उसले सरी भनेपछि…


काठमाडौं/पहिचान – मरुभुमी तुल्य मेरो कथा । मिराज जस्तै भयो मेरो मिठो सपना । जो आजसम्म पुरा भएन । र, पूरा हुने कुनै लक्षण पनि देखिरहेको छैन मैले । त्यस्तो जीवन जो सायदैले भागेका होलान । भोग्ने त के अझ भनौं सायदैले सुनेका होलान् ।

हो अरुले भोग्नु त के सुन्दा पनि नसुनेको त्यस्तो जीवन । जो म भोगिरहेको छु । दिनहुँ मरिरहे छु । पलपलमा मरिरहेको मेरो जीवन कथा, सत्य उल्लेख गरिएको मेरो कथा । एउटा सत्य तर, दुःखद कथा, मात्र तपाइँका लागि ।

प्रेममा असफल भएपछि पागल सरी भए म । सानो छँदा अरुको प्रेम हेरर दंग पर्ने म ठूलो भए पछि, म पनि त्यस्तै प्रेम गर्छु भन्ने सोच्थें । सँगै हिडेको । हातहातमा हात समाएर, गलामा गला मिलाएर हिँड्ने किशोर किशोरीको प्रेम जीवन आक्कल झुक्कल देखेर पनि म रोमाञ्चित हुन्थे ।

बच्चा बेला मलाई मेरा बाबु आमाले डाक्टर, पाइलट वा इन्जिनियर बन्नु पर्छ भन्नु हुन्थ्यो । म हो मा हो मिलाउँथे । हुन्छ, सूचकको सकारात्मक टाउको हल्याउँथे । उहाँहरु छोरो ज्ञानी छ । यसले चाँही केही गर्छ भन्नुहुन्थ्यो । बाबु आमा खुसी हुनुहुन्थ्यो । म पनि उहाँहरुसँगै खुसी हुन्थे ।

तर डाक्टर, पाइलट वा इन्जिनियर मात्रै होइन । अर्को एउटा सपना पनि देख्थें म । र त्यो हो प्रेम गर्ने । ठूलो भएपछि म पनि एउटी सुशील सुन्दरीसँग गलामा गला मिलाएर हिड्ने सपना देख्थें । तर, यो मेरो अन्तरआत्माको चाहना कसैलाई पनि भन्दिन थिएँ । केवल यो सपना मेरो मनमै सिमित थियो । मनको कुनाको भित्रि तहमा छोपेर राखेको थिएँ । कसैले नदेख्ने गरी ।

खै यो सपना ममा कसरी प्रवाहित भयो । म स्वयमलाई थाहा छैन । हाम्रो घरमा मैले जान्दा देखि नै टिभी थियो । त्यसमा सिनेमाहरु आउँथे । ति सिनेमाहरु म पनि हेर्थे । ती सिनेमा म कहिले देखि हेर्न थाले त्यसको तिथि मिति मलाई अहिले कसैले सोध्यो भने थाहा छैन । तर, यति भने म भन्न सक्छु । त्यो मलाई याद छैन । ति सिनेमामा हिरो हिरोनी सुनसान खोला किनारमा आउदा गोडा पानीमा डुबाएर टांसिएर बसेको देखेर मलाई खुब इष्र्या लाग्थ्यो । मलाई पनि मेरै उमेरको कोही सँग त्यसै गरु गरु जस्तो लाग्थ्यो । सायद तिनै दृश्यको प्रभाव पनि हुनुपर्छ । मलाई पनि प्रेम गर्ने रहर उमेर अघावै पलाएको ।

सिनेमा सिनेमा नै थियो । यथार्थ जिन्दगी फरक थियो । मेरो उमेर सानै थियो । कलकल बगिरहेको सुन्दर खोलामा आधा गोडा खुट्टा चोपलेर बस्ने उमेर भएकै थिएन । त्यसमा पनि काठमाडौंमा मैले देखेको बाग्मतीमा न सिनेमामा देखेको जस्तो सेतो पानी बग्थ्यो न रुद्रमती र टुकुचामा नै । ठूलो भएपछि को सँग मायाँ पिरती गाँस्ने होला र सिनेमाको जस्तो कलकल गर्दै बग्ने कञ्चन पानी कहाँ खोज्ने होला भनेर म घोत्लीरहन्थें । मलाई आज लाग्छ । त्यो सपना टेलिभिजनको दोष थियो । बालमनोविज्ञानको उपज थियो । म त केवल निर्दोष थिएँ ।

घण्टाघरको सुई घुमिरह्यो । त्यो सुईसँगै सायद पृथ्वी पनि घुमिरह्यो । मेरा आकांक्षाहरु पनि बढिरहे । सपनाहरु परिवर्तन हुन थाले । उमेरका दोषहरु देखिन थाले । म जिन्दगी भन्दा फरक, पुरै विक्षिप्त भएँ म त्यती बेला, जब उसले लत्याएर गयो ।

मलाई मेरो कथा भन्ने कुनै रहर छैन । बेदनाको मनभरीको पोको खोलेर भन्दैमा केही हुने पनि होइन । मात्रै मन हलुंगो हुने हो । म कोसँग कसरी सम्बन्धमा बाँधिए त्यो त म सबै भन्न सक्तिन पनि होला तर जति सक्छु भन्ने प्रयास गर्दैछु आज ।

चोखो मायाँ लगाउन खोज्दा धोका अनि बिछोडको बेदनाको एउटा समष्टि रुप हो मेरो जिन्दगी । मायाँ, धोका, बिछोड अनि त्यस पछिको रुवाई सायद यही हो मेरो जिन्दगी ।
मैले सुनेको दिनपछि रात अनि रातपछि दिन हुन्छ । र देखेको पनि यही हो तर, खोइ यो प्राकृतिक नियम पनि मेरो जिन्दगीमा लागु भएन । मलाई प्रकृतिले नै ठग्यो । त्यसैले प्रकृति प्रद्धत नियम पनि लागु हुन सकेन सायद म मा ।

मेरो जिन्दगीको हाँसो, खुसी र मिलन मैले फर्काउन नखोजेको पनि होइन तर सकिन । आँसु, हाँसो अनि मिलन जिन्दगीको रित नै हो । तर, पनि म भने यसबाट सँधै टाढै रहनु पर्यो ।

मेरो जिन्दगी बगेको खोला सरी रहेछ । बगेपछि कहिल्यै नफर्किने । खुसी थिएँ म त्यो हराएर गयो, साथी थिए मेरो ति छोडेर गए । हाँसो थियो मेरो चेहरामा त्यो पुछिएरै गयो । उल्लास थिएँ म समयले मलिन बनाएर गयो ।

यही हो मेरो जीवनको कथा । तर, यत्ति मात्रै भने होइन । सकिएको छैन । अझै बाँकी छ । परिस्थितिसँग जुझ्दै जीवनमा आउने पीडादायक क्षणको सामना गर्दै जीवनसँग खेल्नु अनि मनले नचाहाँदा नचहाँदै पनि त्यसलाई आत्मसाथ गर्नु मेरो दैनीकि भएको छ ।

कसरी सुनाउँ म मेरो आँसुको कथा, कसरी सुनाउँ म आँसुको पोखरीमा हेलिएको जीवन कथा । यति लेखिसक्दा पनि मैले उसको कथा भने भन्नै सकिन । जसले मलाइ जिउन सिकायो । जसले मलाइ हात दिएर उठायो उसको नाम म कसरी लिउँ । मलाइ असज भइरहेको छ । जव उ आयो । मेरो जिन्दगीको ढोकाबाट भित्र खुसी छिर्यो । जब उ मेरो जिन्दगीबाट निष्कियो उ सँगै झ्यालबाट खुसी पनि फुत्त वाहिर निष्कियो । मेरो छायाँ पनि जिन्दगीबाट निष्किए पछि म कसरी बाँचिरहेको छु होला ? तपाइँ आफै पनि कल्पना गर्न सक्नु हुन्छ ।

घण्टाघरको सुई घुमिरहेको थियो । मेरो उमेर पनि वढ्दै गइरहेको थियो । मलाई सँगै कक्षामा पढ्ने एक जना केटाले मन पराउन थालेको थियो । म पनि उसलाई खुब मन पराउन थालेको थिएँ ।

मेरो स्वभाव फरक थियो । मलाइ मेरो स्वाभाव देखेर आफैंलाई डर लाग्थ्यो । तर जब मैले मेरै स्वभावको अर्को साथी भेट्टाएँ । मलाइ डर लाग्न छोड्यो । उसले म सँग फरक व्यवहार गथ्र्यो । मैले उसलाई चिनें । उसले पनि मलाई बुझ्यो । हामीले आफ्नै सपना देख्न थाल्यौं ।

मान्छेहरु हामीलाई देखेर छक्क पर्थे । हामीलाई पनि अचम्म लाग्थ्यो । जिन्दगी हाम्रो थियो । जीवन रहस्यमय कल्पना हो । हामी त्यही कल्पनामा डुब्थ्यौं र त्यतै कतै हराउँथ्यौं । महिला पुरुष हराए जस्तै । हाम्रा लागि त्यो चुनौति थियो हामीलाई त्यो सामना गर्नु थियो । हामी तयार थियौं । त्यसका लागि हामीले आफूलाई बलियो बनाउँदै लगेका थियौं । जिन्दगी चुनौती हो सामना गर्न सक्नु पर्छ र सिक्नु पर्छ भन्ने लाग्थ्यो ।

तर, सोचे जस्तो कहाँ हुँदो रहेछ र जिन्दगी । भोग्नु फरक पर्दोरहेछ । जो म आज भोगिरहेको छु । आखिर जिन्दगी सम्झना रहेछ । कहिल्यै बिर्सन नसक्ने छायाँ रहेछ साथी । जसलाई पलपलमा सम्झिएर बाँच्नुपर्दोरहेछ । जो म बाँचिरहेछु ।

समय आयो हुरी बनेर । सपना सबै उडायो, क्षणभरमै आफू सँगै लिएर गयो । म यहाँ एक्लै भएँ । फगत एक्लै । मान्छे बिलाएर गयो । तर, यसको सम्झना कहिल्यै बिलाएर गएन । मखमली फूल रहेछ उसको मायाँ मुटुको बीचमा फूलेर बसिरह्यो । म हटाउन खोज्थें उसको मायाँ । फाल्न खोज्थें उसको सम्झना । र, निकाल्न खोज्थें उसको छायाँ यो मुटुबाट तर झन झन स्पठिक भएर टासियो त्यो छाया ।

अगाडी समस्याको पहाड थियो तर हामी घरजम गर्दै थियौं । हामी समाज भन्दा बिलकुल फरक थियौं तर नजिर बन्न खोज्दै थियौं । उमेर भइसकेको थियो । उसको घरमा विवाहको कुरा चलिरहेको थियो । उसले त्यसलाई टार्दै आइरहेको थियो । हामी रमाइरहेकै थियौं ।

एक दिनको विहान, चाबहिलको एउटा कलेजको कम्पाउण्ड । उसले सरी भन्यो ।
म अचम्ममा परें । उसले घरको प्रेसर थेग्न सकेन रे । सुन्दर सुशीला केटीसँग विवाह गर्नेै पर्ने भयो रे ।

हिजो सम्मको ऊ र आजको ऊ । ३८० डिग्रीको फरक देखियो । भन्दै थियो ऊ उनी मेरो चाहाना होइन । बाध्यता हो । मैले सोचें यो कसरी हुन सक्छ ? कसरी चल्छ जीवन ? र, कसरी हुन्छ जीवन सुखी ?

ऊ आयो मेरो जिन्दगीमा हुरी सरी र गयो पनि हुरी सरी नै । ठूलो धक्का दिएर । उठ्नै नसक्ने गरी । बस सम्झनाको सागरमा डुब्नु रहेछ जिन्दगी । सम्झिरहेछु आज पनि उसलाई । जिन्दगीका लागि संघर्ष गर्दा आफ्नै साथीको साथ नपाउँदा मणी विनाको सर्प जस्तै हुँदोरहेछ जिन्दगी ।

प्रेमको सुन्दर बगैचांमा मखमी फूल फुलाउन खोज्नु ब्युझाई सँगै सकिने मिठो सपना रहेछ जिन्दगी ।
वास्तवमा यो समाज निष्ठुरी छ । आफ्नो मात्रै खुसी देख्ने र अरुको भावनामा खेल्ने यो समाज निदर्यी छ । कोपिलाउँदो कलिलो मनलाई बिछोडको काँडाले छिया छिया पारिदिने हाम्रा आफन्तहरु नै आफन्तको मनसँग खेल्दारहेछन् । परम्परा र प्रतिष्ठाको नाममा अरुको भावनाको निर्मम हत्या हुँदोरहेछ यहाँ ।

त्यसैले आज म यो निष्कर्ष निकाल्दैछुः यो सन्सार निष्ठुरी छ, स्वार्थी छ, र यो सँग लड्न निकै गाह्रो छ । जो यो समाजसँग लड्न सक्तैन ऊ जिउदो लास भएर बाँच्न बाध्य छ । उसको अस्तित्व खुलेआम लिलाम भइरहेको छ । उ दिनहुँ बलात्कृत भइरहेको छ, हरेक रात र फुर्सदमा दिन र बिहानीमा पनि । र त्यो चित्कार खुला आकास मुनी पनि हावाको झोक्का सँगै पलपलमा बिलिन भइरहेछ ।

यसमा तपाइको मत

मेरो कथाबाट अन्य समाचार