किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

काठमाडौं : नेपालमा शरण लिएर बसेका भुटानी शरणार्थीको स्वदेश फर्कन पाउने माग पुरा भएको छैन। तीन दशक अघिदेखि भुटानी राज्यसत्ताले देश निकाला गरेका नागरिकको देश फर्कन पाउने आवाज संसारभरि गुन्जिरहेको छ। जसले सुन्नु पर्ने हो उसैले भने नसुनेझैँ गरिरहेको छ।

परिवार, आफन्त, थातथलो छाड्न बाध्य बनाइएका भुटानी नागरिकले स्वदेश फर्कन पाइने आशा जीवितै राखेका छन्। नेपालबाट तेस्रो देश पुर्नवास भएका भुटानी नागरिक विश्वका जुनसुकै देशमा जान पाउँछन् भुटान बाहेक। आफू जन्मेको देशमा जान नपाएका भुटानी नागरिकको नाममा नेपाल सरकारले आफ्नै देशका नागरिकलाई भुटानी बनाएर बेचेको चर्चा व्याप्त छ।

अन्तराष्ट्रियस्तरमा भुटानी शरणार्थीले पहिचान पाएका छन्। नेपाल प्रहरीले अनुसन्धान गरिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणले सक्कली भुटानी शरणार्थीको पहिचान भएको छ। झापा र मोरङका शिविरमा आश्रय लिएका मध्ये १ लाख १९ हजार भुटानी तेस्रो देश पुर्नवास भए।

अझै ६ देखि ७ हजार भुटानी शरणार्थी झापाको बेलडाँगी शिविरमा बसिरहेका छन्। तेस्रो देश पुर्नवास कार्यक्रम बन्द भएपछि पनि कोभिड १९ अगाडिसम्म भुटानबाट भागेर नेपाल पस्ने क्रम चलिरहेको थियो। कोभिडबाट बच्न आवतजावतमै प्रतिबन्ध लगाएपछि भुटानी नागरिक नेपालमा आश्रय लिन आउने क्रम बन्द भयो।

बन्द हुनु अघि आएकाहरू पनि तेस्रो देश पुर्नवास नभएका भुटानी बसेकै शिविरमा बसिरहेका छन्। उनीहरूले परिचय पत्र पाएका छैनन्। परिचयपत्र पाएकाहरूको नवीकरण भएको छैन। शिविरमा कसैको चासो छैन। नेपाल सरकारले भुटान सरकारसँग कुरा गरेको छैन। सुरुदेखि नबोलेको भारत अहिले पनि मौन छ।

नेपाली भाषी भुटानी नागरिकलाई उनीहरूकै देश फर्काउने विषयमा नेपाल सरकारले पन्ध्रौँ चरणसम्मको वार्ता गर्‍यो। वार्ता कुनै टुङ्गोमा नपुगे पछि शरणार्थी तेस्रो देश पुर्नवास भएका हुन्। भुटानी राजाले आफ्ना नागरिक लैजाने सङ्केत अहिले पनि देखाएका छैनन्। राहदानीमा जन्म देश भुटान लेखिएका कारण भुटानी नागरिकले आफ्नो देश जान पाउने भिसा नै पाउँदैनन्।

अरू जुनसुकै देश जान पाइने भए पनि आफूहरूले भुटान जाने भिसा पाउन नसकेको नेदरल्याण्डमा बसोबास गरिरहेका भुटानका बन्दी रिहा अभियानका अन्तर्राष्ट्रिय संयोजक राम कार्की बताउँछन्। आफ्नो देश बस्ने गरी नभए पनि घुम्ने गरी समेत जान नपाएको पीडामा अन्तर्राष्ट्रिय समुदाय बोलिदिनु पर्ने शरणार्थीहरूको माग छ।

नेपाल सरकारले शरण लिएर बसेका भुटानी नागरिकको नाममा नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने दुर्गन्धित काम गरेको आरोप लागेको छ। सरकारका उपप्रधानमन्त्री, मन्त्री, सचिव समेतको संलग्नतामा भएको देशकै बेइज्जत गर्ने कामको अनुसन्धानले सक्कली भुटानीलाई जुरुकजुरुक पारेको छ।

उनीहरू शरणार्थीलाई आफ्नो देश फर्काउन नचाहनुको कारण पनि मागिरहेका छन्। पैसा कमाउने मुहान ठानेर सक्कली भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधान गर्न कुनै पार्टीका नेताले नबोलेको आरोप समेत लागेको छ। सडकदेखि संसद्सम्म नक्कली शरणार्थी प्रकरणको आवाज बुलन्द भए पनि सक्कली शरणार्थीको दीर्घकालीन समाधानका लागि नयाँ र आशा लाग्दा भ्रष्टाचार विरोधी नेताहरू तथा बुद्धिजीवीहरूले एक शब्द बोलेका छैनन्।

नेपाली नेताहरूको चरित्र माथि नै यसले शङ्का उब्जाएको शरणार्थीहरू बताउँछन्। नेपाली नागरिकलाई शरणार्थी शिविरमा रहेका भुटानी बनाएर अमेरिका पठाउने धन्दा गर्ने बाटो बन्द नगर्न शरणार्थीको दीर्घकालीन समाधान नचाहेका त होइन? भनेर उनीहरूले प्रश्न पनि गरेका छन्।

नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई राज्य द्रोह मुद्दा चलाउन सङ्कल्प प्रस्ताव दर्ता भएको छ नेपालको संसद्मा। तर, शरणार्थी शिविर खाली गराउन पहल गर्ने समेत उल्लेख छैन सङ्कल्प प्रस्तावमा। संसद्को बजेट अधिवेशन सुरु भएपछि बसेका हरेक बैठकमा नक्कली शरणार्थी प्रकरणले चर्चा पाउँदा सक्कली शरणार्थीको समस्या समाधानमा सांसदहरू बोलेका छैनन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणप्रति सदन र सरकारलाई उत्तरदायी बनाउन आवश्यक निर्देशन दिन सङ्कल्प प्रस्ताव दर्ता गराएकी छन्। ‘भ्रष्टाचार (घुस, सरकारी कागजात किर्ते, नीतिगत भ्रष्टाचार), सङ्गठित अपराध (मानव तस्करी) र राष्ट्र द्रोह – विषयान्तर गर्न दिने छैनौँ’उनले सामाजिक सञ्जालमा लेखेकी छन्,‘अति भो।

उनले भुटानी शरणार्थीको दीर्घकालीन समाधानबारे भने केही बोलेकी छैनन्।

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पनि दीर्घकालीन समाधानबारे बोलेनन्। नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेकालाई निलम्बन गर्नु पर्ने र व्यक्तिले गर्ने अपराधको भारी पार्टीले बोल्न नसक्ने उल्लेख गरेका महामन्त्री थापाले भुटानी शरणार्थी शिविर खाली गराएर दीर्घकालीन समाधानको उपाय सुझाएका छैनन्।

नेपालका जनतादेखि नेता र सरकारसम्म नक्कली शरणार्थी प्रकरणमा लाग्दा सक्कली भुटानी शरणार्थीको बिचल्ली हुने चिन्ता शरणार्थीहरूले व्यक्त गरेका छन्। नक्कली बनाउनेलाई कारबाहीसँगै सक्कलीलाई न्याय दिलाउने काममा लाग्न उनीहरूले सुझाव पनि दिएका छन्।

के बोले गगनले?

भ्रष्टाचार विरुद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे धारणा

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षका कारण युगान्तकारी राजनीतिक परिवर्तन त भए, तर नेपाली जनताको अपेक्षा अनुसार आर्थिक विकास, सामाजिक रूपान्तरण र सुशासनको प्रत्याभूति हुन सकेको छैन। यस्तो किन हुन सकेन? आम जनताको प्रश्न छ। यसको एउटा प्रमुख कारण भ्रष्टाचार र कुशासन नै हो। विगत लामो समयदेखि हाम्रो शासकीय संरचनामा प्रवृत्ति कै रूपमा जरो गाडेर बसेको भ्रष्टाचार र कुशासनले गर्दा सरकार, राजनीतिक दल, राजनीतिकर्मी, नीति निर्माता, कर्मचारीतन्त्र लगायत राज्यका निकायप्रति व्यापक असन्तुष्टि, आक्रोश र वितृष्णा छ।

यस्तो प्रवृत्ति विरुद्ध पछिल्ला दिनमा नागरिक तहमा प्रतिरोध प्रारम्भ भएको छ, जुन जायज र स्वाभाविक छ। यसका विरुद्ध भइरहेका तमाम नागरिक आन्दोलन र अभियानप्रति ऐक्यबद्धता प्रकट गर्दछु। अब कुनै पनि व्यक्ति, समूह वा राजनीतिक दल कि यो प्रतिरोधमा नागरिकका साथ उभिनुपर्छ कि भ्रष्टहरूको समर्थनमा, बीचको बाटो कसैसँग पनि छैन।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने पछिल्लो प्रकरणको अनुसन्धानका क्रममा ’ठगी गिरोहको भिआइपी जालो र भ्रष्टाचारको सङ्गठित प्रवृत्ति’ उजागर भएको छ। यो प्रकरण सबैको मापन गर्ने विषय बनेको छ–हामी कुन प्रवृत्तिको पक्षपोषण गर्न उभिन्छौँ? हामी कस्तो समाज र संस्कृति निर्माण गर्न चाहान्छौं? मैले यस विषयमा विभिन्न सञ्चार माध्यमलगायत संसद्को समेत ध्यानाकर्षण गराइसकेको भए पनि केही कुरा दोहोर्‍याउन सान्दर्भिक ठानेको छु :

१. नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने प्रकरण ठगीको विषय मात्र होइन यो सङ्गठित अपराध हो, मानव बेचबिखन हो। यो नेपाली नागरिकको अनादर मात्र होइन देश द्रोह नै हो। तसर्थ, यस्तो जघन्य अपराधमा संलग्न जो कोही हुन्, हदैसम्मको सजायका भागिदार छन्।

२. हालसम्म यस प्रकरणमा सरकार र नेपाल प्रहरीले गरेको प्रयास प्रशंसनीय छ। अपराधमा संलग्न जोसुकै हुन, जुनसुकै परिवार, पद र पार्टीका किन नहुन्, निष्पक्ष छानबिन हुनुपर्छ। कुनै पनि बहानामा अनुसन्धान प्रक्रियामा अवरोध, ढिलासुस्ती, दबाब वा प्रभाव पारिनु हुँदैन। पर्दा पछाडिबाट त्यस्तो दुष्प्रयास गर्नेहरूको भण्डाफोर गर्नुपर्छ।

३. विधिको शासन र कानुनको दृष्टिमा सबै नागरिकहरू समान हुन्छन्। अपराधमा संलग्न भइसकेपछि अपराधको दल, वर्ण, जात, लिङ्ग वा समुदाय हुँदैन, हुनुहुँदैन। दोषी छ भने जस्तोसुकै शक्तिशाली र प्रभावशालीले पनि उन्मुक्ति पाउनु हुँदैन; तर निर्दोष छ भने अन्यायमा पनि पर्नु हुँदैन। अनुसन्धानको स्वतन्त्र र स्वाभाविक दिशाले निर्दिष्ट गरेको अन्तिम विन्दुसम्मै अनुसन्धान हुनुपर्छ।

४. विधिको शासनको स्थापित मान्यता र अभ्यास अनुसार फौजदारी अभियोग र भ्रष्टाचारको मुद्दामा कुनै व्यक्ति अनुसन्धानको दायरामा आएपछि उक्त व्यक्ति सार्वजनिक पद वा भूमिकाबाट स्वतः निलम्बित हुन्छ, हुनुपर्छ। पदमा भएको व्यक्तिले आफूलाई त्यसबाट अलग राख्नुपर्छ अन्यथा सम्बन्धित निकायले अलग गराएर स्वतन्त्र अनुसन्धानको मार्ग प्रशस्त गर्नुपर्छ। अनुसन्धानबाट निर्दोष साबित भए पुनर्स्थापना हुन्छ नै। यो कानूनीमात्र होइन न्यूनतम नैतिक विषय पनि हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा यो नै नेपाली काँग्रेस पार्टीको धारणा हो। नेपाली काँग्रेस पार्टीका लाखौँ आम सदस्यहरूको धारणा हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो पक्राउ परेका व्यक्तिको निजी विषय हो। पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्छ। तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन।

पार्टीको तर्फबाट हामीले भन्ने यतिमात्र हो– अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नुहुन्न, दोषीले सजाय पाउनुपर्छ। दोषी र निर्दोष छुट्ट्याउने कानुनी प्रक्रियाबाट हो। यति गम्भीर आरोप लाइसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्छ अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ। पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा मैले यो विचार राखेको छु। पार्टीभित्र, बाहिर, औपचारिक, अनौपचारिक बैठक सबैमा हिजो पनि, आज पनि र भोलि पनि मेरो धारणा यही नै रहनेछ। पार्टीका कतिपय साथीहरूबाट नेपाली काँग्रेसको यस्तो परम्परा नभएको भन्ने विचार पनि आएका छन्। यसमा पनि म प्रस्ट छु– गलत परम्परा तोडिनु पर्छ। परम्पराका नाममा घातक प्रवृत्तिलाई पार्टीले बोक्न सक्दैन, बोक्नु हुँदैन। मेरो यो विचारलाई पार्टीको विचार बनाउन म निरन्तर लागेको छु, लागिरहनेछु।

अतः हामी काँग्रेस प्रस्ट हुनुपर्छ:–

१. नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली काँग्रेस र यस पार्टीसँग आबद्ध कुनै पनि सदस्यले छानबिन प्रक्रियालाई सघाउने हो, आरोपित व्यक्ति निर्दोष भए छुट पाउँछ, अपराध गरेको भए कानुन बमोजिमको सजाय पाउनै पर्छ। जबसम्म अनुसन्धान हुन्छ, निलम्बन हुने कुरा स्वाभाविक हो र पार्टीका साथीहरूले त्यही अनुसार बुझ्नुपर्छ। परम्पराका नाममा यसलाई अपव्याख्या गर्ने, सामान्यीकरण गर्ने, र पार्टीको कुनै पनि तह, पद वा साङ्गठनिक संरचनालाई दुरुपयोग गरेर पक्षधरता लिने काम तत्काल रोकिनु पर्छ।

२. नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै होइन, अख्तियारको दुरुपयोग, भ्रष्टाचार, आर्थिक अनियमितता, सार्वजनिक पदको दुरुपयोग जस्ता विगतमा भएका अन्य मुद्दाहरूको पनि निष्पक्ष अनुसन्धान र छानबिन गरी दोषीलाई कारबाही गर्न र सुशासन कायम गर्न दृढतापूर्वक नेपाली काँग्रेसले नेतृत्व लिनुपर्छ।

३. भ्रष्टाचारको एउटा महत्त्वपूर्ण कारण र आधार नीतिगत भ्रष्टाचार बनेको छ। नीतिगत विषयमा ठुला र शक्तिशाली भ्रष्टाचारका कार्य भइरहेका प्रसङ्ग उठेका छन्। त्यसैले, विगतमा नीतिगत निर्णयका नाममा तामेलीमा रहेका वा अनुसन्धानको दायरामा नआएका भ्रष्टाचारका विषयहरू समेत अनुसन्धानको दायरामा ल्याउनु पर्छ। भ्रष्टाचार सम्बन्धी कसुरमा हदम्याद हटाउनु पर्छ। यसका निम्ति संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार सम्बन्धी दुईवटा ऐन संशोधन विधेयक विचाराधीन छन्। हामी नेपाली काँग्रेसका सांसदहरूले यी विषयलाई संशोधनमा राखेका छौँ। यी विषय लगायत भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानुनी, संरचनागत र संस्थागत सुधार गर्ने जुन वातावरण ऐले बनेको छ, त्यसको नेतृत्व र अग्रसरता काँग्रेसले नै लिनुपर्छ।

अन्त्यमा, अनुहारमा दाग लागेपछि ऐना जतिपटक पुछे पनि अनुहारको दाग पुछिँदैन, अनुहारकै दाग पुछ्नु पर्छ। त्यसका लागि पार्टीभित्र शुद्धीकरणको अपरिहार्यतालाई बोध गर्दै पार्टीका प्रत्येक सदस्यले दृढ सङ्कल्प गर्ने बेला आएको छ। सुशासन र सदाचार नै समुन्नत नेपाल निर्माणको आधारशिला हुन्। त्यसैले तिनको पक्षमा दृढतापूर्वक उभिन र जहाँ हुनुहुन्छ त्यहीबाट भ्रष्टाचार र कुशासनका विरुद्धमा पार्टीभित्र र बाहिर आवाज उठाउन, दबाब दिन र खबरदारी गर्न पार्टीका सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछु। जय नेपाल!

सम्बन्धित समाचार

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading