“हामीले यही जिन्दगी बाँच्दा कति कठिन हुन्छ त्यो हामीलाई मात्रै थाहा छ”


नरेश फुँयाल/काठमाडौं (पहिचान) साउन १८ – ऊ अँध्यारो कोठामा छे (छ) । छिनभरमै ऊ (उनी) केटा अनि क्षणमै केटी उसको दैनिकी हो । एक्लै हुँदा केटी बनेर ऐना अगाडि बसेर आफ्नै शरीर नियाल्नु र अरुका अगाडि तुरुन्त केटाको भेषमा आफूलाई ढाल्नु उनको नियति हो ।

गौरव कोठाबाट बाहिर निस्कन खोजिरहन्छ । तर सक्तैन । ऊभित्रको गरिमाले उनलाई कोठा बाहिर निस्कन हरदम छेकिरहन्छे । हर प्रयास गर्दा पनि गौरवलाई गरिमाले जित्न सक्तिन, केवल बन्द कोठा शिवाय । यो प्रसंग सर्वनाम थिएटरमा प्रदर्शनरत नाटक ‘ज्युँदो आकाश’ को चरित्रको हो ।

गौरवको स्वाभाव अचम्मको छ । नाटक हेरिरहेका दर्शक गौरवलाई देखेर छक्क पर्छन् । छक्क नपरुन् पनि कसरी ? गौरव स्वयम् त आफ्नै इच्छा चाहना देखर अचम्मित हुँदै आएका छन् ।

उनलाई आमाले छोराकै रुपमा जन्म दिइन् । गौरव हुर्किदै गए । बाबाले आमा र दिदीलाई ल्याइदिएको लाली पाउडर गौरव चोरेर लगाउन थाले । उनलाई आमा र दिदीसँगै बसेकाले रहर लागेको होला भन्ने लाग्यो । उमेर बढ्दै जान्छ । उमेरसँगै लाली पाउडर र जामा लगाउने गौरवको चाहना पनि बढ्दै जान्छ ।

एक दिन गौरवले दीपकलाई भेटे । एक झलकमै दीपक उनको मनमा बसे । संयोग दीपकले पनि गौरवलाई मुटुमा सजाए । दुवैको हित्तचित्त मिल्यो । सम्बन्धमा बाँधिए । घुम्न जान थाले । एकान्तमा समय बिताउन थाले । उमेरको उन्माद, जवानी बिसाए । गौरवमा खुसीको संसार देख्न थाले । सपनाहरु झाँगिएनन् मात्रै, उड्न थाले । गौरवलाई विवाहको ‘प्रेसर’ आउन थाल्यो । गौरवले दीपकसँग घरजमको प्रस्ताव राखे । दीपकले ठाडै अस्वीकार गरिदिए । समाजको नानाथरीको कुरा सुन्नु भन्दा पनि मर्द भएर बाँच्ने बताए । गौरवको सपना एकै पलमा चिसो भयो । दीपकले तिमी पनि घरजम गरेर बस भने । गौरवलाई टेकेको धर्ती भासिए जस्तो र टाउकोमा घनले कसैले बजारे जस्तो अनि संसार निराकार अँध्यारो भएजस्तो लाग्यो ।

गौरव रोए, कराए, लडिबुडी गरे तर उनको कुरा कसैले सुनेन । आमाले पिलपिल आँखाबाट आसु मात्रै झारिन्,बुबा झन् कठोर भएरसमाज र इज्जतको कुरा गर्न थाले । बुबाले उनलाई सेनामा भर्ती हुन इलाम पठाए । त्यहाँ उनी छनोटमा सहभागी हुन्छन् । सेनाको उपल्लो तहको हाकिमले गौरवभित्रको गरिमा पत्ता लगाउँछ र एकान्त कोठामा एक्लै बोलाएर बलात्कार गर्छ र फेरि अनुहार नदेखाउन भन्दै लखेट्छ ।

गौरवको भेट गाडीमा सीमासँग हुन्छ । गाडीको एकै भेटले उनीहरुलाई साथीमा रुपान्तरण गरिदिन्छ । सीमाको साथ लागेर गौरव डान्सबारमा पुग्छन् । त्यहीँ ऊ गरिमा भएर नाच्न थाल्छे । त्यहाँ उनलाई गरिमा… गरिमा…भनेर बोलाउँदा उसको महिला मन आनन्दित हुन्छ ।

त्यहाँ पनि उनको शरीर खुट्याएर उनलाई यौन व्यवहारका लागि आग्रह गरिन्छ । ओछ्यान साट्ने हैन सक्छस् भने विवाह गरेर देखा भनेपछि उनी भाग्छन् ।
समाजका हरेक अवयवमा आफूलाई गर्ने व्यवाारबाट आजित भएको गौरवलाई अर्को चोटको सामना गर्नुपर्छ–विवाह ।

गौरवले दुलहीलाई घर भित्र्याउँछन् । बाध्यता, गौरव मर्द हुने प्रयास गर्छन् । तर उनमा त्यो आकांक्षाले बास गरेको हुँदैन । आफूप्रतिको  भूमिका निभाउन नसक्ने श्रीमान् (गौरव) लाई उनकी श्रीमतीले कर्तव्य र दायित्व सम्झाउँछिन् । गौरव आफू चाहेर पनि आफ्नो दायित्व निभाउन नसक्ने बताउँछन् । श्रीमान्को चाहना र उनको व्यावहार हेरर वाक्क भएकी श्रमीतीले गौरवलाई स्वतन्त्र बाँच्न अनुमति दिन्छिन् । र, गौरव लामो संघर्ष र छटपटिपछि गरिमा बनेर घरबाट बाहिर निस्किन्छन् । उनीसँगै पिंजडामा रहेको सुँगा पनि मुक्त भएर आकाशमा विलिन हुन्छ ।

नाटकघरको पर्दा खुल्छ । ढोकाबाट उज्यालोसँगै नाटककार चन्द्रप्रसाद पाण्डे र निर्नेशक आर के मेहता हात जोड्दै भित्र छिर्छन् । नाटककार पाण्डेले दर्शक दीर्घामा रहेका तेस्रोलिंगी मनिषा ढकाल र पिंकी गुरुङलाई अगाडि बोलाएर केही बोल्न आग्रह गर्छन् ।

मनिषाले नाटकले आफ्नै कथा भनेको भन्दै आफूलाई विगततर्फ धकेलिदिएको बताउँछिन् । यति भन्दा उनका गह भरिन्छन् । आँखाको डिल हुँदै आँशु चुहिएर गालाभरी लतपतिन्छन् । “गरिमाले जसरी आफ्नो जिन्दगीमा संघर्ष गरिन् त्यो मैले भोगेको जिन्दगी हो,” आँखाभरी आसु भरिएको अबरुद्ध गला खोल्दै मनिषाले भनिन्, “गरिमाले विहेको सामना गर्नुपर्यो । म भने सानैदेखि बोल्ड भएर संघर्ष गरेकाले विहे गरेर एक जना महिलाको जिन्दगी बर्बाद गर्नबाट भने बचेँ ।”

मनिषा बोल्दै गर्दा नाटकका पात्र गौरव/गरिमा (अनिल सुब्बा) आइपुगे । चरित्रकै भेषमा आएका उनी चरित्रबाट बाहिर निस्किसकेका थिएनन् । सँगै थिइन्, यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका लागि काम गर्दै आएको संस्था नीलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङ । “यो नाटक हामीले भोगेको जीवनको जीवन्त चित्रण हो । यो त अभिनय हो । अभिनय हेर्दा त तपाईं हाम्रो आङ जिरिङ हुन्छ भने हामीले यही जिन्दगी बाँच्दा कति कठिन हुन्छ त्यो हामीलाई मात्रै थाहा छ,” उनले भनिन्, “यो नाटक यौनिक अल्पसंख्यकको समग्र विषलाई समेटेर बनाएको हुँदा यसलाई सर्वनाममा मात्रै सीमित गरेर हुँदैन, यसलाई गाउँ–गाउँसम्म पुर्याएर व्यक्ति–व्यक्तिलाई यसबारे जानकारी दिनुपर्छ ।”

उनले अन्तिममा आग्रह गरिन्, “संविधानमा हाम्रो अधिकार समेटिएको छ तर कानुनमा अधिकार लेखिन बाँकी रहेको अवस्थामा यो नाटक सांसदहरुले पनि हेर्नुपर्छ । जुन हाम्रो अधिकारका लागि कोषे ढुङ्गा पनि हुनसक्छ ।”

साभार  : बाह्रखरी

यसमा तपाइको मत

साहित्यबाट अन्य समाचार