जनगणनाको ‘अन्य’को रिजल्ट नआउँदै पुन सर्वेको तयारी : एकै पटक हुने काममा तथ्याङ्क विभागको दाता रिझाउने ‘इन्ट्रेस’

जनगणनाको ‘अन्य’को रिजल्ट नआउँदै पुन सर्वेको तयारी : एकै पटक हुने काममा तथ्याङ्क विभागको दाता रिझाउने ‘इन्ट्रेस’

काठमाडौं : २०६८ सालमा महिला, पुरुष र तेस्रोलिङ्गी पहिचानका व्यक्तिको जनगणना भयो। महिला र पुरुषको भन्दा थोरै सङ्ख्या आयो –तेस्रोलिङ्गीको। तत्कालीन संविधानसभाका सदस्य सुनिलबाबु पन्त, हालै अमेरिकी विदेश मन्त्रालयको प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार (आईडब्ल्यूओसी) बाट सम्मानित भूमिका श्रेष्ठ तथ्याङ्क विभागको सो गणनाबाट सन्तुष्ट हुन सकेनन्।
विभागले विसं २०६८ को गणनामा तेस्रोलिङ्गीको गणना गरे पनि यसलाई सार्वजनिक गरेन। १० वर्षसम्म नेपालमा के कति तेस्रोलिङ्गी छन् भन्ने यकिन जानकारी दिएन। पहिचान भएका व्यक्तिको सङ्ख्या लुकाइयो। विभागको तथ्याङ्कमा चित्त नबुझाएको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको संस्था नील हिरा समाजले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा गणना सकिएको एक वर्षपछि आफै सर्वेक्षण गर्‍यो।
सर्वेक्षण अनुसार नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको सङ्ख्या नौ लाखको हाराहारीमा रहेको तथ्याङ्क ‘विलियम इन्स्टिच्युट’को आधिकारिक ‘वेबसाइट’मा सार्वजनिक नै भयो र त्यो तथ्याङ्क अहिले पनि सुरक्षित नै छ।
यसपछि २०७८ सालमा भएको जनगणनाको प्रारम्भिक सङ्ख्या केन्द्रीय तथ्याङ्क विभागले ‘अन्य’ लैङ्गिक पहिचान भएका व्यक्तिलाई महिला र पुरुष नै भनेर सार्वजनिक गर्‍यो। मूल प्रश्नावलीमा राख्दै राखेन विभागले। १० वर्ष अगाडि तेस्रोलिङ्गी गणना गरेको विभागले १० वर्षपछिको गणनामा ‘कोलम’ नै हटाइदियो। विभागले महिला र पुरुषको मात्रै प्रारम्भिक तथ्याङ्क सार्वजनिक ग¥यो।
प्रारम्भिक जनगणनाको नतिजामा नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको सार्वजनिक गरियो। यो गणनामा विभागले ‘अन्य’ लैङ्गिक पहिचानका व्यक्तिको तथ्याङ्क छुट्टै निकालेन। मूल गणनाको अन्तिम प्रतिवेदन सार्वजनिक गर्दा लगत सूचीकरण फारम अनुसार लिइएको ‘अन्य’ लैङ्गिक पहिचानका व्यक्तिको तथ्याङ्क आउने विभागका अधिकारी बताउँछन्।
विभागका निर्देशक ढुण्डिराज लामिछाने घर तथा घरपरिवार सूचीकरणको तथ्याङ्क सार्वजनिक गर्दा ‘अन्य’ लैङ्गिक पहिचान भएका व्यक्तिको पनि तथ्याङ्क आउने दाबी गर्छन्। ‘जनगणनाको अन्तिम विवरण तयारीको क्रममा छौँ,’उनले पहिचानसँग भने,‘मङ्सिर या पुससम्म सार्वजनिक हुन्छ होला।’
जनगणनामा ‘अन्य’ लैंगिक पहिचानलाई बेवास्ता, अझै १० वर्ष मुलगणनामा नपर्ने
‘अन्य’ लैङ्गिक पहिचान भएकाको तथ्याङ्क पनि गणनामा आउने उनले बताए। ‘उनीहरूको पनि तथ्याङ्क लिएका छौँ,’निर्देशक लामिछानेले भने,‘तर अहिले त्यतातिर सोच्न भने भ्याएका छैनौ।’ जनगणनाको अन्तिम रिजल्ट सार्वजनिक नगर्दै विभागले चालू वर्षका लागि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको सर्वे गर्न बजेट विनियोजन गरेको छ।
थोरै बजेटले एउटा तयारी गोष्ठिमात्र गर्न सकिने निर्देशक लामिछानेले बताए। सरकारले सर्वे गर्ने प्रस्ताव ‘वन’ गरेको र दातृ निकाय खोज्न भनेको उनले जानकारी दिए। सर्वे गर्न आवश्यक सहयोगका लागि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले अहिले दातृ निकाय ‘युएसएआईडी’का प्रतिनिधिलाई विभागसम्म पुर्‍याएका छन्।
नील हिरा समाजकी कार्यकारी निर्देशक मनिसा ढकालसहित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले युएसएआईडीका तीन जना प्रतिनिधिलाई विभागमा लगेर छलफल गराएका हुन्। ‘दातृ निकायको चासो सरकारले सर्वे गर्ने हो होइन भन्ने रहेछ,’ निर्देशक लामिछानेले भने,‘हामी सानो टिम बसेर सर्वे गर्न विभाग तयार रहेको युएसएआईडीका प्रतिनिधि मण्डललाई जानकारी गराइयो।’
जनगणना २०७८ को अन्तिम प्रतिवेदन सार्वजनिक गरेपछि ‘अन्य’ लिङ्गीका बारेमा सर्वे हुने उनले बताए। घर परिवारको लगत सङ्कलनमा ‘अन्य’ लिङ्गीको तथ्याङ्क लिएकाले मङ्सिर या पुससम्म सार्वजनिक हुने फाइनल गणनामा ‘अन्य’ लिङ्गीको पनि सङ्ख्या आउने निर्देशक लामिछानेले बताए। विभागले मूल गणनामा नलिए पनि लगत सङ्कलनमा ‘अन्य’ लिङ्गीको तथ्याङ्क लिएको छ। तर त्यसमा वास्तविक सङ्ख्या नआउने उनले बताए।
वास्तविक सङ्ख्या निकाल्न सर्वे गर्न सुझाएको र दाता खोज्न लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूलाई भनेको उनले सुनाए। सर्वेबाट आएको तथ्याङ्क जनगणना सरह नै हुने दाबी निर्देशक लामिछानेको छ।
१० वर्ष अगाडि पनि भएको थियो–सर्वे
सन् २०१३ मा तथ्याङ्क विभागको गणनामा तेस्रोलिङ्गीको मात्रै तथ्याङ्क त्यो पनि झारा टार्ने किसिमले आएको भन्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको सङ्ख्या निकाल्न सर्वेक्षण भएको थियो। सर्वेक्षणमा जनसङ्ख्या, सामाजिक, आर्थिक स्थिति, भेदभाव, दुर्व्यवहार, एचआइभी सम्बन्धी सूचना तथा सेवामा पहुँच लगायतका ७६ प्रश्न सोधिएको थियो।
सन् २०१४ को सर्वेक्षणमा तपाईँको वर्तमान लिङ्ग के हो? महिला, पुरुष र अन्य, तपाईँलाई जन्मँदा कुन लिङ्ग तोकिएको थियो। महिला, पुरुष, अन्तरलिङ्गी, नागरिकतामा कुन लिङ्ग तोकिएको छ? महिला, पुरुष या अन्य, तपाईँको सम्बन्ध स्थिति के हो? लगायतका प्रश्न थिए। मेटी, टा, कोथी, पन्थी, हिजडा, फुलुमुलु, तेस्रोलिंगी, पुरुष समलिङ्गी वा महिला समलिङ्गी, द्ववलिङ्गी मध्ये कुन पहिचान हो भनेर गरिएको सर्वेक्षण अहिले १० वर्ष पुरानो भइसकेको छ।
तेस्रोलिंगीको तथ्यांक लिदाँ घर परिवार लजाउने अबस्था छ : निर्देशक लामिछाने
घरमा लैङ्गिक पहिचानबारे थाहा छ कि छैन? पिउने पानी, खाना पकाउन प्रयोग गर्ने इन्धन, बत्ती बाल्न प्रयोग गर्ने साधन, शौचालय, रेडियो, टिभी, इन्टरनेट, आम्दानी, आफ्नो नाममा जग्गा छ कि छैन? जस्ता ७६ प्रश्नको उत्तर सङ्कलन गरेर ‘विलियम इन्स्टिच्युट’ले सार्वजनिक गरेको प्रतिवेदन गुगलमा सर्च गर्दा पाउन सकिन्छ। अहिलेसम्म यहीँ प्रतिवेदनका आधारमा कार्यक्रम सञ्चालन भइरहेका छन्।
१० वर्षपछि पनि ‘सर्वे’ कै तयारी
२०७८ को जनगणनामा विभागले मूल प्रश्नावलीमा एउटा कोलम थपेर ‘अन्य’ लिङ्गीको तथ्याङ्क लिएन। पुरुष, महिला र अन्य समेत उल्लेख गरेन विभागले गणनाको मूल प्रश्नावलीमा। ‘उहाँहरू अहिले नै नौ दस लाख छन् भन्नुहुन्छ, त्यो सङ्ख्या गणनाबाट आउँदैन,’निर्देशक लामिछानेले भने,‘उहाँहरूको वास्तविक सङ्ख्या सर्वेबाट मात्रै आउँछ, गणनाबाट आउँदैन।’
जन्मँदा महिला या पुरुष लैङ्गिक पहिचान नै हुन्छ। जैविक लिङ्ग भन्दा फरक सामाजिक लैङ्गिक पहिचान बनाइएकाहरू मध्ये महिलाबाट पुरुष एक, पुरुषबाट महिला आठ र अन्यबाट पुरुष एक जनाले परिवर्तित लैङ्गिक पहिचानको नागरिकता नै लिइसकेका गृह मन्त्रालयले जनाएको छ।
संविधानले नीति निर्माण तहमा प्रतिनिधित्वको व्यवस्था गरेका सबैले अवसर पाएका छैनन्। क्षमता अनुसारको काम र बजार अनुसारको दाम नपाएको गुनासो गर्दा नसुनेपछि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको सहारा दातृ निकाय बनिरहेका छन्।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सम्बन्धी पहिचानमा प्रकाशित थप समाचार
जन गणनामा छुटाउन नहुने समुदाय
‘यौनिक तथा लैंगिक अल्पसंख्यकको एकिन तथ्यांक निकाल्नुपर्छ’
‘जन गणनामा तथ्यांक आउनु पर्छ’
‘तेस्रोलिंगी संवेदनशिल भएकाले छुट्टै ट्रिटमेन्ट गर्नु जरुरी छ’
समलिंगी अभिभावकको पीडा : ‘छोरीको जन्मदर्ता गराउनै सकिएन’
स्थानीय चुनावका मतदाता १ करोड ७७ लाख, ‘अन्य’ लैङ्गिक पहिचानका १८३ जना मात्रै
महिला मन्त्रालयको आग्रह समेत स्वीकारे न तथ्याङ्क विभागले, गरेन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको गणना
राष्ट्रिय जनगणनमा नपरेपछि रिसाए लैङ्गिक अल्पसङ्ख्यक भने, तथ्याङ्क विभागको ढाँटछल स्वीकार्य छैन (भिडियो)
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको तथ्याङ्क सङ्कलन गर्छौ : मन्त्री रेग्मी
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको विषय अब कक्षा कोठामा, ट्रान्सजेण्डरलाई ‘देहान्तर’ भनेर पढाइने

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading