नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजालले नै दिएका थिए प्रहरीमा निवेदन

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजालले नै दिएका थिए प्रहरीमा निवेदन

सक्कली शरणार्थीको पुनर्मिलन कार्यमा ढिलासुस्ती

काठमाडौँ : नेपाली नागरिकलाई भुटानी नागरिक बनाउने खेलमा सक्कली नेता मुछिएको प्रकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पाएको छ। भुटानी राज्य सत्ताको अत्याचारविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा अभियान सञ्चालन गर्दै आएका टेकनाथ रिजाल नेपाल पुलिसको कष्टडीमा परेका छन्।

नेपालमा बसेर नेपाल राज्यविरुद्ध सङ्गठित अपराध गरेको कसुर रिजाललाई लगाइएको छ। रिजालले भुटान मानवअधिकार सङ्गठनको सदस्य बनाएर नेपाली नागरिकलाई भुटानी बनाउन सहयोग गरेको अभियोग छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा दर्ता गरेको अभियोगमा रिजालले नक्कली भुटानी बनाउन लेटर प्याड, आइडी कार्डको प्रयोग गर्न दिएको उल्लेख गरिएको छ।

सन् १९८९ मा भुटानबाट भागेर नेपाल आएका थिए रिजाल। त्यसताका नेपालको पञ्चायती शासन व्यवस्था थियो। राजा वीरेन्द्रको शासनकालमा रिजाल झापाबाट पक्राउ परेर विराटनगर हुँदै काठमाडौँ ल्याइए। काठमाडौँमा बयान दिएर उनी सहित जोगेन र सुशीललाई पनि ड्रुक एयरबाट भुटान पुर्‍याइएको रिजालले आफ्नो निर्वासन पुस्तकमा लेखेका छन्।

भुटानमा १० वर्ष जेल बसेर रिहा भएपछि पुन नेपाल आएका रिजाल भुटानी सरकारले खेदेका नागरिक फर्कन पाउनुपर्ने माग राखेर अन्तर्राष्ट्रिय समुदायसँग गुहार मागिरहेका थिए। पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, अमिक शेरचन, हृदयेश त्रिपाठीले भुटान सरकारसँग वार्ता गरेर स्वदेश फर्कने माग भुटानी राजा समक्ष राख्ने बचन दिएका थिए। ‘भुटानी जेलबाट रिहा भएर नेपाल आएपछि सबै नेताहरूले आश्रय दिनुभयो, म नेपालमै बसे,’रिजालले भन्ने गरेका थिए।

रिजालका अनुसार स्वर्गीय गिरिजाप्रसाद कोइरालाले भुटानी नागरिकको स्वदेश फिर्ता हुन पाउने माग भुटानी राजासँग राखेका थिए। कोइरालाको प्रधानमन्त्रीकै समयमा भुटानसँग वार्ता पनि सुरु भयो। १५ औँ चरणसम्मको वार्ता भने कुनै निष्कर्षमा पुग्न सकेन। भुटानले नेपाली भाषी आफ्ना नागरिकलाई देश फर्कने ढोका खुल्ला गर्न पटक्कै मानेन।

नेपालको झापा र मोरङका शरणार्थी शिविरमा बसेका आफ्ना नागरिकलाई भुटानले फिर्ता लैजान नमानेपछि शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय आयोगले तेस्रो देश पुर्नवासको कार्यक्रम ल्यायो। रिजालले भुटान फर्केर मात्रै तेस्रो देश पुर्नवास हुन पाउनुपर्ने अडान राखे। यही अडानका कारण रिजाल एक्लो परे। उनकै छोरा बुहारी, साथीभाइ आफन्तले तेस्रो देश पुर्नवास रोजे।

नेपालबाट ९६ हजार भुटानी नागरिक अमेरिका पुगे। तेस्रो देश पुर्नवास कार्यक्रम बन्द भएपछि पनि कोभिड १९ अगाडिसम्म भुटानी नागरिक नेपाल आएर आश्रय लिने क्रम चलिरह्यो। शरणार्थी शिविरमा अहिले पनि ६ हजार ५ सय भुटानी बसिरहेका छन्।

भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदनमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने काम भएको अभियोगमा पक्राउ परेका १६ जना मध्ये रिजाल एक हुन्।

पशुपति रिजालको नाति, दिनानाथ रिजाल र विष्णुमाया रिजालको छोरा, भुटान देश घर भएका भुटानी शरणार्थीका नेता कोसी प्रदेश जिल्ला झापा, बिर्तामोड कालीचोक बस्ने वर्ष ७५ का रिजालविरुद्ध पनि सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको छ।

रिजालले जाहेरवाला मध्येका प्रेमराज पन्थीलाई आफूले चिनेको बयान दिएका छन्। नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने कार्यमा भूमिका खेल्ने व्यक्तिका रूपमा पन्थीलाई ३ वर्ष अघिदेखि चिनेको भनेका छन्। अन्य जाहेरवालासँग आफ्नो चिनजान नरहेको रिजालको बयान छ।

पन्थीले दिएको जाहेरी दरखास्तमा काठमाडौँको नयाँबानेश्वर घर भएका बिदुर गौतमसँग पोखराको फूलबारी रिसोर्टमा चिनजान भएका राधाकृष्ण पोखरेलले भेट गराइदिएको लेखिएको छ। आफूले अमेरिका जाने चाहना राखेपछि गौतमले भक्तपुर शिरुटार घर हुने गोकुल थापासँग भेट गराई निजले आफू भुटानी शरणार्थीहरूको नेता टेकनाथ रिजालको पिए भएको बताएका थिए।

रिजालको सम्पूर्ण कामहरू हेर्ने मानिस भएकाले नेपालीहरूलाई भुटानीहरूसँग घुसाई भुटानी बनाई अमेरिका लैजान्छन् भनेका पन्थीले जाहेरीमा दरखास्तमा उल्लेख गरेका छन्।

२०७४ सालको कार्तिक/मङ्सिर महिनामा गोकुल थापाले काठमाडौँ गौशालामा रहेको शिबम होटेलमा रिजालसँग भेट गराएको पन्थीले उल्लेख गरेका छन्। ‘रिजालले गोकुल थापाको नाममा कागज कुरिएर गरी पठाएको छ भनेकोले गोकुल थापा र म सँगै गएर काठमाडौँको न्यूरोडबाट २०७४ पुस ११ भएको पाना ४ को प्रधानमन्त्रीलाई सम्बोधन गरी भुटानी शरणार्थीहरूको सम्बन्धमा लेखिएको कागजहरू पाना ४ गोकुल थापाले प्रधानमन्त्रीलाई दिने भनेर लिएको गएको, अमेरिका पठाउने कामका लागि एडभान्स बापत भनेर प्रति व्यक्ति २ लाखका दरले मेरा आफन्तहरू समेत १६ जनाले अमेरिका जान भनी ३२ लाख २०७४ चैत महिनामा गोकुल थापालाई बुझाएको,’पन्थीको जाहेरी दरखास्तमा लेखिएको छ,‘२०७५ सालको कार्तिक महिनासम्म कामको कुनै प्रोसेस नभएको र गोकुल थापाको बानी ब्यहोरा ठिक नलागेकोले निजसँग मैले रकम माग गरेपछि निजले २२ लाख तत्काल र पछि भेषराज शर्मा लम्साल मार्फत १० लाख फिर्ता गरे।’

२०७५ साल फागुन महिनामा भेषराज शर्मा लम्सालले आफूलाई पोखरा बोलाएर रिजालसँग मोबाइलमा हेन्सफ्रीमा राखी कुरा गरेर सुनाएको पन्थीले उल्लेख गरेका छन्। ‘अमेरिका जानेहरूले रिजालले सहीछाप गरेको कार्ड बनाउनु पर्छ भनेकाले म, मेरो पुरै परिवार, ससुराली तर्फका सबै जना समेतको करिब ५०/५५ जनाको र अन्यहरू ३५०/४०० जनाको फरक (नक्कली) नामबाट भुटान ह्युमन राइट अर्गनाइजेशनको मेम्बरशीप कार्ड बनाएको हो,’पन्थीको जाहेरीमा लेखिएको छ,‘कार्डहरू बनाउँदा टेकनाथ रिजालले पठाएको नामावली भनी ९/१० पानामा भएको नाम लिस्ट र भुटानको ठेगाना भएको लिस्ट दिई सोही नामबाट क्रमैसँग भर्नु भनेको हुँदा लिस्टमा भए बमोजिमको जन्म मिति मिल्दोजुल्दो नाम र ठेगाना भरी आफ्नो फोटो टाँस गरी कार्ड बनाएको र मलाई भेषराजले केशव दुलालको कोठामा लिएर गएको र टेकनाथ रिजालको सही भई सकेपछि कार्ड आफैसँग राखी कार्डको फोटो हाम्रो मोबाइलबाट खिच्न लगाएका हुन्।’

उनले फारम वितरण गरी रकम सङ्कलन गर्ने काम सानु भण्डारी, केशव प्रसाद दुलाल र भेषराज शर्मा लम्सालले गरेका पन्थीको जाहेरीमा उल्लेख गरिएको छ। फारम भराउँदाको दिनमा सानु, केशव र भेषराजले कुल एक करोड ४७ लाख पचास हजार रकम नगदै सङ्कलन गरेका पन्थले जाहेरी दिएका छन्। ‘पटक पटक गरी कुल चार करोड एकाउन्न लाख भएकोमा मैले पहिलो गोकुल थापालाई दिएको ३२ लाख मध्ये २२ लाख फिर्ता पाएर बाँकी रहेको १० लाख समेत मैले नै तिरेको देखाई कुल चार करोड ६१ लाख म समेतले चुक्ता गरेको भनी हिसाब राखिएको थियो,’जाहेरीमा लेखिएको छ,‘यसपछि केशव दुलालले मलाई भने बमोजिम अरुण रेग्मीको ईनभेष्टमेन्ट बैङ्कको खातामा मैले तीन लाख जम्मा गरी दिएको थिएँ।’

जाहेरवाला पन्थीले कुल चार करोड ६४ लाख को जिम्मा मौखिक रूपमा केशव दुलाल, सानु भण्डारी र भेषराजले लिएको उल्लेख गरेका छन्। एभरेस्ट होटेल बानेश्वरको चौथो तलामा १ पटक टोपबहादुर रायमाझीलाई भेट्दा कुनै टेन्सन नलिनु काम पक्का हुन भनेका पन्थीको जाहेरी दरखास्तमा उल्लेख छ। २०७८ मङ्सिर २ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा इन्द्रजीत राई समेतले रकम लिई अमेरिका पठाउने काम नगरेको र सो कुरामा प्रमुख आयुक्त प्रेमकुमार राईको समेत नाम जोडिएको भन्ने ब्यहोरा उल्लेख गरी उजुरी गरेको पन्थीले उल्लेख गरेका छन्।

प्रेमराज पन्थीको जाहेरी दरखास्तमा टेकनाथ रिजालले रकम बुझेको उल्लेख छैन। रिजालले आफ्नो बयानमा जाहेरवाला समेतका नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी पीडितहरूबाट रकम लिने कार्यमा प्रतिवादीहरू केशव दुलाल, सानु भण्डारी, राम शरण केसी, प्रेमराज पन्थी, ईन्द्रजित राई र टोपबहादुर रायमाझी संलग्न छन् भन्ने आफूलाई थाहा भएको उल्लेख गरेका छन्।

नेपालमा बाँकी रहेका भुटानी शरणार्थीहरू मध्ये तेस्रो मुलुकमा पुनर्स्थापना हुन चाहनेहरूलाई तेस्रो मुलुकमा पुनर्स्थापना गर्ने र केही नेपालीहरूलाई भुटानीहरूकै नाममा अमेरिका समेतका मुलुकमा लैजाने हाम्रो योजना छ, सो मा तपाईँले सहयोगी भूमिका खेलिदिनु पर्‍यो भनेर टोपबहादुर रायमाझी, केशव दुलाल र सानु भण्डारीले भनेका रिजालले बयान दिएका छन्।

‘नेपाल सरकारका उच्च ओहदाका मानिसले मलाई त्यस्तो प्रस्ताव गरे पछि मैले सम्पूर्ण भुटानी शरणार्थीहरूको समस्या पूर्ण रूपमा समाधान हुनुपर्छ, नेपालीहरूलाई कहाँ लैजाने र कस्तो व्यवस्थापन गर्ने भन्ने मेरो विषय पनि होइन र मेरो पहुँचको कुरा पनि होइन,’रिजालले दिएको बयानमा लेखिएको छ,‘तर तपाईँहरू भुटानीहरूको नाममा नेपालीहरूलाई तेस्रो मुलुक लैजाने हो भने सो बाट भुटानीहरूलाई मर्का नपार्ने र निजहरूबाट रकम नलिने गरी मिलाउन सक्नु हुन्छ भने यसमा मेरो आपत्ति हुने छैन भनेको थिए।’

यसपछि नै टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव प्रसाद दुलालले गृह मन्त्रालयका मन्त्री र सचिव समेतसँग कुरा गरी कार्यदल समेत बनाई काम सुरु गरेका रिजालले बयान दिएका छन्। ‘म कसैलाई ठगी गर्ने कार्यमा परिपन्च मिलाउने, रकम लिने र खाने तथा ठगी गरेको रकम राख्ने समेतका कार्यमा मेरो संलग्नता छैन,’रिजालले दिएको बयानमा लेखिएको छ,‘नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी पीडितहरूबाट रकम लिने कार्यमा प्रतिवादीहरू केशव प्रसाद दुलाल र सानु भण्डारी संलग्न छन्। सो कार्यमा हाल अमेरिकामा रहेका अशोक पोखरेल पनि सानु भण्डारी र केशव दुलालका मतियार भई रकम लिने दिने कार्यमा संलग्न छन्।’

रिजालले भक्तपुरको सिरुटार घर हुने गोकुल थापा नाम गरेका व्यक्तिसँग २० वर्ष पहिले नेपाल आउँदाका बखत देखी नै चिनजान भएको रिजालले उल्लेख गरेका छन्। ‘जाहेरवाला प्रेमराज पन्थीसँग गोकुलले रकम मागेको र गोकुल थापाले निजलाई रकम फिर्ता गरेको बारेमा मलाई थाहा छैन,’रिजालले दिएको बयानमा लेखिएको छ,‘यस कामको सन्दर्भमा मलाई प्रेमराज पन्थीले कुनै कुरा गरेको होइन र मैले निर्देशन दिएको पनि होइन।’

रिजालले बयानमा नेपालमा बाँकी रहेका भुटानी शरणार्थीहरूको अगुवा भएकोले नेपालमा रहेका भुटानीहरूको तेस्रो देशमा पुनर्स्थापना, मानवीय सहायता र भुटान फिर्ताको सम्बन्धमा नेपाल सरकारले उचित पहल कदमी लिएको अवस्थामा को कुन नेपालीहरू भुटानीको नाममा अमेरिका जाने हुन भन्ने मेरो सरकारको विषय नै थिएन भनेका छन्।

रिजालले नेपाल सरकारबाट प्राप्त सुविधामा आश्रित रहेको मानिस भई तत्काल प्राप्त हुनुपर्ने सुविधाहरू रोकिई रहेको अवस्थामा सो सुविधा समेत प्राप्त हुने आश्वासन समेत प्राप्त भएको तथा सरकारी तवरमा टोपबहादुर रायमाझी र ईन्द्रजित राई मुख्य भई काम गरी रहेका तथा बाहिरबाट तत्काल कर्मचारीहरूको सरुवा बढुवा गराउन, आफ्ना लागि तुरुन्त सेवा सुविधा लिन सक्ने हैसियतका सानु भण्डारी र केशव प्रसाद दुलाल यस कार्यमा संलग्न भएकोले निजहरूको विश्वासमा केही कार्डहरूमा सहिछाप गरिदिएको रिजालले बयान दिएका छन्।

‘बाँकी कार्डहरू प्रविधिको दुरुपयोग गरी वा अन्य तवरबाट कसरी बनाएर भन्ने मलाई थाहा भएन। जनक कार्कीलाई म चिन्दिन, निज मेरो सल्लाहकार पनि होइनन्’रिजालले बयान दिएका छन्। उनले निजहरू बिचको लेनदेनको बारेमा आफूलाई थाहा नभएको उल्लेख गरेका छन्। उनले रामशरण केसी समेतका ३४ जना व्यक्तिहरूको भुटानी शरणार्थी कार्ड बनाई दिने भनी कार्डहरू लिएको इन्कार गरेका छन्।

रिजालले लक्ष्मी कोइराला, कृष्ण कोइराला, राम शरण केसी र प्रेम पन्थीका विरुद्धमा प्रहरी वृत्त गौशालामा निवेदन दिएको बयान दिएका छन्। ‘प्रेमराज पन्थी र लक्ष्मी कोइराला सहित झापा बिर्तामोडका ६/७ जना मानिसहरू मेरो झापा घरमा गई हामीहरूको रकम चाहियो भनेर हुल हुज्जत नै गर्न लागेपछि मैले तिमिहरूको रकम मैलै कहिले लिएको हो? प्रमाण बिना मेरो घरमा घेर्न आएका हौ? भने पछि निजहरू मेरो घरबाट गए,’रिजालले दिएको बयानमा लेखिएको छ,‘मेरो घरमा जाने मानिसहरू लक्ष्मी कोइराला र प्रेम पन्थी तथा रकम लेनदेन रहेका भनिएका कृष्ण कोइराला र राम शरण केसी भएकाले मैले निजहरू विरुद्ध प्रहरी वृत्त गौशालामा निवेदन दिएको हो।’

उनले नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थीहरू बनाई यति बिघ्न रकम सङ्कलन गरेको र ठगी भएको होला भन्ने कुराको जानकारी पहिले नभएको उल्लेख गरेका छन्। रिजालले नेपालको सरकारी तवरबाटै भएको कार्यको बारेमा कहीँ कतै उजुरवाजुर गर्नु उचित नलागेको र यस्तो परिस्थितिमा औपचारिक रूपमा कहिँकतै उजुरवाजुर गर्ने ठाउँ नै नपाएको बयान दिएका छन्। ‘म नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका लैजाने कार्यको सुरुवातदेखि नै विरोध गरिरहेको मानिस हो,’रिजालले दिएको बयानमा लेखिएको छ,‘तर यसअघि नेपालमा रहेका भुटानीहरूलाई तेस्रो देशमा लैजाँदा केही नेपालीहरू घुसेर भुटानीको नाममा अमेरिका समेतका मुलुकमा गएका हुन। सो कुराको जानकारी नेपाल सरकार समेतलाई हुनुपर्ने हो।’

रिजालले एक भुटानी शरणार्थीको रूपमा नेपालमा आश्रय लिइरहेको मानिसले नेपाल सरकारका उच्च पदस्थ व्यक्तिहरूको संलग्नता र उपस्थितिमा भएको नेपालीहरूलाई नक्कली भुटानी बनाई तेस्रो मुलुक लैजाने कार्य रोक्न सक्ने मेरो सामर्थ्य बाहिरको कुरा भएको बयान दिएका छन्। ‘मैले नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका लैजाने कुरा रोक्ने कार्य मेरो पहुँच भन्दा बाहिरको विषय भएकोले रोक्न नसकेको मात्र हो, तर मैले यसबाट कुनै फाइदा लिएको, बदनियत राखी सो कार्यमा संलग्न भएको होइन,’रिजालले दिएको बयानमा लेखिएको छ,‘यस्तो कार्य गर्ने सरकारी निकायका पदाधिकारी र अन्य संलग्न नेपालीहरू नै यसमा जिम्मेवार छन्।’
गैह्र भुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठिक होइन, यस्तो कार्य मबाट भएको होइन भन्ने समेत ब्यहोराको बयान रिजालले दिएका छन्।

भुटानी जेलमा १० वर्ष बिताएका रिजाल यतिवेला नेपालको जेलमा पुगेका छन्। अब जिल्ला अदालत काठमाडौँमा रिजालको थुनछेक बहस हुनेछ। नेपालमा आश्रय लिएर बसेका भुटानी नागरिकको दीर्घकालीन व्यवस्थापनको नाममा भएको गैह्र कानुनी काममा संलग्न भएको अभियोग रिजालमाथि लगाइएको छ। रिजालको गिरफ्तारीसँगै भुटानी शरणार्थीको समस्या नक्कली शरणार्थी बन्ने र बनाउनेहरूमा मात्रै केन्द्रित भएको छ।

नेपालको शिविरमा बसेका सक्कली भुटानी शरणार्थीको व्यवस्थापनमा भने कसैको चासो गएको छैन। मोरङको पथरीशनिश्चरे शिविर क्याममा रहेका भुटानी शरणार्थीले भुटानीप्रति भएको बेइमानी, शरणार्थीको नाम बेचेर गरिएको मानव तस्कर, छुटेका भुटानीको पुनः स्थापना गर्नुपर्ने माग राख्दै आन्दोलन नै गरेका छन्। नक्कली शरणार्थीका कारण सक्कली शरणार्थीको पुनर्मिलन कार्यमा ढिलासुस्ती गरेको भन्दै भुटानी शरणार्थी विरोधमा उत्रिएको राष्ट्रिय समाचार समितिले समाचार लेखेको छ।

शरणार्थी समस्या समाधान गर कि गरेर खाने अधिकार देऊ नत्र गाँस, बाँस, कपास देऊ, जनता बेच्न पाइँदैन, यस्ता नेता चाहिँदैन, भुटानीलाई न्याय दे, शरणार्थीलाई पुनःस्थापना गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उनीहरूले जेठ ९ गते नै प्रदर्शन गरेका हुन्। शरणार्थीको समस्या हल गर्नुको साटो उल्टै पुनःस्थापनाको बाटो बन्द गर्ने कोसिस गरेको शरणार्थीहरूले बताएका छन्।

सम्बन्धित समाचार

नक्कली भुटानी शरणार्थी : अब अदालतमा थुनछेक बहस

नक्कली शरणार्थी प्रकरणमा एक-अर्कालाई पोलापोल, काँग्रेस र एमाले आक्रोशित

नक्कली शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध मुद्दा, २७ करोड ५० लाख बिगो दाबी

टेकनाथ रिजालको बयान, ‘जसले आश्रय दियो, उसैले फसायो’

‘नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालमाथि भ्रष्टहरूको प्रतिशोध’

पञ्चायतकालमा पनि पक्राउ परेका थिए टेकनाथ रिजाल, अहिलेको गिरफ्तारीले संशय (भिडियो)

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading