सपना त देख्न पाइन्छ नि !

 

नरेन्द्र रौले/पहिचान – झापा, दमक स्थायी ठेगाना भएकी मेघना लामाको जन्म केटाका रूपमा भयो, तर उनका आनीबानी भने महिलासँग मिल्दाजुल्दा थिए । मेघना सानैदेखि भाँडा माझ्ने, लुगाफाटा धुने, खाना पकाउने आदि काम गर्थिन् । नारीमा हुनुपर्ने गुणहरू उनमा पहिल्यैदेखि थिए । उनलाई अनौठो महसुस हुन्थ्यो । आफूमा के भैरहेको छ, उनले त्यसको पत्तो समेत पाउन सकिनन् ।

प्लस टुपछि मात्र मेघनाले आफू ‘ट्रान्सजेन्डर’ भएको पत्तो पाइन् । त्यसबिचको समय उनका लागि निकै कठिन थियो । झापा, दमकको एभरेस्ट बोर्डिङ हाइस्कुल पढ्दा मेघना लामालाई केटाहरूले निकै जिस्क्याउँथे । ९ र १० कक्षा होस्टलमा बसेर पढेकी लामालाई कतिपयले हिजडा, छक्का भनेर उडाउँथे, अहिले उनी ती दिनका लाञ्छना सम्झन पनि चाहँदिनन् । त्यतिबेला उनी चुप लागेर, सहेर बस्थिन् । ‘म त्यस्तै छु’ जस्तो लाग्थ्यो तर मनमा तनाव भने भैरहन्थ्यो । ‘संसारमा मै मात्र यस्तो छु कि अरू पनि छन् भन्ने प्रश्न उब्जिरहन्थ्यो ।’ मेघनाले आफ्नो जीवनको भोगाइ साटिन्, ‘मनमा एकदम कन्फ्युजन थियो ।’ सबै कुराले दिक्क बनाएपछि एकपटक त उनले विषसमेत सेवन गरिन् ।

धन्न मेघनाको ज्यान बच्यो । घर–परिवारले ‘किन यस्तो गरेको ?’ भनेर सोध्दा उनले चित्तबुझ्दो जवाफ दिन सकिनन् । किनभने स्वयं उनलाई समेत थाहा थिएन, यो के भैरहेको छ ? घर–परिवार तथा समाजमा कोही उनलाई बुझ्ने खालका थिएनन् । मेघनामा आफ्ना बारेमा सबै कुरा बुझ्ने क्षमता पनि विकास भैसकेको थिएन । उनी अहिले त्यो क्षण सम्झन पनि चाहँदिनन्, बरु अब अरूका लागि प्रेरणाको पात्र बन्न चाहन्छिन् । अहिले त उनलाई आफू जे छिन्, जस्ती छिन् त्यसमै गर्व छ ।

ती दिनहरूमा मेघनाको छेउमा कोही पनि पर्न चाहँदैनथे । उनका साथी पनि कमै हुन्थे । उनी प्राय: एक्लै हुन्थिन् । छेउमा आएर कसैले कुरा गर्दा उनलाई एकदमै मन पथ्र्यो । स्कुल पढ्दा खासै कसैसँग उनको प्रेम बसेन । प्लस टु उत्तीर्ण गरेपछि मेघना ब्लू डायमन्ड सोसाइटीको सम्पर्कमा पुगिन् । त्यसपछि मात्र उनले आफ्ना बारेमा सबै रहस्य थाहा पाइन् । आफू तेस्रोलिंगी भएको चाल पाएपछि उनलाई खासै नौलो त लागेन, बरु बिस्तारै सहज महसुस हुन थाल्यो । उनी खुलेर आफ्ना बारेमा अरूलाई भन्न थालिन् ।

झापाको दमकबाट सन् २०१० मा काठमाडौं उक्लिएकी मेघनामा यो आत्मविश्वास त्यसै आएको भने होइन । उनले संघर्षका धेरै घुम्ती पार गरेकी छिन् । दमक मल्टिपल क्याम्पसबाट म्यानेजमेन्टमा प्लस टु उत्तीर्ण मेघना दमकमै बसेर केही गर्न चाहन्थिन् । १६ वर्ष पुग्दा उनले अकल्पनिय दुर्घटना बेहोर्नुपर्‍यो । परिवारका दुई सन्तानमध्ये उनी एक्ली छोरी हुन् । उनका दाइ मिरेनको सडक दुर्घटनामा ज्यान गयो । उक्त घटनापछि मेघना विक्षिप्त भइन् र उनको जीवनमा एउटा गम्भीर मोड आयो ।

आमा–बुबालाई कन्भिन्स गरेर मेघना सात वर्षअघि काठमाडौं आइन् । यता आउनुअघि उनी ब्लू डायमन्ड सोसाइटीको दमक शाखाको सम्पर्कमा पुगेकी थिइन् । त्यतिबेला यो संस्थाका बारेमा धेरै कुरा थाहा थिएन । उनले खासै ठूलो सहयोग भने कहीं–कतैबाट पाइनन् । काठमाडौंमा उनको नयाँ संघर्ष सुरु भयो । काठमाडौंको झोंछेमा उनले साझेदारीमा पिंक टिफिनी रेस्टुराँ पनि खोलिन् । अहिले ठमेलमा साझेदारीमै उनले अर्को रेस्टुराँ सुरु गरेकी छिन् । सुरुमा काठमाडौं आउँदा उनमा यहाँको परिस्थिति एवं वस्तुस्थितिका बारेमा उतिसारो ज्ञान थिएन । कालोपुलमा उनी आन्टीसँग बस्थिन् ।

ती आन्टी उनलाई साथीजस्तै लाग्थिन् । ब्लु डायमन्ड सोसाइटीमा दुई महिना भोलेन्टियरका रूपमा काम गरिसकेपछि उनले हटलाईन अपरेटरको जागिर सुरु गरिन् । मेघनाले अरूलाई काउन्सिलिङ गर्ने तथा मानवअधिकारका बारेमा वकालत गर्ने जिम्मेवारी पाइन् । एकातिर जागिर त छँदै थियो, उनले बागबजारको आईएसी कलेजमा फेसन डिजाइनिङको अध्ययन पनि प्रारम्भ गरिन् । युवा नामक संस्थामा आबद्ध भएपछि उनको ज्ञानको दायरा फराकिलो बन्दै गयो । आफूजस्तै ट्रान्सजेन्डरका लागि उनले तालिम पनि दिइन् । देशभरबाट छानिएर आएका २५ जनालाई उनले दिएको प्रशिक्षण सशक्तीकरण, व्यक्तित्व विकास, अभिनय, चलचित्र निर्देशनजस्ता विषयमा केन्द्रित थियो ।

मेघनाले ४० भन्दा बढी फेसन शोमा भाग लिइसकेकी छिन् । मोडलिङ तथा फेसन शोमा रुचि राख्ने लामालाई जयन सुब्बा मानन्धरले ब्रेक दिएकी हुन् । सन् २०१० मा मिस पिंक नेपालको उपाधि हात पारेपछि उनी नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्ड पुगिन् । त्यस्तै उनी फिलिपिन्स र भारत समेत पुगेकी छिन् । एउटा सर्वेक्षणका क्रममा उनले भारतका नयाँ दिल्ली, मुम्बई, गोवा आदि सहर चहारिन् । अहिले आफूले लगाउने पहिरन उनी आफैं डिजाइन गर्छिन् । कसैले स्पेसल अर्डर गर्‍यो भने पनि उनी पहिरन डिजाइन गरिदिन्छिन् ।

मेघना बिन्दास टाइपकी छिन् । उनी आफूलाई जे राम्रो लाग्छ, त्यही गर्छिन् । रेस्टुराँ चलाउनु उनलाई मन पर्ने काम हो । मेघनाको नजरमा प्रेम के हो ? ‘खै थाहा छैन हौ, यो विषयमा ।’ अलिकति सोचेपछि उनमा हाँसोको फोहोरा छुट्यो, ‘प्रेम भनेको माया हो । आमा र बच्चा, परिवार तथा केटाकेटीबीच पनि माया हुन्छ ।’ तपाईं कुनै व्यक्ति विशेषको मायामा हुनुहुन्छ ? उनलाई फेरि सोधियो । ‘यो कुरा कम्पिलिकेटेड छ ।

ऊ बाहिर छ । लङ डिस्ट्यान्स छ ।’ उनले भनिन्, ‘हामी पहिले दुई वर्ष लिभिङ टुगेदरमा बस्यौं । सबै कुरा मिल्यो भने विवाह गर्ने विचार छ ।’ स्कुल पढ्दा उनको एक जना केटासँग ‘लभ’ पर्‍यो । त्यस्तै ९/१० मा पढ्दाखेरिको कुरा हो । उनी केटाको पहिरनमा थिइन् । उनलाई केटाकेटाबीचको माया सफल हुँदैन जस्तो लाग्यो । एसएसलसीपछि उनीहरू आ–आफ्नो बाटो लागे । एकपटक उनको घरबाट विवाह गराइदिने प्रयास पनि भयो । उनले कन्भिन्स गरिन् । अन्तत: उनको यात्रा काठमाडौंतिर सोझियो । ‘म आफूलाई एकदमै लक्की फिल गर्छु ।’ बीचबीचमा अंग्रेजी शब्द घुसाउने बानी लागेकी मेघनाले भनिन्, ‘आफू ट्रान्सजेन्डर भएकोमा प्राउड फिल गर्छु ।’

‘उमराव जान’ उनको सबैभन्दा प्रिय चलचित्र हो । उमराव जान उनले अहिलेसम्म २० पटकभन्दा बढी हेरिन् होला । त्यसमा रेखा र ऐश्वर्याको चरित्रले उनलाई सबैभन्दा बढी छुन्छ । चलचित्र उमराव जानका गीत उनलाई अझ बढी मन पर्छन् । ‘उमराव जान’ मा समाजले महिलालाई हेर्ने नजर तथा महिलाको दु:ख बेजोड ढंगमा उतारिएको छ भन्ने लाग्छ उनलाई । दु:खै–दु:खमा समाप्त हुने कथा उनलाई यति मन पर्छ कि उनी बेला–बेला युट्युबमा अहिले पनि त्यस्ता चलचित्र हेर्छिन् ।

मेघनालाई राजनीतिमा त्यति रुचि छैन, बरु साहसिक खेलहरूमा उनको रुचि छ । प्याराग्लाइडिङ, बन्जिजम्प,  र्‍याफ्टिङ आदि उनलाई खुब मन पर्छन् । नाच्न तथा चलचित्रको स्क्रिप्ट लेख्न पनि खुब मन लाग्छ । ‘तपाईं आफूलाई रिभोलुस्नरी मान्नुहुन्छ ?’ ‘हल्का छु जस्तो लाग्छ ।’ मेघनाले हाँस्दै भनिन् ।

युवाहरू बिदेसिनुभन्दा यतै बसून् भन्ने लाग्छ उनलाई । एउटा अनाथाश्रम खोल्ने उनको सपना छ । ‘पूरा होला/नहोला भन्न सक्दिनँ,’ मेघनाले भनिन्, ‘तर सपना देख्न त पाइन्छ नि ।’ मेघनाको आत्मविश्वास हेर्दा यस्तो लाग्छ, उनले आँटेको कुनै पनि काम अधुरो भने रहँदैन ।

साभार : कान्तिपुर साप्ताहिक