मलाई बिहे गर्छु भन्ने केटाहरूको आँटै छैन


विजेता/ पहिचान – झमझम पानीले रुझेको साँझ उनी इन्द्रेणीझैं चहकिलो मुद्रामा थापाथलीस्थित ‘बाह्रखरी’को कार्यालयमा देखा परिन् । उनको सौन्दर्यले प्रायःलाई भुत्तुक्कै बनाउँछ । म असम्पृक्त बस्न सक्थिनँ, उनको सौन्दर्य र ‘मेकअप सेन्स’ले मलाई पनि ‘कम्प्लेक्स’ भएकै हो । सुन्दरमात्रै होइन, उनी सरल र उत्तिकै बौद्धिक पनि । तेस्रोलिंगी ‘रोलमोडल’ र अभियन्ता भूमिका श्रेष्ठसँग वार्तालापको लागि समय र परिस्थिति मिलाउँदै तीन साता बितिसकेको थियो । उनी तेस्रोलिंगीहरूको हक–अधिकारको अभियानकै क्रममा देशबाहिर थिइन् । फर्केलगत्तै हामीसँग अन्तर्वार्ताका लागि राजी भइन् । यद्यपि उनको परिचय यत्तिमा मात्रै सीमित छैन, उनी नेपाली कांग्रेसमा पनि आबद्ध छिन् । ‘ब्लु डायमन्ड सोसाइटी’की इभेन्ट म्यानेजर भूमिकाले सन् २००७ मा नेपालबाट ‘मिस पिंक’को उपाधिसमेत हासिल गरिसकेकी छन् । सभासदको प्रत्यासीसमेत भइसकेकी भूमिका यतिबेला अभिनयमा पनि उत्तिकै सक्रिय हुन् थालेकी छन् । उनले ट्रान्सजेन्डर, थर्डजेन्डर अधिकारका लागि समेत वकालत गर्दै आएकी छन् । चाँडै नै उनको आत्मकथा (अटोबायोग्राफी) पनि आउँदैछ ।

नेपालमा तेस्रोलिंगी अर्थात थर्डजेन्डरलाई अझै पनि समाजिक रूपमा पूर्णतः स्वीकार गरिसकिएको अवस्था छैन । आम मानिसले पनि तेस्रो लिंगीको सही परिभाषा बुझ्न सकेका छैनन् । अझ राष्ट्रिय स्तरमा समेत तेस्रोलिंगीलाई अवसर र अधिकारबाट बञ्चित गरिएको छ, जसको विरुद्धमा तेस्रोलिंगीहरू अझै आन्दोलित छन् । त्यो आन्दोलनमा भूमिका पनि अग्रपंक्तिमै रहन्छिन् । उनै भूमिकासँग पहिचानको मुद्दा, हकअधिकार र चुनौतीको सन्दर्भमा गरिएको कुराकानी:

नेपालको सन्दर्भमा आम मानिसले तेस्रोलिंगीलाई कसरी बुझिरहेका छन् ?
अहिले समाजमा तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण र विचार सकारात्मक भइसकेको छैन । यद्यपि विगतको भन्दा फरक र फराकिलो भएको छ । पहिले तेस्रोलिंगी समुदाय, थर्डजेन्डर अथवा ट्रान्सजेन्डर भन्नेबित्तिकै घरपरिवार र समाजमा वा बाटो हिँड्ने प्रत्येक व्यक्ति हामीलाई छक्का, हिजडा र नपुंशक भनेर छिःछिः र दुरदुर गर्थे, भेदभाव गरिन्थ्यो । अहिले भने समाजिक रूपमा केही परिवर्तन भएको छ । समाजले केही हदसम्म स्वीकार गरेको छ । घरपरिवारले पनि सहज रूपमा स्वीकार्ने, बुझ्ने क्रम बढेको छ । पहिले स्कुल, कलेजहरूमा समेत भेदभाव र विभेद गर्ने स्थिति थियो, अहिले ‘हाम्रो थर्डजेन्डर समुदायका साथीहरू हुन्’ भन्दै समान व्यवहार गर्ने र सम्मान दिने सकारात्मक अवस्था छ । तर, यति पूर्ण छैन । केही परिवर्तन आएको हो, सम्पूर्ण होइन । हामीलाई यौनिक तथा लैंगिक अल्पसंख्यक भनिन्छ, त्योभित्र चाहिँ समलिंगी महिला–पुरुष, दुईलिंगी, अन्तरलिंगी र तेस्रोलिंगी पर्छन् तर आम मान्छेको बुझाइमा थर्डजेन्डरभित्र सबै पर्छ, त्योचाहिँ गलत बुझाइ हो ।

सामान्य रुपमा कसरी बुझाउन सकिन्छ त ?
सामान्यतया बुझ्दा चाहिँ जन्मिँदा कोही छोरा भएर वा छोरी भएर जन्मेका हुन्छन् । तर, हुर्किंदै जाँदा कुनै छोराको इच्छा, चाहना र अनुभूतिहरू महिलाको जस्तो हुन जान्छ भने छोरीमा पुरुषका गुण देखिन्छन् । त्यसलाई बुझाउन हामी स्वयं उभिइदिनु पर्छ, तस्बिर आफैं बोले जस्तो गरी । यसलाई फरक लैंगिक पहिचान भनेर बुझ्न सकिन्छ ।

तपाईंलाई तेस्रोलिंगीको मोडल भन्छन्, अभियानै चलाएको पनि डेढ दशक बित्यो, अझै पनि किन सबैले बुझ्न सकेनन् ?
केही हदसम्म पहिचान गराइएको हो । मेरो आफ्नै कुरा गर्दा पनि म ७ वर्षको हुँदा जस्तो प्रकारको समस्या र मानसिक यातना भोगेको थिएँ, त्यस्तो अवस्था अहिले भोग्नु परेको छैन । अहिले म एकदमै सम्मानजनक रूपमा बाँच्न पाएकी छु । अर्को जन्ममा पनि यही पहिचान दिइयोस् भन्ने कामना छ । हुन त नबुझेकाले वा गल्तीले गर्दा अझै पनि कतिपय ठाउँमा समस्या छ तर तुलनात्मक रूपमा भने सम्मान दिने गर्छन्, खासै हिंसा भोग्नु परेको छैन । स्पष्ट रूपमा भन्नु पर्दा हामीले अहिलेसम्म जे–जति समस्या भोग्यौं, त्योचाहिँ आउने पिँढीले भोग्नुपर्ने छैन । तर, सबै ठाउँमा भने बुझाउन सकिएन । समाजमा हेर्ने दृष्टिकोण सबैको फरक–फरक भएजस्तै हाम्रो पहिचानको सबालमा समेत सबैमा चेतना जगाउन सकिएको छैन ।

आफ्नो बारे बुझाउन नसक्नु तपाईंहरूकै कमजोरी हैन र ?
समाजमा चार किसीमका मानिसको बसोबास छ, एउटा बुझने, एउटा नबुझने, एउटा बुझेर बुझ पचाउने र बुझनै नचाहने । यही मासिनको बीच हामी बसीरहेका छौं । अर्थात बुझ्नेले बुझ्छन्, तर नबुझने, अबुझ भइदिने र बुझनै नचाहने व्यक्तिबाट हामीलाई समस्या छ । हाम्रो तर्फबाट कुनै कमीकमजोरी छ जस्तो मलाई लाग्दैन  । किनभने २००१ मा हाम्रो संस्था ब्लुडाइमण्ड सोसाइटीको स्थापना भएपछि ०१७ सम्म आइपुग्दा ठुलो फड्को मारेको हो । अहिले नयाँ संविधानमा हाम्रो हकअधिकार समेटिएको अवस्था छ । अझ दक्षिण एलियाली देशहरूमा तेस्रोलिंगीको सवालमा नेपाल एकदमै अगाडि छ । विश्वमै तेस्रोलिंगी वा समलंगीको अधिकारको लागि कुरा गर्दा उदाहरणको रूपमा नेपाललाई लिने गरिएको छ । हामी कुनै कार्य गर्न चुकेका छैनौं तर मुख्य समस्या भनेको राष्ट्रले जसरी हामीलाई सम्बोधन गर्न सक्नुपथ्र्यो, त्यसरी गर्न सकेको छैन । कानुन, समावेशी, मानवताको कुरामा सरकारले उल्लेख गरेको छैन ।

कस्तो अपेक्षा थियो सरकारसँग ?
सरकारी नोकरीमा कोही तेस्रोलिंगी वा समलिंगी कार्यरत छ भनेर तपाईंले सुन्नु भएको छ ? हामीलाई अवसरको खाँचो छ, अवसरको सवालमा हामीलाई नजरअन्दाज गरिन्छ । बालशोषण, गरिबी निवारणजस्तै समलिंगी, तेस्रोलिंगीको अधिकारका लागि पनि त्यस्तै कार्यक्रमहरू सञ्चालन गरिदिए गाउँ–गाँउमा र ठाउँ–ठाउँमा पुग्न सकिन्छ, हामी सबल हुन्छौं । मान्छेमा जनचेतना जगाउन सकिन्छ । तर, हामी सरकारबाटै उपेक्षित बनाइएका छौं ।

तेस्रोलिंगीका सम्बन्धमा पहिचान र अधिकारका के–कस्ता मुख्य मुद्दाहरू छन् ?
जति पनि अधिकार र विभेदका कुराहरू आउँछन्, त्यो घरबाटै सुरु हुन्छ । घरपरिवारले स्वीकार्नुपर्‍यो, समाजिक स्थापनाका लागि हामी लडिरहेका छौं, समाजले बुझनुपर्‍यो, स्वीकार्नुप¥यो । तेस्रोलिंगीको मुख्य मुद्दा नागरिकता हो । पहिले महिला र पुरुषको मात्रै नागरिकता हुन्थ्यो भने हामीले अहिले ‘अन्य’ भनेर नागरिकता पाइरहेका छौं । पासपोर्ट पनि दिन थालिसक्यो, त्योचाहिँ एकदमै उदाहरणीय काम हो ।

त्यसो भए समस्या कहाँ भयो त ?
हामीले ‘अन्य’ भनेर नागरिकता लिन त पायौं तर नामले गर्दा समस्या उत्पन्न भयो । पहिले मैले नागरिकता लिँदा पुरुषको नाम थियो, अहिले ‘अन्य’ भनेर नागरिकता लिँदा म भूमिका श्रेष्ठकै नामबाट नागरिकता चाहन्छु तर हाम्रो देशको नागरिकता ऐनमा नाम परिवर्तन गर्न नपाइने रहेछ । मैले ‘अन्य’ भनेर नागरिकता लिए पनि त्यसमा पुरुषकै नाम छ । यसले कति ठूलो समस्या भयो भने म तेस्रोलिंगीको तर्फबाट सभासदको लागि मनोनीत भएर पनि मेरो नागरिकतामा पुरुषको नाम र ढाकाटोपी लगाएको फोटोले गर्दा मैले अवसर गुमाउनु प¥यो । अर्थात सरकारले कानुन त बनायो तर त्यो पूर्ण भएन ।

अर्को शिक्षाको कुरा पनि छ । कति तेस्रोलिंगी साथीहरूले लैंगिक पहिचानकै आधारमा स्कुल, कलेजमा भर्ना लिन नपाउने, भर्ना भए पनि निकालिने समस्या अझै पनि विद्यमान छ । शिक्षा सेवा आयोगले अहिलेको कक्षा ६ देखि ८ सम्मको नयाँ पाठ्यक्रममा तेस्रोलिंगीको विषयवस्तु समेटेको छ तर तेस्रोलिंगी समलिंगी मात्रै भनेको छ, त्यत्तिले मात्रै पुग्दैन । कति मान्छेलाई तेस्रोलिंगी भनेकै थाहा छैन । त्यो अलिकति परिभाषित रूपमा समेटिएको भए राम्रो हुन्थ्यो । हाम्रो सरकारले सजिलै गर्न सक्ने काम पनि गरिदिएको छैन ।

अर्को मुद्दा स्वास्थ्यको हो । हाम्रो समस्या सबै डक्टरले बुझदैनन् । स्वास्थ्य मन्त्रालयको पञ्चवर्षीय रणनीतिक योजनामा चाहिँ तेस्रोलिंगीलाई समावेश गरिएको छ तर व्यवहारिक कार्यान्वयन भएको छैन ।

समलिंगी विवाहको कुरा पनि आओस् । ०६४ पुस ६ गते सर्वोच्च अदालतले समलिंगी विवाहका लागि कानुनी मान्यता दिन आदेश दियो । त्यो आदेश अहिले महिला मन्त्रालयमा (झन्डै ८ वर्षदेखि) पेन्डिङमा छ । ९ महिने सरकारले पनि समस्या भइरहेको छ । एउटा सरकारलाई बुझायो, सरकार ढल्छ । फेरि अर्कोलाई सुरुदेखि बुझाउनुपर्ने समस्याले मुद्दा जहाँको त्यहीँ अड्केको छ ।

त्यस्तै, अल्पसंख्यकको परिभाषामा त हामी परेकै रहेनछौं । नेपाली समाज जति विकसित हुँदै गएको छ, त्यति मान्छेको सोच, सरकारी निकाय र नेपाल सरकार निरंकुश हुँदै गएका छन् ।

युवा रोजगारीको कुरा हुँदा त्यहाँ तेस्रोलिंगीको नामै हुँदैन । नागरिकताको महल धारा १२ मा नागरिकताको कुरा छ, धारा १८ मा समानताको कुरा छ, धारा ४० मा सामाजिक सुरक्षाको कुरा छ तर त्यसमा सबै जातजाति, अपागंता भएका व्यक्तिलाई समेटिएको छ, तेस्रोलिंगीलाई छुटाइएको छ । कानुन त आयो तर कार्यान्वय हुँदैन । हामी विभेदमै परिरह्यौं भने कानुन भएको के अर्थ रहयो त ?

त्यसो भए तपाईंहरूले विशेषाधिकारभन्दा पनि समान अधिकार मागेको हो ?
हो । जति पनि विभेदकारी कानुन छन्, तिनलाई खारेज गरेर समान कानुन बनाउनुपर्छ । हामीलाई अन्यसरह समान हकअधिकार सुनिश्चित गर्नुपर्छ ।

हकअधिकारको प्राप्ति र पहिचानका स्थापित गर्न तपाईं आबद्ध संस्था ब्लु डायमन्ड सोसाइटीले के कस्तो पहल गरेको छ ?
हामीले सडकदेखि सदनसम्म आवाज नउठाएको भए नेपालमा थर्डजेन्डरको सवालमा यति धेरै परिवर्तन आउने थिएन । सन् २००१ मा हामी ६ जनाले स्वयंसेवी संस्थाका रूपमा ब्लु डाइमन्ड सोसाइटी खडा गरेका थियौं । त्यतिबेला थर्डजेन्डर भनेको धेरैलाई थाहै थिएन । धर्ना, प्रदर्शन र र्‍याली के गरेनौं हामीले ? हामीले कुटाइ खानुदेखि जेलमा थुनिनेसम्मको जोखिम उठायौं । हरेक क्षेत्र र निकायमा अन्तक्र्रियाहरू गर्‍याैं । हामीमाथि हुँदै आएको मानवअधिकार उल्लंघन, विभेद र हिंसा, हाम्रो अधिकारका कुरालाई मिडियाको सहयोगमा बाहिर ल्यायौं । प्रहरी/प्रशासनसँग हाम्रो कार्यक्रम हुन्थ्यो । हरेक राजनीतिक पार्टीमा हामीले ज्ञापनपत्र बुझायौं । अहिले मानवअधिकार र स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दैछौं । पहिले हाम्रो कार्यालयभित्रकै काम अहिले बाहिर आएको छ । हामीले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र सभासदलगायत हरेक पार्टीलाई घच्घच्यायौं । केही व्यक्तिहरू सकारात्मक पनि हुनुभयो, कानुन बन्यो तर व्यवहारिक रूपमा कार्यान्वयन हुन नसकेर बेहोरेको समस्याका लागि समेत हामीले पहल गर्दै आएका छौं । अझै लड्दै छौं ।

अभियानमा हिँड्दा के–कस्ता चुनौतीको सामना गर्नुभयो ?
कार्यक्रम गर्दा निकै बाधा अड्चन आयो । प्रहरी÷प्रशासनको अवरोध सामना गरेर हामी यहाँसम्म आइपुगेका छौं ।

तेस्रोलिंगीहरू देहव्यापारमा लाग्ने गरको आरोपलाई कसरी लिनुहुन्छ ?
काठमाडौं, ठमेलमा मात्रै होइन, तराई र जिल्लाहरूतिर पनि देहव्यापार चलेको छ । तेस्रोलिंगी देहव्यापारमा धेरै लागे भनेर आरोपहरू आउने गरेका छन् तर यस्तो काममा त महिला र पुरुषहरू पनि छन् नि । उनीहरूलाई त्यति आरोप लाग्दैन किनभने उनीहरूको पहिचान यौनकर्मीको रूपमा भइसकेको छ । तर तेस्रोलिंगीलाई मात्रै किन सवाल उठाइने गरेको छ ? कुरा रोजगारीकै हो । कुनै पनि सरकारी, गैरसरकारी संस्थामा तेस्रोलिंगी छैनन् । हामै्र संस्थाले पनि सबैलाई काम दिन सक्दैन । आफ्नो पेट पाल्नै प¥यो अनि ‘इजी वे’मा शरीर बेच्न केही साथीहरू बाध्य छन् । तर, यो संख्या त औंलामा गन्ने मात्रै छ नि ! मुख्य समस्या बेरोजगारी नै हो । यदि रोजगार हुने हो भने कोही पनि यौन पेशामा लाग्दैन । अपवाद त जहाँ पनि हुन्छ नि, हैन र ?

रोजगारी अभावको कुरालाई उठाएर तेस्रोलिंगीले देहव्यापार गर्न पाउनुपर्छ भन्न खोज्नुभएको हो ?
होइन । उल्टो अर्थ नलगाउनुस् । देहव्यापारको समर्थनमा बोलेकी होइन । नेपालको कानुन पनि यसमा मौन छ । रंगेहात पक्रे पनि सरकारले सार्वजनिक मुद्दा लगाएर धरौटीमा छोडिदिन्छ । आफ्नो जीवन बाँच्नका लागि काम गर्नुपर्छ तर त्यसले कसैलाई समस्या नहोस्, मेरो भन्नु त्यत्ति हो । रिक्सा चालकदेखि व्यापारी, अर्बपति मन्त्री सबै देहव्यापारीको सम्पर्कमा हुन्छन्, सम्बन्ध बनाउँछन् अनि तेस्रोलिंगीले विकृति फैलाए भनेर आरोप खेप्नुपर्छ । तेस्रोलिंगीहरू यसरी शरीर बेच्ने अवस्थासम्म आउनुको कारणबारे कसैले बुझ्ने प्रयास गरेको छैन । तेस्रोलिंगी २ सय जति खुलेआम देहव्यापारमा छन् । लुकिछिपी गर्ने त ५ सय जति नै होलान् । खोइ त सरकारले रोजगारी सिर्जना गर्न सकेको ? सरकार र कानुनले गर्न नभनेको काम हामी गर्ने पक्षमा छैनौं । त्यसैले यसको पक्षमा वकालत गर्ने त कुरै भएन ।

तराईतिर तपाईंका कार्यक्रम केन्द्रित गर्नुको खास कारण के हो ?
खास स्वास्थ्यसम्बन्धी जोखिमपूर्ण व्यवहारबाट कसरी जोगिने र न्यूनीकरण गर्ने भनेर कार्यक्रम गरेका थियौं । तराईमा खुला सिमाना छ । उताका साथीहरू हिजडा कल्चरअनुसार नाच्न भारत जाने र असुरक्षित यौन गरेर एचआईभी/एड्सलगायत यौनरोग सर्ने जोखिम अत्यधिक छ । तेस्रोलिंगी मात्रै नभएर महिला–पुरुषका लागि पनि उता धेरै कार्यक्रम फोकस गरेका हौं ।

राजनीतितर्फ चाहिँ कसरी आकर्षित हुनुभयो ?
पहिले मलाई राजनीति फोहोरी खेलजस्तै लाग्थ्यो । मेरो परिवारमा कोही पनि राजनीतिक पुष्ठमूभिका छैनन् । म राजनीति गर्छु वा आफ्नो समुदायका लागि राजनीतितिर लाग्छु भनेर सोचेकी थिइनँ । नेपालको पहिलो समलिंगी सभासद हुनुहुन्थ्यो सुनीलबाबु पन्त । उहाँ सदनमा आउँदा हाम्रा हरेक हकअधिकारका कुरामा आवाज उठाउने गर्नुहुन्थ्यो । हामीचाहिँ पछाडि बसेर समर्थन गथ्र्यौं । पछि हरेक पार्टीको मुद्दा हाम्रो इस्यु बन्नुपर्छ र हाम्रा इस्यु हरेको पार्टीका मुद्दा बन्नुपर्छ भनेर छलफल भयो । अरु साथीहरू माओवादी, एमालेमा जाने भए तर मलाई कांग्रेसको विचार राम्रो लाग्थ्यो । ब्लु डायमन्डको अन्तक्र्रियामा जाँदा हरेक नेतासँग चिनजान हुन गयो । त्यतिबेलै नेता प्रदीप गिरिसँग कुरा भयो अनि दुई–तीन दिनमै मलाई कांग्रेसमा स्वागत गर्नुभयो ।

आफ्नो समुदायको हकअधिकारका लागि नै कांग्रेस छिर्नुभएको हो र ?
होइन । यो एउटा पार्टीको मात्रै जिम्मेवारी होइन, सबै पार्टीको हो । कांग्रेसमा लागेको ९ वर्ष भएको छ । हकअधिकारको कुरा भने उठाइरहन्छु ।

कांग्रेसले तेस्रोलिंगीको मुद्दामा सहयोग गरेको छ त ? सन्तुष्ट हुनुहुन्छ ?
पहिले–पहिले पार्टीका कुनै पनि घोषणापत्र र अवधारणपत्रमा हाम्रा कुरा समावेश थिएनन् । तर, कांग्रेसले यसको पहल गर्‍यो । पछि माओवादी र अन्य पार्टीले गरे । अहिले त तरुण दलको विधानमा पनि महिला, पुरुष र तेस्रोलिंगी समावेश छ । पार्टीगत रूपमा चाहिँ अल्पसंख्यक भनेर उल्लेख छ, जुन पूर्ण छैन । जेहोस्, परिवर्तन हुँदै आएकाले केही हदसम्म सन्तुष्टि नै छ भन्नुपर्‍यो । तरुण दलका लागि केन्द्रीय सदस्यको प्रत्यासी छु । सभासदका लागि समेत अगाडि आएकी थिएँ । कांग्रेसबाट तेस्रोलिंगीमा आउने पहिलो म नै हो ।

प्रसंग बदलौं । विवाह कहिले गर्ने ?
विहेमा विश्वास राख्दिनँ म त । एक त हाम्रो कानुनै छैन । हुन त पहिले मेरो सम्बन्ध थियो, अहिले छैन । मेरा साथीहरूको सम्बन्ध छ । तीजमा व्रत बस्ने, सिन्दुर पोते लगाउने गर्छन् । अहिले महिला–पुरुष बराबरी हो भन्छन् । हामीले पनि त्यही हिसाबमा समान अधिकार होस् भन्ने नारा लगाउँछौं ।

त्यसो भए तपाईं अहिले सिंगल हो ?
हो, म अहिले सिंगल छु । तर, वास्तवमा भन्दा मलाई बिहे गर्छु भन्ने केटाहरूको आँटै छैन । सितिमिती कसैले मलाई प्रपोज गर्नै सक्दैन, डराउँछन् । मलाई विवाहमा विश्वाछ छैन । भविष्यमा कोही आयो भने रिलेसनमात्रै होला, बिहे नै त गर्दिनँ ।

तेस्रोलिंगी विवाहलाई सरकारले मान्यता दिएपछि मात्रै गर्ने विचार छ कि ?
होइन । म विवाह गर्ने पक्षमै छैन । हाम्रो पहिचान मात्रै बदलेको हो, विवाह गरेपछि बुहारी भएर नै बस्नुपर्ने हुन्छ । म त्यो बन्धनमा बाँधिन सक्दिनँ । मसंग थुप्रै काम छन् । मलाई स्वतन्त्र हुनुपर्छ । सँगै मैले मजस्तै साथीहरूको अधिकारका लागि लड्नु छ । हामीले दुःख पाए पनि अरुले नपाऊन् भनेर काम गर्ने सोचेकी छु ।

आजीवन रिलेसनसिपमै बस्ने त ?
हाहाहा…। अहिले नै त छैन । पछि कोही आयो भने हुन पनि सक्छ ।

साभार : बाह्रखरी

यसमा तपाइको मत

प्रमुख समाचारबाट अन्य समाचार