यौनकर्मीका कारण तनाव, टाउको फुटेको घटनामा समेत मेलमिलाप

यौनकर्मीका कारण तनाव, टाउको फुटेको घटनामा समेत मेलमिलाप

मकवानपुर : हेटौँडा–४ र १० नम्बर वडाको फरेष्ट्री क्षेत्र वरपर यौनकर्मीहरूका कारण तनाव भएको छ। हरेक रात अमर्यादित गतिविधि गर्दा त्यस क्षेत्र अशान्त बन्नुका साथै आपराधिक गतिविधिहरू समेत हुन थालेको छ।

रातको ८ बजेपछि फरेष्ट्री क्षेत्रमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक यौनकर्मीसँग मोलमोलाइ गर्ने तथा जङ्गलभित्रै यौन क्रियाकलाप भइरहँदा पनि सम्बन्धित निकायले ध्यान नदिएको त्यस क्षेत्रका बासिन्दा तथा वन विज्ञान अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीहरूले गुनासो गरेका छन्।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक यौनकर्मीले त्यस क्षेत्रमा अमर्यादित कार्य गर्दा स्थानीय लगायत क्याम्पस क्षेत्रलाई असर परिरहेको गुनासो आएको छ।

यौन व्यवसायीहरूले फरेष्टीस्थित मुख्य रोडमै ग्राहकको प्रतीक्षा गरिरहँदा कयौँ उनीहरूसँग बार्गेनिङ गर्न पुग्ने गरेको प्रत्यक्षदर्शीले बताए। साँझ परेपछि वरिपरिका पसलहरू समेत चाँडै नै बन्द गर्नुपर्ने बाध्यता बनेको व्यवसायीहरूको दुखेसो छ।

वन विज्ञान क्याम्पस वरिपरिको स्थानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक यौनकर्मीहरुबीच नै झगडा समेत हुने गरेको घटना सार्वजनिक भएका छन्।

पुस १ गते राति भएको झगडामा एक जना यौनकर्मीको टाउको फुटी गम्भीर घाइते भएको र उपचार गरिदिने सर्तमा दुवै पक्षमा मेलमिलाप भएको जिल्ला प्रहरी कार्यालय र अस्पताल स्रोतबाट सूचना प्राप्त भएको छ।

प्रत्यक्षदर्शीका अनुसार सो झगडा भएको घटनामा त्यस रात प्रहरी भ्यान सहित त्यही स्थानमा सोधपुछको लागि पुगेको थियो तर, यौनकर्मीहरू प्रहरीकै अघि खुलमखुला यौन क्रियाकलापबारे बार्गेनिङ गरिरहेका थिए।

यस्तो क्रियाकलाप रोक्न प्रहरीले बेलाबेला उनीहरूलाई लखेट्नेबाहेक अरू केही काम नगरेको वन विज्ञान क्याम्पसका क्याम्पस प्रमुख शिव कुमार मानजनले बताए। ‘प्रहरीले एकापट्टिबाट खेद्छन्, अर्कोतिरबाट फेरि उनीहरू आइहाल्छन्,;उनले भने,‘यस्तो गतिविधि हुँदा हाम्रो क्याम्पसलाई साह्रै समस्या परेको छ।’

सडक विस्तार गर्ने नाममा वन विज्ञानको पर्खाल भत्काइएको र पुनः पर्खाल लगाउनको लागि कति मिटर छाडेर पर्खाल लगाउने भन्ने समस्या भएको मानजनको भनाइ छ। क्याम्पस क्षेत्रमा पर्खाल नभएका कारण कारण यौन व्यवसायीलाई सहज भएको र उनीहरू क्याम्पस क्षेत्रको वनमा समेत प्रवेश गरी क्रियाकलाप गर्ने गरेको मानजनले बताए।

क्याम्पस वरिपरि यौन धन्दा चलिरहँदा विद्यार्थीमा पनि त्यसको विकृति फैलिने कुरामा प्रशासन चिन्तित रहेको उनले बताए। क्याम्पस परिसरमा ९ जना सुरक्षा गार्ड परिचालनका साथ १२ वटा सिसी क्यामेरा लगाइएको उनले बताए। क्याम्पसले वन विज्ञान वरिपरि भइरहेको यौन क्रियाकलाप रोक्न प्रहरीसँगको सल्लाह अनुसार बत्तीसमेत राखेको छ।

होटेल साहुसँग सेटिङ, केटीको भेषमा लुटपाट

वन विज्ञान क्याम्पस स्ववियु सभापति दीपेन्द्र कँडेलले रातको ७ बजे पछि क्याम्पसमा अध्ययन गर्ने जोकोही बाहिर निस्कन डराउनुपर्ने अवस्था रहेको सुनाए। एक विद्यार्थीलाई केही समय अघि यौन व्यवसायीहरूले ताली बजाउने र लखेट्ने गरेको घटनासमेत उनले सुनाए।

वन विज्ञान अध्ययन संस्थानमा वातावरण तथा विज्ञान पढाउने शिक्षक गुलाब चौधरीले रातको समयमा यौनकर्मीहरूले चिच्याउने होहल्ला गर्ने कारण स्थानीय र वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीलगायतलाई प्रत्यक्ष असर परेको बताए। वन क्षेत्रमा यौनकर्मीहरूले फोहोर गर्ने तथा स्थानीयले पनि फोहोर फाल्ने गरेका कारण प्रदूषण समेत फैलिएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले यौन क्रियाकलाप रोक्न प्रहरी परिचालन गरे पनि समस्या नसुल्झिएको बताए। समस्याको दीर्घकालीन समाधान गर्ने बारे सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक यौनकर्मीलाई पक्राउ गरी ल्याउँदा हिरासतमा महिला र पुरुष कक्ष मात्रै रहेको र उनीहरूलाई कुनमा राख्ने भन्ने समस्याले लखेट्ने गरेको भण्डारीको भनाइ छ।

फरेष्टिमा फैलिएको यौन क्रियाकलाप नियन्त्रण गर्न खोज्दाखोज्दै पनि नियन्त्रण गर्न नसकिएको १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामा बताउँछन्। सम्बन्धित निकायसँग लगातार समन्वय भइरहेको बताउँदै यो समस्या नियन्त्रण गर्न प्रहरीले नै तदारुकता देखाउनुपर्ने उनले बताए।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले त्यस क्षेत्रमा केही समय अघि लागु औषधको समस्या बारे गुनासो आएपछि प्रहरी थप परिचालन गरिएको बताउँदै यौन व्यवसायको समस्याबारे भने खासै जानकारी नभएको बताए। त्यस क्षेत्रमा थप प्रहरी परिचालन गर्नुको साथै सम्बन्धित व्यक्तिसँग छलफल गरी समस्या समाधानको प्रक्रिया अगाडि बढाउने उनले बताए।

हेटौँडा अस्पतालको एआरटीको तथ्याङ्क अनुसार हेटौँडामा एचआइभी लागेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको सङ्ख्या ८ जना छन्। उनीहरूले अन्यमा सङ्क्रमण सार्ने खतरासमेत रहेको छ।

फ्रेण्ड्स हेटौँडाका कार्यक्रम संयोजक सुरज किरणले विकृत क्रियाकलाप गर्नेलाई कारबाही गर्नुपर्ने बताइन्। कारबाही मात्रै दीर्घकालीन समस्याको समाधान नभएको भन्दै त्यसको लागि उनीहरूको व्यवस्थापन पनि जरुरी रहेको उनको भनाइ छ।

समाज र परिवारबाट अवहेलनामा परी घर छोडी हिँड्नु परेको अवस्थामा अरू कुनै विकल्प नभई यौन व्यवसायको बाटो रोज्नु उनीहरूको बाध्यता रहेको उनले बताइन्। स्थानीय सरकारले पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई कोटा दिनु पर्ने उनको माग छ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि भरखरै स्थापना भएको मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले आफ्नो स्वतन्त्रता उपभोग गर्दा अरूको स्वतन्त्रता हनन गर्न नहुने बताए। ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पनि सभ्य भएर आफ्नो अधिकार माग गर्नुपर्छ,’उपाध्यक्ष केसीले भने,‘आफ्नो अधिकार माग गर्दा अरूको अधिकार हनन हुने गतिविधि गरिदिनु हुँदैन।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading