तिर्थमान भन्छन्, मस्यौरा भेज होइन ! (अडियो सहित)

काठमाडौँ (पहिचान) बैशाख २८ – तिर्थमान शाक्य विगत १६ बर्ष देखि नील हिरा समाजसँग आवद्ध छन् । काठमाडौँ किर्तिपुरका रैथाने शाक्य समाज स्थापना भएको १ बर्ष पछि समाजसँग जोडिन आएका थिए । समाजमा कार्यालय सहयोगीको काम गर्दै आएका शाक्यको घरमा आमा र शाक्यकी पत्नी छिन् । तीन महिना अगाडी मात्रै उनका पिताको निधन भएको थियो । उनको परिवारमा दाई भाई पनि छन् । उनका दिदिबहिनी पनि छन् । जसमध्ये धेरैको बिहे भईसक्यो । समाजमा आएको करिब ६ बर्ष पछि उनले पनि बिहे गरेका थिए ।

चाहाना त उनको ब्रम्हचारी बस्ने थियो । परिवारको करकापमा परेर बिहे गर्नुपरेको उनी बताउँछन् । “बिहे नगरी ब्रह्मचारी बस्ने भनेको थिए, तर पाईदैन रैछ ।” उनी सुनाउँछन् । घर, परिवार र समाज हेर्नुपर्ने भएकाले बिहे गर्नुपरेको उनी बताउँछन् । उनी आफ्नो बिहेको कथा आमासँग जोड्न चाहन्छन् । “ बच्चा बेलामा सुख दुःख गरेर आमाले हुर्काउनुभयोे, आज आएर आमाको आँसु हेर्न नसकेर बिहे गरेको हुँ ।” आमाको खुसिको लागि आफुले बिहे गरेको बताउँछन शाक्य ।

बाल्यकालदेखि नै उनलाई केटी जस्तो बन्ने रहर थियो । केटीको जस्तै पहिरन लागउने, केटीको जस्तै कपाल पाल्ने । तर रहरहरु सबै कहाँ पुरा हुन्छन र ? “ बच्चा बेलामा मेरो केटी बन्ने रहर पुरा हुन पाएन ।” उनी नोस्टाल्जीक हुँदै सुनाउँछन् । “७ बर्ष देखि नै केटी बन्ने रहर थियो, केटी बन्ने रहर कसैलाई भन्न सक्दिन थिए अनि एक्लै एक्लै आँसु बगाउँथे ।” एकान्तमा उनले आफैलाई प्रश्न गरेका छन “म किन केटा भएर जन्मे ?” जवाफ कतै थिएन । यही जवाफ खोज्दै जाँदा उनी समाजसँग जोडिन आईपुगे ।

जीवन विरोधाभाष हो । जब जीवनमाथि नै प्रकृतिले थप एडिसनल विरोधाभाष दिन्छ तब पीडा पनि दोब्बर हुन्छन् । पीडाको डोरी सुल्झाउँदा सुल्झाउँदै आफ्नो पहिचानमा समेत शंका उत्पन्न हुन्छ । शाक्यको हकमा पनि यही लागु हुन्छ, उनले बिहे गरेका छन्, उनलाई केटी बन्न पनि रहर छ, अनि उनलाई पुरुष पनि मन पर्छन । पहिचानको यो द्धन्द्धमा उनी बेला बेला आफै कन्फु्युज पनि हुन्छन् ।

जीवनको यो पहेलीलाई उनी जिब्रोको स्वादको उपमा दिन्छन् । “कसैलाई रागाँको मासु मन पर्छ, कसैलाई खसिको मासु मन पर्छ, कसैलाई कुखुराको मासु तर अन्तिममा खाने त मासु नै हो ?” उनी थप्छन “ मान्छेहरु मस्यौरालाई भेज (शाकाहारी) भन्छन, तर त्यसमा पनि मासु मिसाईएको हुन्छ रे ।” यही हो जीवनको परिभाषा उनको लागि ।

उनी यो उपमालाई सिरियसली नलिन पनि आग्रह गर्छन् । “मान्छेले आफ्नो स्वाद अनुसारको खाने हो, स्वाद अनुसारको रोज्ने हो, कहिलेकाही जीवन मस्यौरा जस्तै हुन्छ, हेर्दा र सुन्दा त भेज हुन्छ तर भित्र मासु पनि हुन सक्छ ।” उनी हाँस्दै भन्छन् । अब मस्यौरालाई भेज भनेर खाने या नन भेज भनेर खाने, त्यो खाने मान्छेमा निर्भर गर्छ ।

४० बर्षको उमेरमा यात्रारत शाक्य अझै पनि सार्वजनिक रुपमा आफ्नो पहिचान खोल्न चाहदैनन् । आफ्नो पहिचान खोल्दा पार्टनर रिसाउला कि भन्ने डर छ उनको मनमा । ४० बर्षे यो यात्रामा उनको जीवनमा कति पार्टनर आए त ? “त्यो त भन्नै सक्दैन नि, कति आए कति ।” उनको सपाट जवाफ छ । उनले सबैभन्दा लामो समय विताएको सम्बन्ध १० बर्षको हो ।

१० बर्ष सँगै विताएका शाक्यका पार्टनरले अन्तमा बिहे गरे तर शाक्यसँग होइन अर्कैसँग । “ उनीसँग जीवन विताउन त सकिन्थ्यो, तर उनलाई र उनको परिवारलाई बच्चा चाहिने, म त बच्चा जन्माउन सक्दिन नी, फेरी समाजले के भन्ला भन्ने डर पनि थियो ।” सम्बन्ध टुट्नुको कारण खोतल्दै शाक्य भन्छन् । “ प्रेम गरेर र मन पराएर मात्रै केही हुँदैन रहेछ, १० बर्ष भनेको ख्याल ख्याल होइन नि ?” उनी प्रतिप्रश्न गर्छन् ।

यो १० बर्षे प्रेम यात्रामा शाक्ले तीन पटक त आत्महत्याको प्रयास गरे । आखिर किन त ? “ यो लभमा यस्तै हुँदो रहेछ, म त कसैले पनि लभ नगरोस भन्छु ।” उनले कारण त खोलेनन तर केही सुझाव भने दिए “ शरिरै त्याग गर्ने गरि प्रेम नगर्नुहोस । हाम्रो आमा बाउले बच्चामा हामीलाई हुर्काएको हुन्छ, हामीलाई ठूलो बनाउन कति सँघर्ष गरेको हुन्छ । त्यही भएर कसैको लागि ज्यान चै फाल्नु हुन्न ।” भारतीय अभिनेता सलमान खानको उदाहरण दिदै शाक्य भन्छन् “ सलमान खान कति बुढो भईसक्यो तै पनि उसलाई बच्चा देखि बुढाले मन पराउँछन्, म पनि ४० बर्ष मात्रै पुगेको हुँ, मन बुढो भएको छैन ।” मन मिल्ने हो भने आफु अझै प्रेम सम्बन्धमा बस्न इच्छुक रहेको संकेत शाक्यले गरे ।

समलिंगी सम्बन्धमा रहँदा सम्बन्ध जोगाउन भन्दा सम्बन्ध लुकाउन झन धेरै समस्या हुने गरेको शाक्यको भोगाई छ । आजभोली भने उनकी आमालाई उनको बारेमा जानकारी छ । शाक्यकी श्रीमतीले एक पटक उनलाई “हिजडा” भनेकी रहिछन, अनि शाक्यले पनि जवाफी कार्बाही गरे । त्यसयता श्रीमती त्यसो भन्न छाडेको बताउँछन शाक्य ।

नील हिरा समाजको नर्वेजिएन परियोजनामा जागिर गर्ने उनको नियमित जीवनचर्या छ । बिहान कार्यालय आउने साँझ घर जाने । यसका अलवा उनी कहिलेकाही पुराना साथिसँग भेटघाट गर्छन दुःख सुखका कुरा गर्छन् । बेला बेला उनको हुदयमा त्यो १० बर्ष लामो प्रेम सम्बन्धले पनि चिहाँउछ सम्झनाका पर्दा उर्घादै, अनि त्यसपछि उनी हुदयको झ्याल बन्द गर्छन् ।

बाईसेक्सुअलाई दुई लिगीं पनि भन्छन् । तर त्यसो हुँदैन भन्छन शाक्य । “आमाले जन्माउँदा त छोरा नै जन्माएको हो, ठूलो हुँदै गर्दा छोरीको चाल मन पर्न थाल्यो……….. अझ मलाई त पुरुष पनि मन पर्छ……।”

उनलाई छक्का, हिजडा शब्द सुन्ने बानि परिसक्यो । आफ्नो आमा बुबाको अगाडी चाहि कसैले यस्ता शब्द प्रयोग नगरिदेओस भन्ने चाहन्छन शाक्य । “बाटोमा हिड्दा कसैले छक्का भन्यो भने म पनि सत्ता भनेर जवाफ फर्काउँछु, तर आमा बुबाको आगाडी भन्यो भने चै चित्त दुख्छ ।” आमा बुबाको अगाडी कसैले यस्तो शब्द प्रयोग गर्यो भने उनी झगडा गर्न तम्सिन्छन् । तर कतिसँग झगडा गर्न सकिन्छ र ?

संविधानमा तेस्रोलिगी, समलिंगी, अन्तरलिंगी, दुईलिंगी (यौनिक तथा लैंगिक अल्पसंख्यक ) का लागि तोकिएको अधिकारको बारेमा शाक्य जानकार छन् । तर अधिकार मात्रै नभई विभिन्न क्षेत्रमा आफुजस्ता अलपसंख्यकको लागि कोटा प्रणाली बनाएको भए जीवन निर्वाह गर्न सजिलो हुन्थो भन्छन शाक्य ।

समाजको कार्यक्रमबाटै शाक्य कम्बोडिया पनि पुगेका छन् । कम्बोडीयाको उनको अनुभव उनले विश्वका विभिन्न देशका यौनिक अल्पसंख्यकहरुसँग भेट्ने मौका पाए । उनलाई लाग्यो यस्ता मान्छेहरु संसारभर छन्, यो सामान्य हो । आज उनी आफुजस्तै धेरै साथिलाई सम्झाई बुझाई गर्न सक्ने भएका छन् । शाक्य आफुजस्ता साथिलाई रहर नभईकन बिहे नगर्न सुझाव दिन्छन् । अनि अभिभावकलाई पनि सन्तानको सबै कुरा बुझेर मात्र बिहे गराउन अनुरोध गर्छन् ।

अडियो सुन्नलाई यसमा क्लिक गर्नुहोला