स्वास्थ्यकर्मीले भनिन्–‘तल्लो जातलाई छोइयो भने मलाई देवता आउँछ’

सहरमा दलित

काठमाडौं (पहिचान) जेठ २७ – ए ! गाग्री छोइएला, अलि परबाट हिँड् ।’ कर्कश आवाजमा पल्लो घरकी काकीले भनिन् । काकीको छोरीसँग खेल्न उनको घर जाँदाको घटना हो यो । पाँच वर्षकी सानी केटी थिएँ, म त्यतिवेला । उनको गाग्रीलाई त मैले छोइनँ, तर मलाई उनको शब्दले भने अति नै छोयो । काकीको घरमा गाईबस्तु धेरै थिए । उनकै घरमा निजी धारा थियो । गाईबस्तुकै लागि काकीले थोत्रा भाँडामा पानी भरेकी थिइन् । मैले छोएको पानी मान्छेका लागि त अछुत भए नै गाईबस्तुका लागि समेत अछुत बनाइयो । त्यो घटनापछि मैले गाउँमा कसैलाई पनि साथी बनाइनँ । आमाबुबाले कपडा सिलाउने टेलरछेउमा बसी एक्लै भाँडाकुटी खेलिरहेँ । यस घटनाको प्रभावले मेरो बाल्यकाल एकदमै खल्लो भयो । समाजका अन्य मेरा साथीसँग मैले संगत र अन्तरक्रिया  गर्ने मौका नै पाइनँ ।

गैरदलितसँग अन्तत्र्रिmया कम भएपछि छुवाछुतको अनुभव प्रत्यक्ष भोग्नुपरेन । तर, मेरो अन्तरमनमा त्यसको प्रभाव अत्यन्त गाढा रह्यो । विभेदको घटनाबाट बँच्न म भागिरहेँ । तर, मेरो वंशीय पहिचान मेरो साथमा रहुन्जेल म कहिल्यै टाढा भाग्न सकिनँ ।  केही समयपछि हाम्रो घरमा पनि निजी धारा बन्यो । गाउँकी ती काकी पनि आफ्नो धारा बिग्रिएको वेला पानी थाप्न हाम्रो घर आउँथिन् । हामीलाई नछोई पानी थाप्थिन् र जान्थिन् ।

मलाई त्यतिवेला महसुस भयो कि हामीलाई गरिने छुवाछुत र दुव्र्यवहार ‘सिच्वेसनल’ रहेछ । स्रोत र शक्ति प्राप्त गैरदलितले आफूले जुन मान्यता समाजमा स्थापित गराउँदै आइएको छ, त्यसलाई आफ्नो अनुकूल व्याख्या र परिवर्तन गराउँदै लग्ने रहेछ ।करिब १८ वर्ष पहिलेको काकीको छुवाछुतको व्यवहारलाई मैले समय, समाज र शिक्षाका हिसाबले स्वाभाविक मानेको थिएँ । आममानिसको जस्तै । तर, दलित जातीय पहिचानमाथि विभेद गर्ने परम्परा ग्रामीण परिवेशमा मात्र होइन, सहरमा पनि अनेकन् स्वरूपमा देखेँ । काठमाडौंमै पनि देखेँ, भोगेँ । यसलाई न त शिक्षाले प्रभाव पार्ने रहेछ, न त प्रविधिको विकासले नै ।

सहरमा विभेद
अक्सर म गैरदलित साथीको घर कमै मात्र जान्छु । यद्यपि एमए पढ्दै गर्दा काठमाडाैं घर भएकी एकजना साथीले उनको घरमा वास बस्ने गरी जान निकै कर गरिन् । उनको घरमा बस्ने गरी साँझपख गएँ । हामी घर पुगेको केही समयपछि साथीको आमा पनि जागिरबाट घर आइपुगिन् । साथीले आमासँग मेरो परिचय गराइन् । आमाले निकै खुसी हुँदै भनिन्, ‘नानीले तिम्रो कुरा निकै गर्थी । बोला न त घर भनेर मैले भनेकी थिएँ । आज साइत जुरेछ । अनि छोरी के जातिको प-यौ ?’ मतिर प्रश्न तेस्र्याइन् ।

उनको प्रश्नसँगै मेरो मन खुम्चियो । बाहिर अँध्यारो भइसकेको थियो । बाहिरको भन्दा मभित्र झनै ठूलो अन्धकार छायो । मैले भनेँ, ‘म परियार हुँ आन्टी ।’ अघिसम्मको आमाको अनुहारको खुसी अचानक गायब भयो । उनले अप्ठ्यारो मानी–मानी भनिन्, ‘मलाई गलत नसोच नानी । म तिम्रो मन दुखाउन चाहन्नँ । तर, मैले यो भन्नैपर्छ ।’ भूमिका बाँध्दै उनले भनिन्, ‘म आफैँ स्वास्थ्यकर्मी हुँ । तर, तल्लो जातका मानिसले छोयो भने मलाई देवता आउँछ । मेरो शरीर शिथिल हुँदै जान्छ । काम छुट्ने, उफ्रिने, बेहोसीमै कराउने र बर्बराउने हुन्छ ।’ उनले दुई वर्षअघि त्यस्तै हुँदा अस्पताल लगिएको घटना सुनाइन् । अस्पतालमा पनि ठीक नभएपछि धामीझाँक्रीको शरणमा गएको समेत सुनाइन् । उनलाई धामीले सुझाए, ‘तल्लो जातका मानिससँग सचेत हुनू । उनीहरूको नजिक नपर्नू । नछुनू ।’ सबै घटना सुनाउँदै उनले भनिन्, ‘त्यो घटनापछि म सतर्कता अपनाउँछु । तिमी घरभित्रै पसिसक्यौ । अन्य कोठामा नजानू । तिमी गएपछि घर चोख्याउनुपर्छ ।’

उनको बयान सुनिसक्दा म त्यहाँ बसिरहनु नैतिकताले मिल्दैन थियो । तर, रात छिप्पिसकेको थियो । सडक सुनसान भइसकेको थियो । आफ्नी आमाको कुराले मेरो साथीलाई निकै अप्ठ्यारो परेको मैले बुझेँ । आमासँगको संवाद छोट्याएर प्रसंग मोड्ने प्रयत्न गरिरहेकी छिन् उनी । तर, आमा आफ्ना गनथन सुनाइरहेकी थिइन् । रातभरि निदाउन सकिनँ । उज्यालो हुनेबित्तिकै त्यहाँबाट हिँडिहालेँ ।  त्यस दिनको घटना मेरो परिकल्पनाबाहिरको थियो । त्यो घटनापछि गाउँमा अशिक्षितले मात्रै छुवाछुत मान्छन् भन्ने बुझाइ परिवर्तन गरेँ। शिक्षितहरू झन् अरूमाथि दोष थुपारेर कूटनीतिक शैलीमा विभेद गर्दा रहेछन् भन्ने बोध गरेँ । शिक्षित भनिएकाहरू त झन् शिक्षाको आडमा विभेद गर्दा रहेछन् ।

विभेदको जिम्मा कसले लिने ?
समाजमा राम्रो ‘हैसियत’ बनाएका एकजना कथित उपल्लो जातिका दाजु छन् । उनीसँग मेरो दलित सवालमा जहिले मतभेद भइरहन्छ । उनी भन्छन्, ‘म दलितलाई विभेद गर्दिनँ । अहिलेको समाजमा दलितलाई कहाँ विभेद भएको छ ? संविधानले दलितलाई त्यतिका धेरै अधिकार दिएको छ । त्यसको प्रयोग गर्न आफूलाई सक्षम बनाउनुप-यो नि । सधैँ हिजोको कुरा गरेर हुन्छ ?’

समस्यालाई गहिराइमा नहेर्ने र जातीयताका कारण भइरहेका सामान्य भेदभावदेखि हिंसात्मक घटनालाई अनदेखा गर्ने उनीजस्ता शिक्षित कहलिएकाहरूको गैरजिम्मेवारीपूर्ण तर्क र व्यवहारले समाजमा जातीय भेदभाव ज्युँकात्युँ छ । विचारक फुकोले भनेका छन्, ‘समाजमा ज्ञान उत्पादन गर्ने काम सत्तामा रहनेले गर्छ । यसर्थ सत्तामा बस्नेले ज्ञानलाई झूटो र साँचोको रूपमा मान्यता स्थापित गर्छ । यसमा निहित स्वार्थ भनेको आफ्नो सत्ता शक्तिको रक्षा नै हो ।’ माथि उल्लिखित सहरका पात्र यही ज्ञानधारी शक्ति हुन् । उनीहरूको व्यवहारले छुवाछुतको परम्परालाई अझैँ लम्ब्याउने र ‘पाउव होल्ड’ गर्ने प्रवृत्ति देखाउँछ ।

विभेदको नयाँ स्वरूप 
काठमाडौंमा दलित भएकै कारण कोठा नदिने घटना मैले व्यहोरेको छु । यसबाट पार पाउन लामो समयसम्म ब्राह्मण साथीसँग रुम सेयरिङ गरेर बसेको छु ।  मानिसको व्यस्त जीवनशैली र पुँजीवादी सामाजिक संरचनाका कारण पछिल्लो समय काठमाडाैंमा सामाजिक सञ्जालको माध्यमबाट कोठा खोज्ने प्रचलन बढ्दो छ । मलाई पनि डेरा आवश्यकता परेकाले मैले केही ‘रुम फाइन्डर’ गु्रपमा प्रवेश गरेँ र आफूलाई उपयुक्त लागेको पोस्टमा सम्पर्क गर्न थालेँ ।

यस क्रममा एकजना दिदीसँग मेसेन्जरमा कुरा भयो, उनको आफ्नै घर रहेछ । उनले सुरुमा उनले चाहेजस्तै बहालवाला भन्दै छिटो रुम हेर्न आउनू भनिन् । तर, केही घन्टापछि मेसेज गरिन्, ‘बहिनी तपाईं आउने वेला म बाहिर हुन्छु । राति घर फर्कंदा अबेर हुन्छ ।’ मैले भोलि आउँछु नि त भनेँ । भोलि बिहानै कल गरेँ तुरुन्तै मेसेज आयो, ‘म बाहिर छु ।’ मैले तेस्रो दिन मेसेज गरेँ । अन्तिममा उनले भनिन्, ‘सरी बहिनी । आमाले जात मिल्नेलाई मात्रै कोठा दिने भन्नुभयो ।’ सायद उनले मेरो जात फेसबुकबाट थाहा पाइन् । त्यसपछि म त्यो कोठा खोज्ने ग्रुपबाट बाहिरिएँ ।

प्रविधिको पहुँचमा पुगेका शिक्षित मानिस छुवाछुत मान्दैनन् होला ठान्थेँ म । तर, त्यो मेरो भ्रम सावित भयो । समाज जति नै परिवर्तन भयो भनिए पनि विभेद उस्तै छ । मेरो जीवन भोगाइका केही परिदृश्यमा आएका गाउँकी काकी, सहरकी स्वास्थ्यकर्मी आन्टी, शिक्षित कहलिएका दाजु र सामाजिक सञ्जालका दिदीहरूले मलाई जातीय विभेद र छुवाछुतकोे बोध गराएका छन् । जातीय विभेद कुनै एउटा अवस्था र परिवेशको सीमाभित्र मात्र छैन । यो त समाजको संरचना र  मानिसको मानसिकतामा जीवित छ ।

साभार : नयाँ पत्रिका