गोविन्द वियोगी पत्रकारिता पुरस्कार थापालाई

नुवाकोट (पहिचान) माघ ६ – सम्पादक समाज नेपालले अन्नपूर्ण पोष्टका प्रधान सम्पादक हरिबहादुर थापालाई ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार ‘२०७५’ प्रदान गरेको छ । नुवाकोटको सुर्यचौरमा भएको विशेष समारोहमा पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सम्पादक थापालाई सम्मान प्रदान गरेका हुन् ।

यसैगरी इमेज च्यानलका समाचार सम्पादक डिल्लीराम बसेललाई ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार ‘२०७५’ प्रदान गरिएको छ । यसैगरी वरिष्ठ पत्रकार हरिहर विरही र रघुजी पन्तलाई वरिष्ठ पत्रकारबाट सम्मानित भएका छन् ।

गोविन्द वियोगी पत्रकारिता पुरस्कारको राशि २५ हजार १ रुपैयाँ रहेको छ भने बिशेष पत्रकारिता पुरस्कारको राशि १५ हजार १ रुपैयाँ रहेको छ । सम्पादक समाज नेपालले २०६२ सालदेखि यि पुरस्कार वितरण गर्दै आएको अध्यक्ष पुरु रिसालले जानकारी दिए ।

पुरस्कार पहिलो पटक गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रको निर्माणाधिन भवन सुर्य चौरमा वितरण गरिएको छ । केन्द्रसम्म पुग्ने २ किलोमिटर सडकलाई शिवपुरी गाउँपालिकाले सम्पादक समाज नेपालको आग्रहमा गोविन्द वियोगी मार्ग नामाकरण गरिदिएको गाउँपालिकका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए ।

केन्द्रको भवन निर्माणका लागि निरा बैद्यले १० लाख रुपैयाँ सहयोग गरिन भने सावी पहारीले टोकन मनीका रुपमा ३१ हजार रुपैयाँ सहयोग गरिन । केन्द्रको भवन दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको समाजका महासचिव श्याम डोटेलले जानकारी दिए ।