‘हाम्रो साथ जीवनभरीको हो’

काठमाडौं (पहिचान) भदौ १ – उनी जन्मदेखि नै दृष्टिविहिन हुन् । त्यसैले आँखा देख्ने र आँखा नदेख्ने मानिसमा के फरक हुन्छ भन्ने पनि उनलाई थाहा थिएन ।

जब अध्ययनको शिलशिलामा विद्यालय प्रवेश गरिन्, उनले समाजमा दुईवटा वर्ग देखिन् । एउटा त्यो जसले आँखा देख्छ र अर्काे जसले आँखा देख्दैन ।

आँखा नदेख्नेहरुमा उनले हीनताबोधको भावना पनि देखिन् ।

‘मैले कपाल कोर्दा, मैले आफैं लुगा लगाउँदा मानिस ओहो उसले त आफैं लुगा लगाउन सक्दो रहेछ, खाना खान सक्दो रहेछ भन्थे’, नवलपरासीकी नविना ज्ञवालीले भनिन्, ‘उनीहरु अचम्म मान्दै मलाई सानो सानो कुरामा पनि वाहवाही गर्थे । तर त्यो चाँही मलाई अपहेलना गरेको जस्तो लाग्थ्यो ।’

आँखा देख्ने साथीहरुले त्यही काम गर्दा त्यो सामान्य हुन्थ्यो । उनले गर्दा त्यो मानिसका लागि तालि पिट्ने वहाना हुन्थ्यो ।

पछि उनले समाजशास्त्रमा स्नातक गरिन् । शिक्षक सेवा आयोगमा नाम निकालिन् । अमेरिका गइ अध्ययन गर्न छात्रवृत्ति प्राप्त गरिन् ।
उनलाई अब शिक्षकको सरकारी जागिर र अमेरिकाको अध्ययनमा एउटा रोज्नुपर्ने बाध्यता आइप¥यो ।

उनले अमेरिका रोजिन् । ‘मैले शिक्षकको रुपमा सरकारी जागिर रोजेको भए, मानिसले अपाङ्ग कोटामा नाम निकाल्यो भन्दै फेरी अपहेलना गर्थे । अमेरिका जाँदा झन् आत्मनिर्भर हुन सिक्थें’ उनले भनिन् ।

अमेरिकामा आँखा देखिन्

नविना अमेरिका गइन् । अमेरिका जानुको एउटै कारण थियो– आँखा नदेख्नेले केही गर्न सक्दैनन् भन्ने धारणा परिवर्तन गर्नु । तर अमेरिका पुगेपछि उनलाई आँखा देखेझैं महशुस भयो ।

किनकी त्यहाँ कुनै कुरामा पनि उनले अपहेलना झेल्नु परेन । जहाँ जान्छु भन्दा पनि, जे गर्छु भन्दा पनि अचम्म मान्ने भन्दा, उनलाई प्रेरित गर्ने जमात धेरै हुन्थ्यो । उनलाई नेपालमा पनि यही वातावरण सिर्जना गर्नुपर्छ भन्ने लाग्न थाल्यो । लगभग एक वर्ष अमेरिका बसेपछि उनले एउटा संस्था खोल्ने निर्णय गरिन् ।

निर्णय गर्नुको दुईवटा कारण थियो– एउटा आँखा नदेख्नेले केही गर्न सक्दैन भन्ने धारणा परिवर्तन गर्नु र अर्काे आँखा देख्ने र नदेख्नेबीचको दुरी कम गर्नु ।

उनी नेपाल फर्किइन् र ‘ब्रिजिङ द ग्याप विट्विन ब्लाइण्ड एण्ड साइटेड’ भन्ने मूल नाराका साथ संस्था खोलिन् ।

संस्थाको नाम राखियो– मानवताका लागि सहकार्य समाज (साथ) ।

नविनाको विषेश सोच र विषेश संस्था

‘दृष्टिविहीनले दृष्टिविहीनका लागि संस्था खोलेको छ । अपाङ्गले अपाङ्गको लागि । तर दृष्टिविहीनले आँखा देख्नेका लागि समेत खोलेको संस्था पहिला थिएन । त्यसैले यो संस्था स्थापना गरेकी हुँ’ उनले भनिन् ।

संस्था मार्फत आँखा देख्ने र नदेख्नेबीचको दुरी घटाउने काममा उनी लागेकी छिन् ।

‘हाम्रो संस्थामा आँखा देख्ने र नदेख्ने सँगै बस्न सक्छन् । सँगै काम गर्न सक्छन्’ उनी भन्छिन्, ‘उनीहरुको धारणामा परिवर्तन आयो भने, उनीहरुको परिवारसम्मै सकारात्मक सन्देश पुग्छ ।’

नविनाका अनुसार दृष्टिविहीनहरुमा एकाग्रता झन् धेरै हुन्छ । उनीहरुको कार्यक्षमता झन् बढी हुन्छ ।

सिधा अर्थमा भन्ने हो भने ‘सकारात्मक उर्जा’को लागि उनले यस संस्थाको स्थापना गरिन् । वृहत्त रुपमा भन्नु पर्दा नेपालमा रहेका ०.९ प्रतिशत आँखा नदेख्ने मानिस र ९९.१ प्रतिशत आँखा देख्ने मानिसका लागि यस संस्थाको स्थापना गरिन् ।

उनलाई साथ दिन आइन् संगिता श्रेष्ठ ।

नविनाको भनाई अनुसार उनलाई सबैभन्दा नजिकबाट बुझ्ने व्यक्ति नै संगिता हुन् । संस्था दर्ता गर्नेदेखि संस्थाका योजना बनाउने सम्मका काममा नविनालाई संगिताले साथ दिएकी छिन् । संस्थाको संस्थापक पनि उनीहरु दुबैजना हुन् ।

संगिता भन्छिन्– ‘हाम्रो साथ जीवनभरीको हो ।’

नविना भन्छिन्– ‘हाम्रो साथ देख्दा पूर्वजन्ममा विश्वास गर्ने कि नगर्ने भन्ने लाग्छ ।’

के गर्छ नविना र संगिताको संस्थाले ?

मानवताको लागि सहकार्य समाज (साथ) मार्फत उनीहरुले पहिलो चरणमा कुकिङ अर्थात् खाना बनाउने तालिम सञ्चालन गरेका छन् । यस कार्यक्रममा आँखा नदेख्ने र आँखा देख्ने दुबैलाई सँगै राखेर खाना बनाउने तालिम दिइन्छ । यसो हुँदा नविनाको ‘आँखा देख्ने र आँखा नदेख्नेबीचको दुरी’ हटाउने सपना साकार हुने बाटो तर्फ अघि बढ्छ ।

यसका अलवा सामाजिक चेतना फैलाउने र दृष्टिविहीनलाई आत्मनिर्भर बनाउने काम उनीहरुको संस्थाले गर्दै आएको छ ।

भावी योजना

नविना र संगिताले भविष्यका थुप्रै योजना बनाएका छन् । तीमध्ये ‘टिकटिक बाइट्स्’ उनीहरुको ड्रिम प्रोजेक्ट हो । आँखा नदेख्नेहरुले एउटा खाजा घर स्थापना गर्ने र डेलिभरी समेत गर्ने नै टिकटिक बाइट्स् हो । जहाँ खानेकुरा मात्र पाक्ने छैन ।

आँखा देख्ने र नदेख्नेबीच अन्र्तक्रियात्मक कार्यक्रम समेत सञ्चालन हुने छ । इनडोर र आउटडोर खेल समेत खेलाइनेछ ।

साथै देशका सातैवटा प्रदेशमा आफ्नो संस्थाको विस्तार गर्ने पनि उनीहरुको योजनामा छ ।

अन्त्यमा,

नविना हाल बल्खुमा बस्छिन् । उनको कोठा पुग्ने जो कोहीलाई पनि उनी दृष्टिविहीन हुन् भन्ने महशुस नै हुँदैन ।

किनकी एउटा सामान्य मानिस जस्तै छ उनको जीवनशैली । निकै सुखमय छ पारिवारिक जीवन । कपिलवस्तुका अर्जुन पौडेलसँग तीन वर्षअघि उनको विवाह भएको थियो । उनी पनि दृष्टिविहीन हुन् ।

दुबै दम्पत्ति मिलेर घरको काम गर्छन् । एउटाले खाना पकाउँदा अर्काेले भाँडा माझ्छ ।

सुरुसुरुमा उनीहरुको जोडि देख्ने मानिस दंग पर्थे । तर आजकल सामान्य मान्छन् । किनकी आँखा नदेख्नेले आँखा देख्नेले झैं काम गर्दा दंग पर्नु र अचम्म मान्नु अपहेलना गर्नु हो भन्ने धेरैले बुझ्दै गएका छन् । नविना यसर्थमा खुसी हुन्छिन् । आफ्नो लक्ष्य पूरा गर्दै गएकोमा गर्व गर्छिन् ।