नक्कली भुटानी शरणार्थी : अब अदालतमा थुनछेक बहस

नक्कली भुटानी शरणार्थी : अब अदालतमा थुनछेक बहस

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रमुख योजनाकार मध्ये एक रहेको अभियोग पत्र दर्ता भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पेस गरेको अभियोग पत्रमा सानु भण्डारीबाट रायमाझीले एक करोड ६० लाख रुपैयाँ नगद बुझेको उल्लेख गरिएको छ।

रायमाझीका छोरा सन्दीपले बैङ्क खातामा ४० लाख रुपैयाँ राख्न लगाएको अभियोग पत्रमा लेखिएको छ। प्रहरीको दाबी अनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाँणले केशव दुलाल र सानु भण्डारीबाट १ करोड २४ लाख रुपैयाँ नगद बुझेको उल्लेख छ। रकम बुझेपछि मात्रै खाँणले भुटानी शरणार्थीसम्बन्धी समस्या समाधानका लागि सुझाव दिन गठित समितिको कार्यादेश थप गरेको अभियोग पत्रमा उल्लेख छ।

खाँणले पूर्वसभासद आङटावा शेर्पालाई प्रहरी हिरासतमा रहेका सानु र केशवलाई भेट्न पठाएर रकम फिर्ता गर्ने भन्दै बयानमा आफूलाई नपोल्न समेत भनेको अभियोग पत्रमा उल्लेख छ।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा पेस गरेको अभियोग पत्रमा शरणार्थी नेता टेकनाथ रिजाल पनि रकम लेनदेनमा संलग्नता रहेको उल्लेख गरिएको छ। रिजालले ११ लाख नगद बुझेको र ३४ नक्कली कार्डमा सहीछाप गरेको पाइएको दाबी सरकारी वकिलको कार्यालयले गरेको छ।

अर्का आरोपी पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईले पैसा उठाउँदै जग्गामा लगानी गर्ने गरेको खुलेको छ। नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै राईले साढे चार करोड रुपैयाँ लिएको पाइएको छ।

शरणार्थी प्रकरण छानबिन गरिरहेको नेपाल प्रहरीमाथि नै औलो तेर्सिएपछि प्रहरीले विज्ञप्ति निकालेर आइजिपी वसन्त कुँवरको नाम मुछिएको विषयमा आपत्ति जनाएको छ। शरणार्थी प्रकरणमा आइजिपीकै भूमिका शङ्कास्पद रहेको भन्दै छानबिनको दायरामा ल्याउन सांसदहरूले माग गरेका छन्।

आरोपित छुटाउन राजनीतिक तहमा पूर्बप्रधानमन्त्रीहरु मार्फत नै दबाब आउन सक्ने भन्दै गृहमन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा गुटबन्दी नगर्न चेतावनी दिएको छ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयमा प्रहरीसहितका उच्च कर्मचारीलाई बोलाएर अदालतमा मुद्दा दर्ता नहुँदै गोप्य सूचना किन र कसरी बाहिरियो भन्दै त्यसको समेत छानबिन गर्न भनेका छन्।

गृहमन्त्री श्रेष्ठले निर्देशन दिए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार बेलुकी बालुवाटार पुगेर छलफल गरेका छन्। प्रधानमन्त्री प्रचण्डसँग गृहमन्त्री श्रेष्ठसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि भेट गरेका बालुवाटार स्रोतले जानकारी दिएको छ।

३० जनाविरुद्ध पाँच मुद्दा

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नक्कली शरणार्थी प्रकरणमा संलग्न ३० जना विरुद्ध पाँच वटा अभियोगमा मुद्दा दर्ता गरेको जनाएको छ। राज्य विरुद्धको अपराध, ठगी, लिखत सम्बन्धी कसुर, सङ्गठित अपराध सम्बन्धी कसुर र एकीकृत कसुरमा कारबाही गर्न जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको कार्यालयले जनाएको छ।

टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, डा. इन्द्रजित राई, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, शमशेर मिया, टङ्क कुमार गुरुङ, सागर राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, विक्रम भन्ने गोविन्द चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजालविरुद्ध पाँच वटा कसुरमा कारबाही गर्न मुद्दा दर्ता गरेको हो। पक्राउ र फरार सबैलाई पाँचै वटा मुद्दा लगाइएको सरकारी वकिलको कार्यालयका प्रवक्ता लक्ष्मण घिमिरे उपाध्यायले जानकारी दिए।

नक्कली शरणार्थी प्रकरणमा फरार रहेका प्रतीक थापा, केशव तुलाधर, लक्ष्मी महर्जन, धिरेन राई, मोहन राज राई, दिपा हुमागाईँ, सुनिल बुढाथोकी, विनीता सावदेन लिम्बु, निरञ्जन कुमार खरेल, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल, नीरज राई, आशिष् बुढाथोकीको नाममा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम अदालतबाट पक्राउ पुर्जी जारी गर्न अनुरोध समेत गरिएको कार्यालयले जनाएको छ।

पक्राउ परेका र फरार भएकाहरूसँग २८ करोड ८१ लाख ७४ हजार ५ सय बिगो माग दाबी गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए। उनीहरूलाई कम्तीमा १५ वर्ष जेल सजाय हुनु पर्ने दाबी गरिएको उनले बताए।

अब अदालतमा थुनछेक बहस हुनेछ। दोषी ठहर भए जेल चलान हुनेछन् भने निर्दोष देखिए रिहा हुने प्रवक्ता उपाध्यायले जानकारी दिए। ‘बयान हुन्छ, त्यसपछि थुनछेक बहस हुन्छ, त्यसपछि प्रमाण मुकरर हुन्छ, त्यसपछि फैसला हुन्छ,’उनले पहिचानसँग भने,‘त्यसपछि जेल जाने जान्छन्, छुट्ने छुट्छन्।’

संसद्मा चर्काचर्की

प्रतिनिधिसभामा नक्कली भुटानी शरणार्थी प्रकरणले चर्काचर्की परेको छ। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूले प्रकरणमा मुछिएकाहरूको बयानसमेत नलिइएको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा, बालकृष्ण खाँणकी पत्नी मञ्जु लगायतसँग बयानसमेत नलिइएको भन्दै प्रधानमन्त्रीलाई किन मुटु कमाउनुभएको हो? भनेर सोधेका छन्।

बालुवाटार, सिंहदरबार, मन्त्री क्वाटरमा करोडौँ पैसा बुझाएको बयान आए पनि नाम पोलिएकाहरूको बयान लिने कामसमेत नभएको भन्दै उनले प्रधानमन्त्रीको मुटु काँपेको भए अस्पतालमा जाँच गराउनुपर्ने बताए।

नक्कली भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्स्थापित गर्न आफूले प्रमुख भूमिका खेलेको संसद्मै बताएका एमाले अध्यक्ष केपी शर्मा ओली र टेलिभिजनमा कसम खाने आरजुतर्फ लक्षित गर्दै रविले हिलो लाग्छ भने प्रहरी कार्यालयसम्म रेड कार्पेट बिछ्याएरै भए पनि बयान लिन प्रहरीलाई आग्रह गरे।

राज्यका निकाय र अनुसन्धान गर्ने अधिकारीका प्रमुखहरूको नाम आइरहँदा समेत सामान्य सोधपुछसमेत नगरिएको भन्दै उनले विशेष संसदीय समिति बनाउन माग गरे।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पनि यो प्रकरणमा नाम मुछिएका सबैमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए। ओलीतर्फ सङ्केत गर्दै उनले बार्दलीको मान्छे भए पनि छानबिन हुनुपर्ने बताए।

रवि र गगनले ओलीतर्फ शङ्काको सुइँ घुमाए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराइले पार्टीका जोसुकैको नाम आए पनि बयान दिन जाने बताए। संसद् भवनबाट बाहिरिने क्रममा उनले ओलीका स्वकीय सचिवको नाम होइन अध्यक्षकै नाम आए पनि बयान दिन जाने बताए।

राजावादी पार्टी राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सरकारले भ्रष्टाचार नियन्त्रणमा पहल कदमी नलिए आफ्नो दलले भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने र त्यो आन्दोलन राज्यले थेग्न नसक्ने चेतावनी दिए।

सम्बन्धित समाचार

नक्कली शरणार्थी प्रकरणमा एक-अर्कालाई पोलापोल, काँग्रेस र एमाले आक्रोशित

नक्कली शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध मुद्दा, २७ करोड ५० लाख बिगो दाबी

टेकनाथ रिजालको बयान, ‘जसले आश्रय दियो, उसैले फसायो’

‘नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालमाथि भ्रष्टहरूको प्रतिशोध’

पञ्चायतकालमा पनि पक्राउ परेका थिए टेकनाथ रिजाल, अहिलेको गिरफ्तारीले संशय (भिडियो)

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading