण मनोजको मृत्यु भएको भनी सुसाइड नोट लेखेर हस्ताक्षर गर्न परिवारले दबाब समेत दिएको उनी सम्झन्छिन्। मनोजलाई फेरी घर लगेर परिवारले मोबाइल फोन समेत खोसी कोठा भित्र बन्धक बनाएर राखे।
रश्मिले एक क्विर महिलावादी सङ्गठनलाई सम्पर्क गरी स्थानीय प्रहरीको सहयोगमा मनोजलाई उनको बाबुआमाको घरबाट निकालिन्। केही समयका लागि ट्रान्सजेन्डर मानिसहरूका लागि बनाइएको सरकारी सेल्टरमा बसे पनि रश्मि ट्रान्सजेन्डर नभएका कारण त्यहाँबाट उनीहरूले निस्कनुपर्यो।
भागेर फेरी दोस्रो पटक सहयात्रा
मनोजले पुरुषसँगको विवाहबाट सम्बन्ध विच्छेद गरे तर परिवारको हिंसाबाट बच्न र नयाँ जीवन बनाउनका लागि सहयोग गर्ने निक्कै कम भेटे।
पूर्वी भारतमा लेस्बियन, बाइसेक्स्यूअल महिला र तेस्रोलिंगी पुरुषको अधिकारका लागि २० वर्षभन्दा बढी समयदेखि काम गर्दै स्याफो फर इक्वेलिटीका संस्थापक कोयल घोष अहिले पनि सन् २०२० को त्यो दिन जब स्याफोको हेल्पलाइनमा एक क्विर जोडीको फोन आएको सम्झन्छन्। यो जोडी भागेर कोलकाता पुगेको थियो तर बस्ने कुनै ठाउँ नपाएपछि सात रात फुटपाथमा बिताइसकेको थियो।
कोयलले भने ‘शिरमा छत भएपछि जागिर खोज्न र नयाँ सहरमा नयाँ जीवनको सुरुवात गर्न सहज होस् भनेर हामीले यो जोडीलाई अस्थायी रूपमा तीन महिनाका लागि एउटा भाडाको कोठामा राख्यौँ।’
समाजमा घृणाको दृष्टिले हेर्ने, परिवारबाटै हिंसा भोग्ने, अध्ययन पुरा गर्न नपाउने र जबरजस्ती विवाहका अलावा कयौँ ट्रान्सजेन्डरहरुले स्थायी जागिर पनि पाउँदैनन्। भारतको पछिल्लो जनगणना अनुसार यो समुदायको साक्षरतादर (४९.७६ प्रतिशत) अर्थात् देशको औसत (७४.०४ प्रतिशत) भन्दा निक्कै कम छ।
सन् २०१७ मा राष्ट्रिय मानवअधिकार आयोगको दिल्ली र उत्तर प्रदेशमा ९ सय जना ट्रान्सजेन्डर मानिसहरू माझ गरिएको सर्वेक्षणमा ९६ प्रतिशतले जागिर नपाएपछि भिख माग्ने र सेक्सवर्करका रूपमा काम गर्न बाध्य भएको बताएका थिए।
स्याफोले घरबाट भाग्न बाध्य जोडीका लागि सेल्टर बनाउने निर्णय गरे पछिल्लो दुई वर्षमा ३५ जोडीलाई शरण दिएको छ। हरेक जोडीका आआफ्नै कथा छन् तर परिवारबाटै हिंसा भोग्न बाध्य अनि आफ्नो ज्यान बचाउन घरबाट भाग्नु परेकाहरूको व्यथा भने उस्तै छ।
सुरुमा आफ्नो पहिचानका लागि लडाइँ, त्यसपछि जीवनको साझेदार बनाउनु, साझेदारबिच यौन, विवाहका लागि कानुनी मान्यताको लडाई एलजिबिटीआइक्यूप्लस समुदाय लडिरहेको छ। यो समुदाय स्पेसल म्यारिज एक्टको माध्यमबाट आफ्नो सम्बन्धको व्यवहारिक व्याख्या चाहन्छ भने अर्कोतर्फ भारत सरकार र धार्मिक नेताहरू समलैंगिक विवाहको विरोधमा छन्।
सुप्रिम कोर्टमा पुगेका रिटहरूमा समलिङ्गी जोडीहरू परिवारबाट हुने हिंसाबाट बच्न, एक स्वतन्त्र, सुरक्षित जीवन बाँच्न, समलिङ्गीहरूलाई विवाहका लागि कानुनी अधिकार दिन माग गरेका छन्।
यो सामग्री बीबीसी हिन्दीबाट लिइएको हो।
सम्बन्धित समाचार
बाबुले जिउँदैमा अन्तिम संस्कार सकाएकी गौरी सावन्तको कथा ‘ताली’
पारलिंगी महिलाको भेषमा यौन हिंसाको शृङ्खला : आजीवन कारावास
समलिङ्गी मुक्ति आन्दोलनको शृङ्खला–स्टोनवाल विद्रोह
युगान्डामा समलिङ्गी विरोधी व्यवस्थाको विरोध, आर्थिक सहायता कटौती गर्ने बाइडेनको चेतावनी
पाकिस्तान–सिन्ध प्रान्त : ट्रान्सजेन्डर माथिको उत्पीडन र गिरफ्तारी रोक्न सुझाव
ट्रान्सजेन्डर अलिशाको यात्रा : सेक्सवर्कदेखी हेल्थवर्करसम्म–
समलैङ्गिकतालाई अपराध बनाउने त्यो आँधी…
सर्वोच्चको फैसला कुर्दै भारतीय समलिङ्गी जोडी
दक्षिण कोरियामा समलिङ्गी जोडीको अधिकारलाई मान्यता
इटालीमा कानुनी अड्चन खेप्दै समलिङ्गी आमाबाबुका सन्तान
समलिङ्गी विवाहलाई वैधानिक बनाउने कानुनमा बाइडेनले गरे हस्ताक्षर
फरक महसुस गरेका बालबच्चालाई अभिभावकले कसरी मार्ग निर्देशन गर्ने?
बेलायत र युरोपमा समलिङ्गी सङ्क्रमित बढी, गे बारहरू र क्लबहरू अनुसन्धान गर्न ट्रेस
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.