नक्कली शरणार्थी प्रकरणमा एक-अर्कालाई पोलापोल, काँग्रेस र एमाले आक्रोशित

नक्कली शरणार्थी प्रकरणमा एक-अर्कालाई पोलापोल, काँग्रेस र एमाले आक्रोशित

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूले एक अर्कालाई दोषी देखाएका छन्। बयानका क्रममा उनीहरूमध्ये कतिले आफै पीडित बनेको समेत बताएका छन्। कतिले आरोप इन्कार गरेका छन्।

सुरुमा इन्कारी बयान दिएका केशवप्रसाद दुलालले आफूले २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई बालुवाटारमै पुगेर १ करोड रुपैयाँ दिएको बयान दिएका छन्।

दुलालले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको मन्त्री क्वाटर पुलचोकमै पुगेर ३ करोड रुपैयाँ दिएको, बादलका छोरालाई २०७६ सालमा १ करोड रुपैयाँ दिएको, तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई इन्द्रजित राईमार्फत गृह मन्त्रालयका सचिवको कार्यकक्षमा २०७६ असारमा ३ करोड रुपैयाँ दिएको बयान दिएका छन्।

दुलालले आफ्नो बयानमा तत्कालीन प्रधानमन्त्री ओलीका पूर्वसल्लाहकार डा. अजय क्रान्ति शाक्य र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका स्वकीय सचिव राजेश्वर स्थापितलाई मन्त्री क्वाटरमा १÷१ करोड रुपैयाँ दिएको पनि भनेका छन्।

अर्का मुख्य योजनाकार सानु भण्डारीले आफूलाई डा. इन्द्रजीत राईले अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको बयान दिएका छन्।

अधिकार प्राप्त सरकारी अधिकारी समक्षको बयानमा भण्डारीले तत्कालीन गृहमन्त्री ‘बादल’ का सुरक्षा सल्लाहकार रहेका राईले आफूलाई अमेरिका पठाइदिन्छु भन्दै रकम लिएको तर काम नगरेको बताएका हुन्। भण्डारीले आफूले कसैलाई पनि अमेरिका पठाइदिने भन्दै कुरा नगरेको, रकम नदिएको र नलिएको जिकिर गरेका छन्।

पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कार्यकालमा मन्त्रालयबाट प्रतिवेदन फेरबदल भएको काममा आफू संलग्न नभएको बयान दिएका छन्। आफूले भुटानी शरणार्थीहरूलाई मानवीय रूपमा निकै सहयोग गरेको दाबी गर्दै खाँणले नक्कली शरणार्थी प्रकरणमा आफू संलग्न नभएको जिकिर गरेका हुन्।

पक्राउ पर्नुअघि नै मोबाइल सेट (फर्म्याट) गरेका उनले बयानका क्रममा त्यसबारे कुनै जानकारी नभएको बयान दिएका छन्। खाँणका पिए नरेन्द्र केसीले आफूले पूर्वसांसद आङटावा शेर्पासँग पटक–पटक कुराकानी गरेको भए पनि त्यसबारे सम्झना नभएको बताएका छन्।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले अनुसन्धान प्रयोजनका क्रममा सूचना सङ्कलन एवं विश्लेषणका लागि आफूले शरणार्थी प्रकरणका गिरोहसँग सम्पर्क गरेको दाबी गरेका छन्।

पक्राउ परेपछि प्रहरीसँगको बयानका क्रममा उनले सूचना सङ्कलनका लागि विवादास्पद व्यक्तिसँग सम्पर्क भएको र भुटानी शरणार्थीको प्रक्रिया टुङ्ग्याउन त्यसको उपयोग गरिएको दाबी गरेका हुन्।

आफ्नै कार्यकालमा भुटानी शरणार्थीको नाममा नेपालीलाई विदेश पठाउने चलखेल रोकिएको भन्दै सचिव पाण्डेले शरणार्थीको नाममा उठाएको पैसा फिर्ता गर्नु परेपछि बिचौलियाले प्रतिशोधको रूपमा आफ्नो नाम मुछेको दाबी गरेका छन्।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका हज समितिका अध्यक्ष शमशेर मियाँले आफूले प्रयोग गरेको सरकारी गाडी सन्देश शर्मालाई प्रयोग गर्न दिएको स्वीकारेका छन्। पक्राउ परेपछि सरकारी वकिलको रोहवरमा प्रहरीलाई बयान दिने क्रममा शर्माले पारिवारिक समस्या बताएपछि आफूले गाडी दिएको र त्यसबाहेक अरू थाहा नभएको दाबी गरेका छन्।

‘सन्देश शर्माले पारिवारिक समस्या छ भनेर गाडी माग गरेकोले केही दिनको लागि चालकलाई गाडी छाड्न भनेको हुँ’ मियाँको बयान उद्धृत गर्दै स्रोतले भन्यो, ‘सन्देश शर्मालाई पटक–पटक ताकेता गर्दा ५÷६ दिनपछि मात्र सन्देश शर्माले गाडी ल्याई रेस्टुरेन्टमा छाडेका हुन्।’

आफू रामबहादुर थापा बादलको कार्यकालमा हज समितिको अध्यक्षमा नियुक्त भएको, बादलका छोरा प्रतीक थापासँग सन्देश शर्मा प्रायजसो सँगसँगै रहने भएकाले चिनाजान भएको उनले बयानमा स्वीकारेको स्रोतले बताएको छ।

नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई सघाएको आरोपमा पक्राउ परेका सक्कली भुटानी शरणार्थीका नेता टेकनाथ रिजालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने योजनामा पक्राउ परेकाहरू १४ वर्ष अगाडिदेखि नै सक्रिय रहेको बताएका छन्।

टोपबहादुर रायमाझी, सानु भण्डारी, केशव दुलाललगायतले भुटानी शरणार्थीहरूलाई तेस्रो मुलुकमा पुनर्स्थापना गर्ने र केही नेपालीहरू समेतलाई भुटानीहरूकै नाममा लैजाने योजना सुनाएको दाबी गरेका छन्। यो गिरोहलाई अमेरिकामा रहेका अशोक पोखरेलले सघाएको उनको दाबी छ।

भुटानीहरूलाई तेस्रो देशमा लैजाँदा केही नेपालीहरू घुसेर भुटानीको नाममा अमेरिका समेतका मुलुकमा गएका रिजालले बयानले अमेरिका पुगेका ९६ हजार भुटानी शङ्काको घेरामा परेका छन्।

भुटानी शरणार्थी समस्या समाधान गर्न बनेको कार्यदलको प्रतिवेदनमा उल्लेख भएअनुसार नेपालबाट कुन(कुन व्यक्ति भुटानी शरणार्थीको रूपमा कुन देश गए भन्ने विवरण गृह मन्त्रालयमा समेत छैन।

बयानमा रिजालले गैर भुटानीलाई भुटान मानवअधिकार सङ्गठनको सदस्य बनाएको केही कार्डमा हस्ताक्षर गरेको तर कसैसँग आर्थिक लेनदेन नभएको दाबी गरेका छन्।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। प्रहरीले यसअघि लिएको म्याद सकिएसँगै मङ्गलवार जिल्ला अदालतमा उपस्थित गराएको थियो। जसअनुसार अदालतले जिल्ला प्रहरी परिसर काठमाडौँलाई उनीहरूलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो।

प्रहरीले शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ। यस प्रकरणमा प्रहरीले ३३ जनाविरुद्ध प्रमाण पेस गरेको छ। अझै १७ जना फरार सूचीमा छन्। उनीहरूमाथि सङ्गठित ठगी, किर्तेसम्बन्धी कसुर र राज्यविरुद्धको अपराधको कसुर लगाउन भनिएको छ।

सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययन सकेर अदालतमा मुद्दा दायर गर्नेछ। बुधवारसम्म प्रहरीको प्रतिवेदन अध्ययन सकेर मुद्दा दर्ता गर्ने तयारी रहेको सरकारी वकिलको कार्यालयले जनाएको छ। यस घटनामा एक सय १३ जनाले साढे २७ करोड ठगी भएको भनी २२ वटा जाहेरी प्रहरीमा दर्ता गरेका थिए।

काँग्रेस र एमाले आक्रोशित

सत्तारुढ नेपाली काँग्रेस र प्रतिपक्षी नेकपा एमालेको उच्च नेतृत्वले नक्कली भुटानी शरणार्थी प्रकरणबाट उन्मुक्ति खोजिरहेको देखिएको छ। पार्टीबाट मन्त्री बनिसकेका नेतासमेत पक्राउ परेपछि काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका नेताहरू भ्रष्ट हुनै नसक्ने जिकिर गरेका छन्।

जनसङ्गठन पदाधिकारी भेलालाई काठमाडौँमा सम्बोधन गर्दै ओलीले सामाजिक सञ्जाल र मिडियालाई प्रयोग गरेर योजनाबद्ध रूपमा करकापमा एमालेको नाम उच्चारण गर्न लगाएर सह्य नहुने चेतावनी नै दिएका छन्।

‘नक्कली भुटानी शरणार्थीको नाममा मानिस विदेश पठाउने कुरामा नेकपा एमाले संलग्न थिएन, छैन, हुने छैन,’ओलीले भने,‘करकापसहित मान्छेलाई नाम उच्चारण गर्न लगाएर नेकपा एमालेलाई कतै मुछ्न खोजिन्छ, नेकपा एमालेतिर हिलो छ्याप्न खोजिन्छ भने त्यो कुरा एमालेलाई सह्य हुँदैन।’

एमालेभित्र रहेका कसैले कुनै प्रकारको अनुचित अनैतिक वा भ्रष्ट क्रियाकलाप गर्छ भने त्यस्तालाई कारबाही गर्न पार्टी आफै सक्षम रहेको ओलीको भनाई छ। ‘हामीलाई भ्रष्टाचार प्यारो हुन सक्दैन’ भनेका ओलीले ७० करोड काण्डमा तत्कालीन मन्त्री गोकुल बास्कोटालाई आफैले निर्दोष ठहर गरेका थिए।

अहिले माओवादीबाट एमालेमा आएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला, छोरा प्रतीकलगायत छानबिनको दायरामा परेको र अर्का पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ नै परे पछि अध्यक्ष ओली जोगाउन नसक्ने अवस्थामा पुगेका छन्।

ओलीले बादल परिवार, आफ्नै पूर्वस्वकीय सचिवलाई जोगाउने हुङ्कार गरिरहेका बेला काँग्रेस सभापति देउवा भने पूर्वगृहमन्त्री खाँण पैसामा बिक्ने व्यक्ति नभएको दाबी गरिरहेका छन्।

देउवालाई भेट्न उनकै निवासमा पुगेका काँग्रेसका नेता कार्यकर्ताको एक टोलीलाई सभापति देउवाले खाँणको विषयमा चिन्ता नगर्न भनेका छन्।

‘तपाईँहरू धेरै चिन्ता नगर्नुस्। मिडियाले दोषी बनाएर हुँदैन। पुलिसले मात्रै दोषी बनाएर पनि हुँदैन,’ देउवाले भने,‘विना प्रमाण दोषी बनाउन कहाँ पाइन्छ र?,‘खाँणजी पैसामा बिक्ने खालको मान्छे होइन।’ यसअघि देउवा पत्नी आरजु राणाले आफ्नो मुछिएपछि खाँणले गल्ती गरेको हुनसक्ने बताएकी थिइन।

सम्बन्धित समाचार

नक्कली शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध मुद्दा, २७ करोड ५० लाख बिगो दाबी

टेकनाथ रिजालको बयान, ‘जसले आश्रय दियो, उसैले फसायो’

‘नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालमाथि भ्रष्टहरूको प्रतिशोध’

पञ्चायतकालमा पनि पक्राउ परेका थिए टेकनाथ रिजाल, अहिलेको गिरफ्तारीले संशय (भिडियो)

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading