एलजीबीटीआईबारे प्रष्ट उल्लेख गर्न त्रिबिलाई अधिकारकर्मी थापाको माग

काठमाडौं (पहिचान) बैशाख ३ – त्रिभुवन बिश्वबिद्यालयले २०७० सालदेखि तेस्रोलिंगी, समलिंगीय यौन सम्बन्ध, द्धिलिंगीय यौन सम्बन्ध र अंग बदल्ने यौन सम्बन्धबारे अध्ययन गराउन थालेको छ । बाबुराम आचार्यले लेखेको पुस्तकमा तेस्रोलिंग भन्नाले महिला र पुरुष भन्दा पृथक स्वभाव, प्रकृति, अपेक्षा अनुरुपको लैंगिक अवस्था हो भनिएको छ ।

समाजमा तेस्रोलिंगीका मानिसहरु हुने भन्दै पुस्तकमा यीनीहरुको उपस्थिति देखिएको लेखिएको छ । तेस्रोलिंगीको लैंगिक व्यवहार र सम्बन्धबारे महिला महिला र पुरुष पुरुष वीच यौन सम्बन्ध हुने पुस्तकमा उल्लेख छ ।

पुस्तकको १ सय १४ पेजमा एउटै लिंगका वीच यौन सम्बन्ध र व्यवहार हुने समलिंगीय यौन सम्बन्धप्रति आजको समाज धेरथोर लचक बन्दै गएको लेखिएको छ । समलिंगीय यौन सम्बन्ध अन्तर्गत साधारणतया केटा केटा वीचको यौन सम्बन्धलाई गे र केटी केटी वीचको यौन सम्बन्धलाई लेसवियन भनिन्छ लेखिएको पुस्तकमा यो एउटा यथार्थ सामाजिक परिघटना हो भन्ने उल्लेख छ ।

यस प्रकारको लैंगिक सम्बन्धलाई रोमान्टीक सम्बन्ध पनि भनिने स्नातक तह दोस्रो बर्षको समाजशास्त्र तथा मानवशास्त्रमा लेखिएको छ । ‘सबै पेशा र व्यवसायमा उनीहरु सहभागि भएको अवस्था छ । यद्यपी अन्य समुहका मानिसहरुले कतिपय स्थान बिशेषमा उनीहरुप्रति नकारात्मक दृष्टिकोण राखेको पनि पाइन्छ’ पुस्तकमा लेखिएको छ ।

यो पुस्तक त्रिभुवन बिश्वविद्यालय अन्तर्गत समाजशास्त्र तथा मानवशास्त्र विषयको स्नातक तह दोस्रो वर्ष कोड नम्बर ३१३ का लागि २०७० सालमा तयार गरिएको नयाँ पाठ्यक्रममा आधारित सातौ संस्करण हो । आज भन्दा ६ बर्ष अगाडी नै पुस्तकमा समलिंगीहरुले कानूनी मान्यता पाउनुपर्ने माग पुरा गर्न आन्दोलन, वहस, पैरवीलाई सक्रिय पारेका छन् भनेर लेखिएको छ ।

समलिंगी विवाहलाई कानूनी मान्यता दिन र सामाजिक स्वीकृती प्रदान गर्नका लागि प्रयत्नहरु भएका छन् भन्ने लेखिएको पुस्तकमा हाम्रा प्रचलन, संस्कार, रिती र मान्यता सहितको संस्कृती र सामाजिक संगठनमा यस प्रकारको विवाहले परिवर्तन ल्याउन सक्छ भनिएको छ । ‘नयाँ सम्बन्धहरुको विकास हुन सक्छ । जनसंख्यामा यसले असर गर्न सक्छ । यो समाजको प्रवृति अध्ययनको बिषय बनाउनु पर्दछ’ पुस्तकमा उल्लेख छ ।

पुस्तकमा विपरित लिंगका वीचको यौन सम्बन्धलाई पृथक लिंगीय यौन सम्बन्ध अर्थात हेटरोसेक्स्यूलुटी भनिने लेखिएको छ । पुस्तकमा द्धिलिंगी यौन सम्बन्धलाई द्धैद्य यौन सम्बन्ध भनेर ब्याख्या गरिएको छ । ‘एउटा महिला वा एउटा पुरुषले आफ्नै लिंग र विपरीत लिंगकावीच आकर्षण भई यौन सम्बन्ध राख्न सक्छन् । यस प्रकारको यौन सम्बन्ध इतिहासमा प्राचीनकालदेखी नै गरिदै आएको अनुमान छ’ पुस्तकमा लेखिएको छ ।

द्धैद्य यौन सम्बन्ध राख्नेहरु समलिंगी समुह कै मानिसहरु हुने पुस्तकमा उल्लेख छ । समाजमा केही मानिसहरु विपरीत लिंगी र समलिंगीसँग सम्बन्ध राख्ने खालका हुने लेखिएको पुस्तकमा यसबाहेक उनीहरुले आँफूलाई समलिंगीका रुपमा पनि प्रस्तुत गर्न सकेका हुँदैनन् भनिएको छ । ‘नत विपरीत लिंगकावीचको यौन सम्बन्धबाट सन्तुष्ट हुन्छन् । यस अबस्थामा द्धिलीङ्गीय वा अरुबढी पक्षसँग यौन सम्बन्ध हुने गर्दछ’ पुस्तकमा लेखिएको छ ।

अंग बदल्ने यौन सम्बन्धबारे भने पुस्तकले प्रष्ट पार्न नसकेको तेस्रोलिंगी अधिकारकर्मी ज्योती थापाले बताइन । पुस्तकमा यस प्रकारको यौन सम्बन्ध पनि समाजमा लुप्त रुपमा रहेको हुन्छ भनिएको छ । पुरुषले महिलाको प्रवृत्ति र आकृतिसँग मिल्ने र महिलाले पुरुषको प्रवृत्ति र आकृतिसँग मिल्नेगरी स्वरुप परिवर्तन गरी यौन सम्बन्ध राख्नुलाई ट्रान्ससेक्स्यूवालीटी हो भनिएको छ ।

अंग बदल्नेलाई ट्राससेक्स्युवालीटी भनिने भएपनि पुरुषले महिलाको जस्तो र महिलाले पुरुषको जस्तो प्रवृृत्ति र आकृतिसँग मिल्नेगरी स्वरुप परिवर्तन गर्नेलाई तेस्रोलिंगी अर्थात ट्रान्सजेण्डर भनिने थापाले बताइन । पुस्तकमा यसलाई यौन अंग नै बदल्ने होइन भनेर लेखिदाँ अष्पष्ट भएको उनको भनाई छ । पुरुष भए महिला र महिला भए पुरुषको देखावटी संरचना तयार गरिन्छ भन्ने लेखिएको छ । ‘के हामी देखावटी हौ ? ‘ ज्योतीले प्रश्न गरिन । ज्योतीले यो नयाँ पाठ्यक्रम तयार हुनुभन्दा ७ बर्ष अगाडी नै स्नातक तहको अध्ययन पूरा गरेकी हुन् ।

जन्मदा जस्तो यौन अंगमा देखियो त्यो भन्दा फरक यौन अंगमा देखिने प्रक्रिया, व्यवहार र कार्यलाई ट्राससेक्स्यूवालीटी भनिन्छ । ज्योती भन्छिन, अंग नै परिवर्तन गरेकाहरु मात्र ट्राससेक्स्यूवालीटी हुन् ।

पुस्तकमा अन्तरलिंगी व्यक्तिको भने केही उल्लेख गरिएको छैन । तेस्रोलिंगी महिला र तेस्रोलिंगी पुरुष हुने लेखिएको छैन । त्यसैले २०७० को नयाँ पाठ्यक्रम नभई अबको नयाँ पाठ्यक्रममा आधारित रहेर त्रिभुवन बिश्वबिद्यालयले पुस्तक तयार गर्नुपर्ने अधिकारकर्मी ज्योतीको माग छ ।