“गर्लफ्रेन्डको कुरा गर्ने साथीलाई नै मन पराउथे”

काठमाडौं (पहिचान) असार १९ – सञ्जय गजमेरले आफू समलिंगी भएको १७ वर्षको उमेरमा थाहा पाए । साथीहरुले आफ्नो गर्लफ्रेन्डका बारेमा कुरा गर्थे । उनलाई इष्र्या त हुन्थ्यो तर केटीप्रती आकर्षण नै हुँदैन थियो । उनी भने गर्लफ्रेन्डको कुरा गर्ने साथीलाई नै मन पराउथे । र, त्यहीँबाट उनले थाहा पाए आँफू समलिंगी पुरुष भएको । “साथीले घुम्न जाउँ भन्थ्यो, म खुब खुसी हुन्थें, दुई जना मात्रै घुम्न जान पाउँदा,” उनी भन्छन्, “उसको खुब केयरिङ गर्थें, पछि उसले विवाह गर्यो मलाई साह्रै नरमाइलो लाग्यो, एक्लो भएको महसुस भयो ।” अहिले उनी रिलेशनसिपमा रहेको सुनाउँछन् ।

विशाल श्रेष्ठ पनि आफ्नो यौनिकताप्रति नै अनविज्ञ थिए । उनलाई केटीसाथीले प्रपोज गरिन्, उनलाई भने आकर्षण नै थिएन । उनले इग्नोर गरे । उनी भने साइन्स पढाउने शिक्षकलाई मन पराउँथे । पछि विस्तारै आफ्नो यौनिकताबारे थाहा पाए । समलिंगी साथीहरु हुन थाले र फेसबुकबाटै उनी प्रेम सम्बन्धमा बाँधिए । भलै पनि दुई वर्ष लामो प्रेम सम्बन्ध विभिन्न कारणले टुङगियो ।

पहिचानसँगको कुराकानीमा समलिंगी पुरुष गजमेर र श्रेष्ठले समलिंगी विवाहले मान्यता पाउनुपर्नेमा जोड दिए । कतिपय समलिंगी तेस्रोलिंगी कानुनले मान्यता नदिए पनि सँगै बसिरहेको भन्दै समलिंगी विवाहलाई मान्यता दिनुपर्नेमा उनीहरुको जोड छ ।

“म दुई वर्ष अगाडि नै प्रेम सम्बन्धमा थिएँ, म जस्ता धेरै साथीहरु रिलेसनसिपमा छन्, उनीहरुको समलिंगी विवाहले मान्यता पाउनुपर्छ,” विशाल श्रेष्ठ भन्छन्, “कानुनी मान्यता नभए नहोस् भनेर साथीहरु सँगै बसेका छन्, उनीहरुलाई मान्यता दिनुको अब विकल्प छैन ।”

पहिला घरमै आफ्नो पहिचान स्पष्ट नपारेसम्म समाजले समेत नबुझ्ने उनीहरुको भनाइ छ । यद्यपी परम्पराबादी समाजमा आफू समलिंगी हुँ भनेर खुल्न निकै ठूलो समस्या रहेको उनीहरु बताउँछन् ।

शैक्षिक पाठ्यक्रममा समलिंगी तेस्रोलिंगीका विषय समावेश गर्नुपर्नेमा उनीहरुको जोड छ । स्कुलमै यसबारे बुझाएको खण्डमा परिवारले समेत बुझ्ने गजमेर र श्रेष्ठको धारणा छ ।