समलिंगी, तेस्रोलिंगी : राजनीतिदेखि मोडलिङसम्म


काठमाडौं/पहिचान – यौन व्यवहारमा महिला र पुरुषभन्दा फरक चाहना राख्ने व्यक्ति पनि हाम्रो समाजमा छन् । जो अहिले आत्मसम्मानका लागि समाजसँग लडिरहेका छन् । उनीहरू आफ्नो पहिचानसँगै कानुनी अधिकार प्राप्तिका लागि संघर्षरत छन् । जसलाई लैंगिक तथा यौनिक अल्पसंख्यक भन्ने गरिन्छ । हाम्रो समाजमा अझै पनि समलिंगी र तेस्रोलिंगीलाई मात्र यस परिधिमा राखेर हेर्ने गरिएको छ । तर, यस समुदायलाई एलजिबिटिआई भनेर विश्वव्यापी रूपमा परिभाषित गरिएको छ ।

जसमा ‘एल’को अर्थ लेस्बियन अर्थात् समलिंगी महिला, ‘जी’को अर्थ गे अर्थात् समलिंगी पुरुष, ‘बी’को अर्थ वाइसेक्सुअल अर्थात् उभयलिंगी, ‘टी’को अर्थ ट्रान्सजेन्डर अर्थात् तेस्रोलिंगी, ‘आई’को अर्थ इन्टरसेक्सुअल अर्थात् अन्तरलिंगी भन्ने हुन्छ । यसबाट के बुझ्न सकिन्छ भने लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको रूपमा समलिंगी र तेस्रोलिंगी मात्र नभएर फरक लैंगिक तथा यौनिक समुदायका मानिस पनि हाम्रो समाजमा छन् । जसलाई समेट्न एलजिबिटिआई’को अवधारणा अघि सारिएको यस समुदायकी अधिकारकर्मी भूमिका श्रेष्ठ बताउँछिन् । नयाँ पत्रिकाका कृष्ण आचार्यको रिपोर्टः

आफू र आफ्नो समुदायका अन्य व्यक्तिको हक, अधिकार र पहिचान स्थापित गर्नका लागि आवाज उठाउनेहरू एलजिबिटिआई समुदायमा थुप्रै छन् । यस समुदायका कतिपय व्यक्तिहरू आफ्नै बलबुतामा राजनीति, व्यापार, व्यवसाय तथा विभिन्न पेसामा आबद्ध भएका छन् । खुलेर आफ्नो पहिचान दिन नचाहनेहरू पनि माथिल्लो तहसम्म पुगेका छन् । पहिलो संविधानसभामा नेकपा संयुक्तको तर्फबाट यौनिक तथा लैंगिक अल्पसंख्यकको प्रतिनिधित्व गर्दै सुनीलबाबु पन्त सभासद् बने । यस समुदायका अभियन्तासमेत रहेका पन्त पहिलो संविधानसभाको विघटनपछि १७ भदौ ०७० मा ३ सय ६५ जना समलिंगी तथा तेस्रोलिंगी लिएर नेकपा एमालेमा प्रवेश गरेका थिए । उनीपछि अधिकारकर्मी भूमिका श्रेष्ठ, नीलहिराकी अध्यक्ष पिंकी गुरुङलगायतका पनि विभिन्न पार्टी प्रवेश गरे । उनीहरू हाल पनि राजनीतिमा सक्रिय छन् ।

पछिल्लो समय राजनीतिसँगै मोडलिङ, होटेल व्यवसाय, कृषि व्यवसाय, किराना पसल, मेकअप आर्टिस्ट, बुटिक व्यवसाय, खेल क्षेत्रमा पनि यस समुदायको प्रतिनिधित्व बढ्दै गएको छ । मोडल अञ्जली लामाले भारतको चर्चित फेसन सप्ताह लेक्मीमा क्याटवाक गर्ने अवसर पाइन् । जसका कारण उनी विश्वका अधिकांश देशका मिडियामा छाउन पुगिन् । नुवाकोटमा जन्मिएकी उनको नाम घरपरिवारले नवीनकुमार वाइवा राखिदिए पनि उनले आफ्नो पहिचान परिवर्तन गरेर अञ्जली लामाको रूपमा विश्वभर चिनिइन् । १८ वर्षे इतिहासमा उक्त प्रतियोगितामा कुनै तेस्रोलिंगीले सहभागी हुने अवसर पाएका थिएनन् । त्यस्तै, पारा तेक्वान्दो र पारा म्याराथन खेलाडी नवराज कार्की उभयलिंगी हुन् । उनले कोरिया पुगेर विश्व तेक्वान्दो फेडेरेसनको तालिममा सहभागी हुँदै प्रशिक्षक बन्ने बाटो खुला गरिसकेका छन् ।
त्यस्तै, विगत ८ वर्षदेखि मेकअप आर्टिस्टको रूपमा काम गरिरहेकी सोफी सुनुवार पनि स्थापित भइसकेकी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी एक प्रतिनिधि पात्र हुन् । मेग्ना लामाले पनि होटेल व्यवसाय सञ्चालन गरी उदाहरणीय काम गरिरहेकी छिन् । यी त केवल यस समुदायका प्रतिनिधि पात्र मात्र हुन् । राजधानी र राजधानीबाहिर यसरी यसरी पेसा–व्यवसाय गरेर बस्नेहरू थुप्रै छन् । उनीहरूमध्ये कतिपय खुल्न चाहँदैनन् भने कतिपय खुलेरै आफूजस्ताको प्रेरणाको स्रोत बनेर काम गरिरहेका छन् । गोप्य स्रोतका अनुसार यसै समुदायका कतिपय मानिस प्रहरीदेखि अन्य सरकारी जागिर खाएरसमेत बसिरहेका छन् । तेस्रोलिंगीबाहेक अन्य मानिस हेर्दा सामान्य देखिने हुनाले उनीहरू यौनिक तथा लैंगिक अल्पसंख्यक हुन् भन्ने देखेकै भरमा थाहा हुँदैन । त्यसैले उनीहरू आफ्नो पहिचान लुकाएर हिँडिरहेका छन् । यसमा उनीहरूको भन्दा पनि यस समुदायप्रति दुव्र्यवहार गर्ने, घृणाको दृष्टिकोणले हेर्ने समाजको दोष देखिन्छ ।
त्यस्तै, सागर गुरुङ आफू यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको व्यक्ति भएको भन्दै एकाएक युट्युबमा छाए । उनले आफ्नै नाममा युट्युब च्यानल खोली आफूलाई खुला रूपमा प्रस्तुत गर्दै आएका छन् । फरर अंग्रेजी बोल्ने गुरुङ यस समुदायका अन्य मानिसमा हौसला थप्न आफू खुलेर आएको बताउने गर्छन् ।

यौन व्यवसायमा समलिंगी, तेस्रोलिंगी

मुख्य केन्द्र ठमेल बनाएर यस समुदायका मानिस प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यौन व्यवसायमा संलग्न छन् । उनीहरूले पैसा लिएर विपरीतलिंगीसँग देह–व्यापार गरिरहेको पाइन्छ । प्रहरी प्रशासनले समेत यसमा कडाइ गर्दै यसो गरेको पाइएमा उनीहरूलाई सार्वजनिक मुद्दा लगाउँदै आएको छ ।

कति छ संख्या ?

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्यांकअनुसार नेपालमा महिला यौनकर्मीको अनुमानित संख्या ५४ हजार छ । त्यस्तै, तेस्रोलिंगी, पुरुष यौनकर्मी, समलिंगी पुरुषको अनुमानित संख्या न्यूनतम ८७ हजार ८ सय २६ देखि अधिकतम १ लाख ११ हजार ८ सय ५२ आँकलन गरिएको छ । यसअन्तर्गत तेस्रोलिंगी अधिकतम २४ हजार १ सय ८५ जना, पुरुष यौनकर्मी अधिकतम २० हजार ६ सय २५ जना, समलिंगी पुरुष, यौनकार्यमा सरिक हुने अन्य पुरुष अधिकतम ६७ हजार ६४ जना छन् । यो अध्ययन वैज्ञानिक रूपले उपयुक्त हुनेगरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट मान्यता प्राप्त हो ।

९२ जनामा एचआइभी संक्रमण

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको सन् २०१५ को डिसेम्बरसम्मको तथ्यांकअनुसार नेपालमा करिब ३९ हजार तीन सय ९७ जनामा एचआइभी संक्रमण देखिएको छ । एचआइभीको जोखिममा रहेका मुख्य समूहहरूमा महिला यौनकर्मी, पुरुष यौनकर्मी, तेस्रोलिंगी, समलिंगी पुरुष, सुईको माध्यमले लागुपदार्थ लिने व्यक्ति, आप्रवासी कामदार र उनीहरूको यौनसाथी पर्छन् । त्यसमध्ये ९२ जना तेस्रोलिंगी, समलिंगीमा एचआइभी संक्रमण देखिएको छ । त्यसमा पनि २५ देखि ४९ वर्ष उमेर समूहमा सबैभन्दा बढी ६२ जना र २० देखि २४ वर्ष उमेर समूहका २१ जनामा संक्रमणको तथ्यांक आफूहरूसँग रहेको एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका सूचना अधिकृत वीरबहादुर रावलले जानकारी दिए । केन्द्रले सञ्चालन गरेको एचआइभी परीक्षणमा सहभागी १ लाख ११ हजारमध्येबाट सो तथ्यांक निकालिएको उनले बताए । यौन पेसामा संलग्नहरू परीक्षणमा सहभागी नहुनाले संक्रमित कति छन् भन्ने यकिन तथ्यांक केन्द्रसँग छैन । यस समुदायका ७० हजारभन्दा बढी मानिस यौनकार्यमा संलग्न रहेको अवस्थामा ९२ जनामा मात्र संक्रमण देखिनु पत्यारिलो विषय नभएको अधिकारकर्मी बताउँछन् । केन्द्रद्वारा ६ कात्तिक २०७१ मा आयोजित एक कार्यक्रममा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका करिब दुई लाख मानिसमा एचआइभी संक्रमणको जोखिम देखिएको तथ्यांक प्रस्तुत गरिएको थियो ।

किन लाग्छन् यौन व्यवसायमा समलिंगी, तेस्रोलिंगी ?

परिवार, समाज र राज्यद्वारा रोजगारीको अवसर सिर्जना नगरिदिनु, कुनै पेसा–व्यवसायमा लाग्न आर्थिक रूपमा सबल नहुनु, अवसरको खोजीमा घर–समाज त्यागेर राजधानीकेन्द्रित हुनु र यहाँ सोचेजस्तो नहुनुलगायतका समस्याका कारण यस समुदायका मानिस जीविकोपार्जनका लागि यौन व्यवसायमा संलग्न भएको ठमेलमा भेटिएकी तेस्रोलिंगी रामकला (नाम परिवर्तन) बताउँछिन् । कानुनी रूपमा यस समुदायका मानिसबीचमा हुने विवाहलाई मान्यता नदिँदा वैवाहिक जीवनबाट टाढा रहेकाहरू आत्मसन्तुष्टि र अवसरबाट बन्चित भएकाहरू जीविकोपार्जनका लागि यस पेसामा लागेको उनको बुझाइ छ । राज्य तहबाट आफूहरूलाई सीपमूलक तालिम दिने, रोजगारीको सिर्जना गर्ने, आर्थिक उपार्जनको अवस्था तयार पारिदिने, घर–समाजमा हुने विभेदको अन्त्य हुने, कानुनी रूपमा विवाहलाई वैधानिकता प्रदान गर्ने हो भने आफूहरू यस पेसाबाट टाढा रहने उनी बताउँछिन् । आफूलाई सभ्य समाजका सभ्य नागरिक भन्नेहरूले नै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसलाई अवसरबाट बन्चित गर्ने, अघि बढ्न सहयोग नगर्ने अनि बाध्यताका कारण यस पेसामा लाग्दा त्यही समाजले विकृति फैलायो भन्दै प्रश्न तेस्र्याउँछ । यदि यो विकृति हो भने सामाजिक विभेद अन्त्य गर्नु सबैको दायित्व होइन ?

संविधान र कानुनमा समलिंगी, तेस्रोलिंगी (सुजन पन्त, अधिवक्ता)

नेपालको संविधानको धारा १२ मा समलिंगी, तेस्रोलिंगीले नागरिकता पाउने व्यवस्था उल्लेख गरिएको छ । सर्वोच्च अदालतले पनि अन्य उल्लेख गरेर नागरिकता दिनु भन्ने अन्तरिम आदेश जारी गरेको छ । तर, कुनै सिडिओले मन लागे दिने, मन नलागे नदिने गरेको पाइएको छ । पहिला नागरिकता लिएकाहरूले केटा र केटीको नाममा नागरिकता लिनुभएको छ, त्यसलाई सच्याएर आफूले इच्छाएअनुसार नागरिकता लिने व्यवस्था लागू हुनु आवश्यक छ । त्यस्तै धारा १८ को समानताको हकमा पहिलो संविधानको ड्राफ्टमा लैंगिक तथा यौनिक रूपमा कसैलाई पनि विभेद गरिने छैन भन्ने व्यवस्था थियो । संविधान आउँदा त्यसलाई हटाइयो । त्यस धाराले यस समुदायको पक्षमा कानुन बनाउन कुनै प्रतिबन्ध गरेको छैन । जसअनुसार समलिंगी विवाहलाई कानुनी मान्यता दिनुपर्ने अहिलेको तत्कालीन आवश्यकता हो । तर, त्यसो हुन सकेको छैन । यसै धाराको उपधारा ५ मा सम्पत्तिको अधिकार उल्लेख गरिए तापनि मुलुकी ऐनको धेरै स्थानमा छोरा, छोरी भन्ने उल्लेख छ । जसले गर्दा यस समुदायका मानिसको हक संकुचित हुन पुगेको छ । धारा ४२ मा उल्लेख भएको सामाजिक न्यायको हकअनुसार यौनिक तथा लैंगिक अल्पसंख्यकले रोजगारी पाएका छैनन् । राज्यले उनीहरूका लागि कोटा छुट्याएको अवस्था छैन । शिक्षामा सहज पहुँच छैन । संविधानमा उल्लेख गर्ने, कानुन बनाउने, तर व्यवहारमा कार्यान्वयन नभएका कारण यस समुदायका मानिस अझै पनि पछाडि परेका छन् ।

इच्छाएको नाममा नागरिकता कहिले पाउने ? (भूमिका श्रेष्ठ, तेस्रोलिंगी अधिकारकर्मी)

समलिंगी तथा तेस्रोलिंगी समुदायका मानिस राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिकलगायतका अधिकारबाट वञ्चित हुनुपरेको छ । नेपालको संविधानमा मौलिक हक–अधिकार, समानताको हक र सामाजिक सुरक्षाको कुरा समावेशी छ । यो सकारात्मक पक्ष हो । तर, पहिचानको हिसाबले कुरा गर्नुपर्दा हामीले फरक पहिचान भएकै कारण गलत नागरिकता बोक्नुपर्ने समस्या छ । अन्य उल्लेख गरेर नागरिकता पाउने अधिकार उपलब्ध भए तापनि पहिचानका हिसाबले (इच्छाएको नाम राखेर) नागरिकता पाउने व्यवस्था छैन । यो समस्या पनि चाँडै समाधानको बाटोतर्फ जाओस् भन्ने हाम्रो चाहना छ । जन्मजात उसको लिंगअनुसार नाम हुने, तर शारीरिक बनावट फरक हुने हुँदा हाम्रो समुदायका मानिसले समस्या भोग्नुपरिरहेको छ ।

परिवार, समाज र राज्यसँग माग (पिंकी गुरुङ, अध्यक्ष, नीलहिरा समाज)

सबैभन्दा महत्वपूर्ण कुरा मानिसको सोच र विचारमा परिवर्तन आउनुपर्छ । समलिंगी तथा तेस्रोलिंगी भन्नासाथ मानिसको हेर्ने दृष्टिकोण र सोच्ने विचार निकै नकारात्मक भएको पाइन्छ । यो केही परिवार, क्षेत्र र निकायमा मात्र भएर हुँदैन । सकारात्मक सोच र विचारको विकास सबै मानिसमा भयो भने हामी त्यसमै सन्तुष्ट हुनेछौँ । राज्य पक्षले केही हदसम्म हामीलाई समेट्ने प्रयास गरे तापनि कानुनी रूपमा हामी निकै थिचोमिचोमा परेका छौँ । देवानी संहिता र फौजदारी संहितामा विवाह गर्न पाउने विषय उल्लेख भए तापनि महिला र पुरुष भन्ने उल्लेख छ । त्यहाँ समलिंगी तथा तेस्रोलिंगी भन्ने उल्लेख हुनु आवश्यक छ । त्यस्तै राज्यका हरेक निकायमा यस समुदायका मानिसको प्रतिनिधित्व हुन सके उनीहरूले आफ्नो समुदायका लागि रोल मोडलको भूमिका निभाउन सक्ने थिए । लोकसेवामा आरक्षणको व्यवस्था गर्नेदेखि हरेक क्षेत्रमा समलिंगी तथा तेस्रोलिंगी समुदायलाई रोगजारीको अवसर दिनु आवश्यक छ । घर, परिवार र राज्यले के गरिदिन्छ भन्दा पनि सबैभन्दा महत्वपूर्ण कुरा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसमा स्वयं खुलेर बाहिर आउने साहस हुनु आवश्यक छ । हाल लाखौँ साथीहरू लुकेर बस्नुभएको छ । बाहिर आउने, आवाज बुलन्द गर्ने, अधिकारका लागि लड्ने, सरकारको ढोका घचघच्याउने आँट र हौसला यस समुदायका सम्पूर्ण मानिसमा हुनुपर्छ । हामी परिवर्तन चाहन्छौँ भने त्यसको सुरुवात त हामी आफैँबाट गर्नुपर्छ ।

को हुन्, लैंगिक तथा यौनिक अल्पसंख्यक ?

लैंगिक तथा यौनिक अल्पसंख्यक (एलजिबिटिआई) भन्नाले महिला र पुरुषभन्दा फरक पहिचान भएका व्यक्तिलाई बुझाउँछ । शारीरिक तथा मानसिक रूपमा उनीहरू महिला–पुरुषभन्दा फरक हुन्छन् ।

लेस्बियन (समलिंगी महिला) : समलिंगी महिला भन्नाले ती महिला हुन्, जो आफूजस्तै महिलाप्रति आकर्षित हुन्छन् । उनीहरू जन्मँदा बालिकाको रूपमा जन्म लिन्छन् र वृद्धि विकाससँगै मानसिक, शारीरिक र भावनात्मक रूपमा महिलाप्रति नै आकर्षित हुन्छन् ।

गे (समलिंगी पुरुष) : यदि कुनै पुरुष आफूजस्तै पुरुषप्रति आकर्षित हुन्छ भने ऊ समलिंगी पुरुष हो । ऊ जन्मिँदा बालक भएर जन्मन्छ र बढ्दै जाँदा शारीरिक तथा मानसिक रूपमा आफूजस्तै पुरुषमा उसको आकर्षण बढ्छ ।

बाइसेक्सुअल (उभयलिंगी) : यदि कोही महिला–पुरुष दुवै लिंगप्रति आकर्षित हुन्छ भने ऊ उभयलिंगीअन्तर्गत पर्छ । कुनै व्यक्ति पुरुष भएको खण्डमा उसलाई पुरुष र महिला दुवै मनपर्छ । त्यस्तै महिला छ भने पनि उसमा यो लागू हुन्छ । उनीहरूमा पुरुष र महिला दुवैसँग शारीरिक, यौनिक र भावनात्मक आकर्षण हुन्छ ।

ट्रान्सजेन्डर (तेस्रोलिंगी) : जन्मँदा शारीरिक रूपमा छोरा वा छोरी भए तापनि उसको इच्छा, चाहना, भावना, सोचाइ, मानसिकता त्यसविपरीत छ भने उसलाई तेस्रोलिंगी भनिन्छ । यदि कोही जन्मजात शारीरिक रूपमा पुरुष छ भने उसको सम्पूर्ण चाहना, व्यवहार महिलाको जस्तो हुन्छ र उसलाई पुरुष नै मनपर्छ । त्यस्तै, जन्मजात महिला छ भने पछि पुरुषको हाउभाउ तथा बानी–व्यवहार विकास हुँदै जान्छ र उसलाई महिला नै मनपर्छ ।

इन्टरसेक्सुअल (अन्तरलिंगी) : जन्मँदा अस्पष्ट यौनांग लिएर आएको छ भने उसलाई अन्तरलिंगी भनिन्छ । किशोरावस्थामा पुगेपछि उनीहरूले परिवार र समाजको अपेक्षाभन्दा फरक खालको व्यवहार देखाउन थाल्छन् । यसलाई महिला र पुरुष दुवैको यौनांग भएका पनि भनिन्छ ।

कति छ देशभर उनीहरूको संख्या ?

हाम्रो देशमा समलिंगी र तेस्रोलिंगीको संख्या धेरै छ । जसको तुलनामा उभयलिंगी र अन्तरलिंगीको संख्यालाई न्यून मान्न सकिन्छ । त्यसैले पनि लैंगिक तथा यौनिक अल्पसंख्यक भन्नासाथ धेरैको दिमागमा समलिंगी र तेस्रोलिंगी भन्ने पर्न जान्छ । यसरी परिभाषित गर्दा अन्य सम्बन्धहरूको पहिचान गुम्ने देखिएपछि एलजिबिटिआईअन्तर्गत राखेर उभयलिंगी तथा अन्तरलिंगीलाई पनि समेट्न थालिएको हो । लैंगिक तथा यौनिक पहिचानका आधारमा नेपालमा करिब ६ लाख एलजिबिटीआई समुदायका मानिस रहेको नीलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङ बताउँछिन् । उनका अनुसार १३ सयजनामा गरिएको परीक्षणबाट करिब ३ प्रतिशत मानिस यस समुदायका भेटिएका थिए । अन्तर्राष्ट्रिय मान्यताअनुसार कुल जनसंख्याको १० प्रतिशत मानिस लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका हुन्छन् । तर, नेपालमा भने यस समुदायका कति मानिस छन् भन्ने तथ्यांक कुनै निकायसँग छैन । यस समुदायका मानिसले महिला वा पुरुषको नाममा नागरिकता लिएको र उनीहरू खुलेर बाहिर आउन नचाहेका कारण यकिन संख्या पत्ता लगाउन नसकिएको अधिकारकर्मी श्रेष्ठ बताउँछिन् । देशभर यस समुदायका करिब ४ लाख मानिस आफूहरूको प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पर्कमा रहेको उनको भनाइ छ । खुलेर बाहिर आउन नचाहनेको संख्या यकिन गर्न नसकिए तापनि ६ लाखभन्दा बढी एलजिबिटिआई समुदायका मानिस नेपालमा रहेको भूमिका बताउँछिन् । तर, केन्द्रीय तथ्यांक विभागसँग यससम्बन्धी कुनै तथ्यांक छैन । जसका कारण लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका मानिस नेपालमा कति छन् भन्ने आधिकारिकता पाउन गाह्रो छ । तथ्यांक विभागका एक कर्मचारीका अनुसार पछिल्लो जनगणनामा उनीहरूको संख्या छुट्याउने प्रयास गरिए तापनि धेरै खुल्न नचाहेका कारण सम्भव भएन । तर, खुलेकामध्ये दुई लाखको संख्या गणना गरिएको उनी बताउँछन् ।

जन्मजात आउने यौन गुण

कुनै समय विश्व स्वास्थ्य संगठन र अमेरिकी मनोरोग चिकित्सा संघले लैंगिक तथा यौनिक अल्पसंख्यकलाई रोग वा कुनै मनोवैज्ञानिक असरका कारण भएको जन्मको रूपमा व्याख्या गर्ने गर्थे । तर, पछि आफ्नो परिभाषामा परिवर्तन गर्दै यसलाई उनीहरूले जन्मजात आउने नितान्त प्राकृतिक गुणको रूपमा व्याख्या गरे । हाल यसलाई स्वाभाविक यौन–सम्बन्ध र प्राकृतिक मानिएको छ । तैपनि परम्परागत सोच, ज्ञान एवं संस्कारका कारण कतिपयले यसलाई रोग र मानसिक विचलनका रूपमा लिने गरेका छन् । जुन सोच निच भएको अधिकारकर्मी श्रेष्ठ बताउँछिन् । उनी भन्छिन्, ‘एलजिबिटिआई समस्या होइन, यो नितान्त प्राकृतिक कुरा हो । तैपनि हाम्रो समाजमा यसलाई कुनै शारीरिक वा मानसिक समस्याको रूपमा व्याख्या गरेर यस समुदायका मानिसको हक, अधिकार र पहिचान खोस्ने काम भएको छ ।’ प्राकृतिक रूपमा जन्मजात देखिने फरकपनलाई रोगको संज्ञा दिनेहरू नै मानसिक रोगी भएको उनको बुझाइ छ ।

अझै स्विकार्दैन परिवार र समाज

लैंगिक तथा यौनिक अल्पसंख्यकलाई परिवार र समाजले गर्ने विभेद, हिंसा र तिरस्कारका कारण उनीहरू अझै पनि खुलेर बाहिर आउन सकिरहेका छैनन् । समलिंगी, तेस्रोलिंगी, द्विलिंगी र अन्तरलिंगी हुनु कुनै रोग वा विकृति होइन । तर, पनि समाजमा यो अझै अपाच्य छ । पछिल्लो समय यस समुदायका मानिस खुल्दै आउँदा एउटा जमात खडा हुँदै गएको छ । व्यक्ति भनेको मानिस र मानिस भनेको महिला र पुरुष सोच्ने समाजले तेस्रो पक्ष देख्न नसक्दा यस्तो समस्या आएको नीलहिराकी अध्यक्ष पिंकी बताउँछिन् ।

‘परिवार र समाजमा ‘एक्स्पोज’ भएपछि आउने उतारचढावका कारण कतिपय आफ्नो पहिचान लुकाउन बाध्य छन्,’ पिंकी भन्छिन्, ‘परिवारको सपोर्ट भयो भने उनीहरूलाई समाजमा बाहिर आउन, प्रतिस्पर्धा गर्न र अधिकारका निम्ति लड्न सहज हुने थियो ।’
तेस्रोलिंगी मोडल ज्योति थापा भने आफूले परिवारको सहयोग पाएकै कारण अघि बढ्न सकेको बताउँछिन् । नौ कक्षामा पढ्दा आफू तेस्रोलिंगी भन्ने थाहा पाएकी ज्योतिले परिवारको साथ र सहयोग पाएकै कारण आज आफू यसरी खुलेर हिँड्न सकेको अनुभव सुनाउँछिन् ।
तर, सबैको परिवार ज्योतिको जस्तो हुँदैन । समाजले के भन्ला, के सोच्ला भन्ने मनसायका कारण परिवारभित्र कोही एलजिबिटिआई समुदायको व्यक्ति छ भने पनि उसको पहिचान लुकाउन चाहन्छ । ‘म आफ्नो पहिचान स्थापित गर्नका लागि लड्छु भन्दा पनि घर, परिवार र समाजमा त्यसखाले वातावरणको विकास भइसकेको छैन,’ समलिंगी पुरुष नीरज (नाम परिवर्तन) भन्छन्, ‘आफ्नो सन्तान जस्तोसुकै भए पनि पहिला परिवारले सपोर्ट गर्नुपर्छ । अनि मात्र ऊ समाजसँग लड्न सक्छ ।’

६, ७ र ८ कक्षामा एलजिबिटिआईको पढाइ

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका केही व्यक्तिले सन् २००१ देखि संगठित रूपमा नीलहिरा समाजमार्फत पहिचानका लागि आवाज उठाएका हुन् । पहिचानको नारा लगाएको १६ वर्ष बितिसक्दा यस समुदायप्रति आममानिसमा रहेको धारणामा निकै परिवर्तन आएको छ । हाल नीलहिरा समाजले देशका ४० जिल्लामा आफ्नो ५३ वटा शाखा विस्तार गरिसकेको छ । यसरी देशभर सर्वप्रथम एलजिबिटिआई समुदायका मानिसमा आत्मबल बढाउने र त्यसपछि समाजमा जनचेतना फैलाउने काम भइरहँदा समाजमा समलिंगी तथा तेस्रोलिंगी छ भन्ने कुरा स्वीकार थालिएको नीलहिराकी अध्यक्ष पिंकी बताउँछिन् । देशभरबाट संगठित हुँदै जाँदा लुकेर रहेकाहरू पनि बाहिर आउन थालेका छन् ।

लिंग उल्लेख गर्ने स्थानमा अन्य उल्लेख गरी नागरिकता प्रदान गर्न थालिएपछि एलजिबिटिआई समुदायका मानिसमा उत्साह थपिएको छ । उनीहरूले यसलाई वर्षौंदेखि लुकेको पहिचान प्राप्तिका रूपमा लिएका छन् । हालसम्म करिब १३० जनाले अन्य उल्लेख गरेर नागरिकता लिएको तथ्यांक नीलहिरा समाजसँग छ ।

त्यस्तै नेपालको संविधानको धारा १२ मा लैंगिक पहिचानसहितको नागरिकता पाउने व्यवस्था, धारा १८ को समानताको हकमा कुनैखाले विभेद नगर्ने र धारा ४२ मा राज्यका विभिन्न निकायमा सहभागिता गराउने कुरा उल्लेख रहेको अधिकारकर्मी तथा अधिवक्ता हरि फुँयाल बताउँछन् । त्यसैगरी कक्षा ६, ७ र ८ को ‘हेल्थ एन्ड फिजिकल एजुकेसन’ विषयमा एलजिबिटिआई समुदायको विषय समेटिएको छ ।

यसरी बाहिर आउन थाले समलिंगी, तेस्रोलिंगी

एलजिबिटिआई समुदायमा रहेको एचआइभीको उच्च दर न्यूनीकरणका लागि भनेर सन् २००१ मा नीलहिरा समाजको स्थापना भएको भयो । पछि यसले यस समुदायका मानिसको मानवअधिकारको पक्षमा वकालत गर्न थाल्यो । त्यसपछि बिस्तारै आफ्नो अस्तित्व र पहिचानको रक्षा गर्ने, नीतिगत कुरामा परिवर्तन गर्न दबाब दिने, राजनीतिक पार्टी र सरकारमा वकालत गर्ने, जनचेतनामूलक कार्यक्रम गर्ने काम यस संस्थाले गर्दै आएको छ । ४० जिल्लामा आफ्नो संस्था विस्तार गरेको नीलहिरा समाजले सडकनाटकदेखि यस समुदायका मानिसका लागि क्षमता अभिवृद्धि, सरकारसँग सहकार्य गरेर एचआइभी÷एड्स संक्रमितलाई उपचारको व्यवस्था गर्नेलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको नीलहिराकी अध्यक्ष पिंकी बताउँछिन् । नीलहिरा पछि मिथेन नेपाल, इमपावर नेपाल, रेडकोर नेपाल, इलजिबिटिआई फोरमलगायतका संस्था स्थापना भएका छन् । उनीहरूले पनि यसै समुदायको हक, अधिकार र पहिचानको पक्षमा आवाज उठाउँदै आएका छन् । यसरी विभिन्न संघसंस्थाले यस समुदायका मानिसको पक्षमा वकालत गर्न थालेपछि मात्र उनीहरू खुलेर बाहिर आउने वातावरण बनेको हो ।

विशुद्ध सौन्दर्य प्रतियोगिता होइन मिस पिंक

नीलहिरा समाजले विगत लामो समयदेखि मिस पिंकको आयोजना गर्दै आइरहेको छ । धेरैले यसलाई यस समुदायका व्यक्तिको सौन्दर्य प्रतियोगिताको रूपमा लिने गरेका छन् । तर, समाजकी अध्यक्ष पिंकी भने त्यसलाई स्विकार्न तयार छैनन् । उनका अनुसार यो समाज र सोचाइ परिवर्तनका लागि चलाइएको एक अभियान हो । उनी भन्छिन्, ‘हाम्रो समुदाय मोडलिङमा रुचि राख्ने भएकाले यो उनीहरूका लागि क्षमता अभिवृद्धि, व्यक्तित्व विकास, सामाजिक रूपान्तरण, सन्देशमार्फत मुद्दाको उठानलगायतका पक्षसँग सम्बन्धित प्रतियोगिता हो ।’ यस वर्ष पनि आफूहरूले ‘मिस्टर गे ह्यान्डसम’ गर्ने योजना बनाएको उनले बताइन् । त्यस्तै समलिंगी तथा तेस्रोलिंगीलाई विश्व स्वास्थ्य संगठनले मानसिक रोगीको सूचीबाट हटाएको अवसरमा १७ मेमा विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । समलिंगी तथा तेस्रोलिंगी घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा यस दिनलाई युरोपका स्पेन, बेल्जियम, बेलायत, मेक्सिको, कोस्टारिका, नेदरल्यान्ड, फ्रान्स, लक्जमबर्ग, ब्राजिललगायत मुलुकका संसद्बाट आधिकारिक मान्यता प्रदान गरिएको छ । नेपालमा पनि मान्यता पाउनुपर्ने आवाज यस समुदायको छ । यसबाहेक यौनिक तथा लैंगिक अल्पसंख्यकको पक्षमा कार्यरत संस्थाहरूले समयसमयमा विभिन्न कार्यक्रम, भेला, गोष्ठी, जुलुस तथा प्रदर्शन गर्दै आइरहेका छन् ।

समलिंगी–तेस्रोलिंगीको अन्त्य गर्नु भनेको मानव जातिकै अन्त्य

एलजिबिटिआई समुदायका मानिसको जन्म महिला र पुरुषबीचको सम्भोग वा संयोजनबाट हुने हो । त्यसैले यो नितान्त प्राकृतिक कुरा हो । कतिपयले यसलाई रोग वा मनोवैज्ञानिक समस्याका रूपमा लिँदै यस्ता मानिसको अन्त्य गर्नुपर्ने धारणा राख्छन् । तर, महिला र पुरुषको सम्भोगबाट जन्म हुने भएकाले यसको अन्त्यका लागि मानव जातिकै अन्त्य हुनुपर्ने नीलहिराकी अध्यक्ष पिंकी बताउँछिन् । उनी भन्छिन्, ‘एलजिबिटिआई समुदाय विकृति हो, यसको अन्त्य गर्नुपर्छ भन्ने सोचाइ हाम्रो समाजमा छ, रूखको हाँगा भाँचेर त्यसको अन्त्य कसरी
हुन्छ ? त्यसका लागि रूखलाई जरैदेखि उखेल्नुपर्ने हुन्छ र रूखलाई जरैदेखि उखेल्नु भनेको संसारका सबै मानवको अन्त्य गर्नु हो । पुराना धर्मग्रन्थलाई केलाउने हो भने पनि विविधता नै सृष्टि हो भन्ने उल्लेख छ, त्यसैले जहाँ घाम हुन्छ, त्यहाँ पानी पर्छ, जहाँ दिन हुन्छ, त्यहाँ रात पर्छ, जहाँ जन्म हुन्छ, त्यहाँ मृत्यु हुन्छ भनेको जस्तै जहाँ महिला र पुरुष हुन्छ त्यहाँ अन्तरलिंगी, तेस्रोलिंगी हुन्छ भन्ने बुझ्नु आवश्यक छ ।’

दक्षिण एसियाको स्वर्ग नेपाल

लैंगिक तथा यौनिक अल्पसंख्यकको सवालमा नेपाल दक्षिण एसियामा निकै अगाडि छ । नीलहिरा समाजको स्थापनासँगै यस समुदायका मानिसले आवाज बुलन्द गर्न थालेपछि अन्तर्राष्ट्रिय मिडियामा समेत नेपालका समलिंगी तथा तेस्रोलिंगीको इस्युले राम्रै चर्चा पाउने गरेको छ । नेपालको संविधानमा यस समुदायका मानिसको हक, अधिकार समेटिनु, नागरिकताको विषयमा कानुनमै व्यवस्था हुनु, पहिचानको वकालत गर्दै सडकदेखि सदनसम्म प्रतिनिधित्व हुनुलगायतका विषयले गर्दा दक्षिण एसियाका अन्य देशभन्दा नेपाल अगाडि छ । अधिकारकर्मी भूमिका श्रेष्ठ ‘ब्रेकिङ द साइलेन्स’का कारण यो सम्भव भएको बताउँछिन् । ‘पहिला–पहिला हामी जति चुप लागेर बस्यौँ त्यति नै हामीले पीडा, तनाव र मानसिक यातना भोगिरह्यौँ । तर, हामीले हाम्रो मौनतालाई तोड्दै लग्यौँ र आज दक्षिण एसियामा लिडिङ रोल गरिरहेका छौँ,’ उनी भन्छिन्, ‘भारत, पाकिस्तान, बंगलादेशजस्ता देशमा यस समुदायका मानिसले आफ्नो आवाज बुलन्द गर्न सकेका छैनन् । उनीहरूले सीमित रूपमा मात्र आवाज उठाए । तर, हामीले सडकदेखि सदनसम्म आफ्नो आवाज बुलन्द ग¥यौँ, जसकारण दक्षिण एसियामा हामी अरूभन्दा अघि भयौँ । नेपाली समाज त्यति निरंकुश नहुनुले पनि हामीलाई अघि बढ्न सहयोग पुग्यो ।’ हाम्रो छिमेकी देश भारतकै कुरा गर्ने हो भने त्यहाँ अलजिबिटिआई भन्नासाथ त्यो अपराध हुन्छ । तेस्रोलिंगी भन्नासाथ उनीहरूप्रति गर्ने व्यवहार, हेर्ने दृष्टिकोण फरक हुन्छ ।

जो लिंग फेरेर सुन्दरी बने

आफू जन्मेको लिंगलाई वैज्ञानिक ढंगले परिवर्तन गर्ने विधि हो लिंग परिवर्तन । नेपालमा पनि केही समलिंगी तथा तेस्रोलिंगीले आफ्नो लिंग परिवर्तन गरी विपरीत लिंगी बनेका छन् ।

केटलिन पन्त

लिंग परिवर्तन गरेर सबैभन्दा बढी चर्चा कमाउने केटलिन पन्त हुन् । कलाकार सन्तोष पन्तका छोरा प्रतीक भएर जन्मिएकी उनले लिंग परिवर्तन गर्दै आफूलाई केटलिन बनाइन् । छोरा भएर पनि सानैदेखि छोरीको जस्तो व्यवहार गर्ने उनले थाइल्यान्डको सुर्पोन क्लिनिकमा आफ्नो पुरुष अंगलाई महिला अंगमा परिवर्तन गराएकी हुन् । आठघन्टे शल्यक्रियापछि उनी पूर्ण रूपमा युवती बनेकी थिइन् ।

नुमा सुब्बा ‘चञ्चला’

झापाकी नुमा सुब्बा लिंग परिवर्तन गरेर ह्यान्डसमबाट सुन्दरी बनिन् । बैंककको पेतुनामम पोलिक्लिनिकमा शल्यक्रिया गराएर उनले लिंग र अण्डकोष हटाएकी हुन् । लिंग परिवर्तन गर्नुअघि उनले वक्षस्थलको शल्यक्रिया गराएकी थिइन् ।

अञ्जली लामा

मोडलिङको क्षेत्रमा चर्चा कमाएकी अञ्जली लामा शरीरमा वक्षस्थल प्लान्ट गरेर युवती बनिन् । कुनै दिन उनी आफ्नो पुरुष अंगलाई महिला अंगले विस्थापित गर्न चाहन्छिन् । भारतको चर्चित फेसन सप्ताह ‘ल्याक्मी फेसन विक’मा सहभागी भएर विश्वभर चर्चा कमाएकी उनी कुनै दिन नवीन वाइवाको रूपमा चिनिन्थिन् ।

रानी कुँवर
नेपालगञ्जका लालबहादुर कुँवर लिंग परिवर्तन गरेर रानी कुँवर बने । बिहे गरेर दुई छोराका बाबुसमेत बनिसकेका उनले लिंग परिवर्तनपछि आफू जन्मजात तेस्रोलिंगी भएको र जबर्जस्ती परिवारले बिहे गरिदिएको दुखेसो पोखेका थिए । केही समयपछि उनले छातीको शल्यक्रियासमेत गरे ।
एनी लामा
विराटनगरकी एनी लामाको जन्म पुरुषको रूपमा भएको थियो । तर, थाइल्यान्ड गएर लिंग परिवर्तन गरेपछि उनी महिला बनिन् । तेस्रोलिंगीको रूपमा जन्मेकी एनी काठमाडौं आएपछि मिस पिंकको उपाधिसमेत चुम्न सफल भइन् ।

सोहनी धिमाल

झापाकी सोहनी धिमाल लिंग परिवर्तन गरेर पुरुषबाट महिला बनिन् । बैंककको पेतुनामम पोलिक्लिनिकमा शल्यक्रिया गराएर उनले लिंग परिवर्तन गराएकी हुन् । नेपालमा करिब २० जनाले आफ्नो जैविक लिंग परिवर्तन गरेका छन् । तर, उनीहरू सबै खुल्न चाहन्नन् । सामान्यतया लिंग परिवर्तन गरेको अवस्था हेरेर १० लाख रुपैयाँसम्म लाग्ने गर्छ ।

असफल प्रेम, बिहेलाई कानुन बाधक

तेस्रोलिंगी मीरा (नाम परिवर्तन) र उदय (नाम परिवर्तन) लामो समय अफेयरमा रहे । उनीहरूले एक–अर्कासँग प्रेम साटासाट गरे र सँगै बाँच्ने–मर्ने कसम पनि खाए । तर, जब घरमा बिहेको कुरा चल्यो तब उदयको परिवार मीरालाई स्विकार्न तयार भएन । किनकि दुवैको शारीरिक बनावट उस्तै थियो । उनीहरू त भविष्यमा बच्चा एडप्ट गरेर बस्ने सोचमा थिए, तर परिवारले समाजको डर देखाएर उनीहरूलाई साथ दिएन । अहिले उदयको बिहे भइसक्यो । कहिलेकाहीँ उनीहरूबीच भेटभाट पनि हुन्छ । तर, विवाहमा परिणत हुनुपर्ने उनीहरूको प्रेम–सम्बन्ध हाल मित्रतामा परिणत भएको छ ।

एलजिबिटिआई समुदायका मानिसले आफ्नै समुदाय वा त्यसभन्दा बाहिर प्रेम–सम्बन्ध गाँस्ने गर्छन् । शारीरिक बनोट हेरेर यस समुदायका मानिसको आकर्षण कसप्रति छ भन्ने पत्ता लगाउन सकिँदैन । उनीहरूको हाउभाउ, इच्छा, चाहना, भावना, व्यवहार र उनीहरूसँग हुने वार्तालापपछि मात्र ऊ कस्तो प्रकृतिको हो भन्ने थाहा हुन्छ । यसरी प्रकृति थाहा पाएर प्रेम–सम्बन्ध गाँस्नेहरू यस समुदायमा धेरै छन् । तर, शारीरिक रूपमा आफूहरू अन्य महिला–पुरुषभन्दा फरक हुने भएकाले असमझदारी बढ्दै प्रेम–सम्बन्ध अन्त्य हुने गरेको अधिकारकर्मी भूमिका श्रेष्ठ बताउँछिन् ।

आफूहरूमा बच्चा जन्माउने क्षमता नहुनु, विवाहले कानुनी मान्यता नपाउनु, फरक लिंग र पहिचानका कारण सम्बन्धमा असमझदारी बढ्दै जानुजस्ता कारणले यस समुदायका मानिसको प्रेम–सम्बन्ध धेरै समय टिक्न नसकेको तीतो अनुभव उनीसँग छ । केहीको प्रेम–सम्बन्ध आपसी समझदारीका कारण लामो समयसम्म चलिरहेको पनि छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर प्रेम सम्बन्ध गाँसिएको छ भने त्यसले स्थायित्व पाउने बताउँछन् समलिंगी पुरुष हिमाल (नाम परिवर्तन) । हिमाल आफूजस्तै पुरुषसँग दुई वर्षदेखि प्रेम–सम्बन्धमा रहेको बताउँछन् । भन्छन्, ‘सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसको विवाहलाई कानुनी मान्यता प्रदान गर्ने हो भने हाम्रा लागि निकै सहज हुने थियो । अहिले विवाह गरे पनि विवाह दर्तासमेत नहुने भएकाले समस्या परेको छ ।’ आफ्नो प्रेम दुई वर्षदेखि चलिरहेको बताउने हिमाल आफ्ना अन्य साथीहरूको सम्बन्ध तीन महिना टिक्नसमेत गाह्रो हुने गरेको स्विकार्छन् ।

कतिपयले आफ्नो समुदायभन्दा बाहिरको सँग बिहे गरेको उदाहरण पनि छ । शर्मिला चौधरीले नेमा लामासँग बिहे गरेर सुखमय जीवन बिताइरहेकी छिन् । देखभेटको सम्बन्ध प्रेममा परिणत भएपछि उनीहरूबीच लगनगाँठो कसिएको हो । उता विनोद राणाको भने बच्चा जन्माउन नसकेकै कारण विवाह भएको केही समयपछि सम्बन्धविच्छेद भयो । जन्मजात छोराको अंग भएका उनको हाउभाउ र व्यवहार भने छोरीको थियो ।

साभार : नयाँ पत्रिका दैनिक

यसमा तपाइको मत

विचारबाट अन्य समाचार