पहिलो टेस्टट्युब बेबीका बाउआमा भन्छन्– छोरीले बाउ भन्ने अधिकार पाउनु पर्यो (भिडियो सहित)


काठमाडौं/पहिचान – सानो जिउ डाल अनि संकुचित परिवेश तर हिम्मतिलो व्यवहार । मधेसी समूदाय त्यसै पनि सीमित दायरामा बाँच्दै आएको विगत । त्यसमा पनि तेस्रोलिंगी हुनेको फरक पीडा । तर मनिष यादवलाई न मधेसी संकुचित परिवेशले छेक्यो न उनको फरक यौनिकताले । सबैभन्दा पहिले उनले आफ्नो यौनिकता खुलाए । अनि आफ्नै चालमा हिँड्न थाले ।

छोरी भएर जन्मिए पनि आफूलाई तेस्रोलिंगी पुरुषको स्वरुपमा बदले । समाजले कुरा काट्यो । परिवार र आफन्तको नाक काटेको टिप्पणी गरे । अगाडि जे भने पनि पछाडि छि ! छि ! र दुरदुर ! गरिरहे । तर पनि त्यसले उनलाई गलाएन । बरु समाज नै गल्दै गयो । उनको टिप्पणी गर्नेहरुको आवाज मलिनो हुँदै गयो ।

महिला पुरुषभन्दा फरक हुनुको पीडा छँदै थियो । त्यसका बाछिटाहरु समाजमा छँदै थिए । त्यसलाई चिर्न सजिलो थिएन । थप आँटिलो बने यादव । जन्मिदा महिला भए पनि उनी आफ्नो स्वाभाव अनुसार तेस्रोलिंगी पुरुष भए । मनले चाहेको विवाह गरे । फिमेल–मेल ट्रान्स जेन्डर, त्यसैले महिलासँगै घरजम कसे । श्रीमती पनि महिला ।

विवाह गरे पनि सन्तान हुने कुरै भएन ।

सुनेका थिए रे ! उनले । टेस्ट्युब बेबी जन्माउन सकिन्छ । सोधखोज गरे । हो रहेछ । तर चाहियो पैसा । थिएन । जोरजाम गरे । नपुगेको ऋण काढे । दुई लाख जम्मा भयो । श्रीमती पनि तयार थिइन् । मनिषको त आँकाक्षा नै भैगयो । डाक्टरको सल्लाह अनुसारका काम सुरु गरे । बच्चाको प्रोसेस सुरु भयो । महिला पुरुषको जस्तै कोख भर्ने रहर उनीहरु दुबैको पूरा भयो । कोख भरियो । घरमा मनिषले सकेको काम आँफै गरे । श्रीमतीलाई कमै काम लगाए ।

लाड प्यारले ८ महिना बित्यो । बच्चा जन्मिने दिन आयो । तर सोचे जस्तो कहाँ छ र जीवन ? चिकित्सकले अप्रेशन गर्नुपर्छ भने । महिला पुरुषको जस्तो सहजै जन्मिन लागेको बच्चा थिएन । मनमा आंशकाका भूमरी चल्यो । मान्छेको मन न हो मनिष र उनकी श्रीमती दुबैका मनमा अनेकथरी कुरा खेल्न थाले । तर पनि चिकित्सकको सुझाव मान्नुको विकल्प थिएन । पैसाको जोरजाम गरे । अप्रेशन भयो । धन्न ! सकुशल छोरी जन्मिइन् । काख भरियो । नाम राखे, सिवाङ्गी । थर छँदै थियो– यादव । पूरै नाम सिवाङ्गी यादव ।

समाजले बुझेको थिएन । सजिलै बुझ्न पनि खोज्दैन थियो । महिला महिला भएर बच्चा जन्माउँदै छन् रे ! भनेर कुरा काटेको सुनिन्थ्यो । आखिर यादव दम्पत्तीले बच्चा जन्माए । अस्पतालबाट उनीहरुले बच्चा घर ल्याए । हेर्नेहरुको घुइँचो लाग्यो । लाग्थ्यो त्यहाँ छोरी हैन पार्वती ल्याइएकी थिइन् ।
० ० ०
सजिलो भएको थिएन सुरुमा, तेस्रोलिंगीको कोख भर्न । अस्पतालले महिला महिलाले टेस्ट्युब बेबी जन्माउन पाउँदैन भन्ने गरेको मनिषलाई थाहा थियो । उनले त्यसैले आफू पुरुष भएको पहिचान दिए । अस्पतालले पनि धेरै सोध खोज गर्यो । यो अफ्ठ्यारो घडीमा उनलाई नील हिरा समाजले सहयोग गर्यो । तेस्रोलिंगीबारे बुझाइदियो । त्यसपछि उनीहरुको चाहना सम्भव भयो ।

“छोरीलाई डाक्टर बनाउने हो,” मनिषकी श्रीमती दङ्ग पर्दै भन्छिन् । “हुन त हामीले भन्दैमा हुँदैन, १५÷१६ वर्षको भए पछि उसको इच्छा जे हुन्छ त्यही अनुसार उसलाई के बनाउने भन्ने निर्णय उसैले गर्छे,” मनिष भन्छन्, “तर अहिले हाम्रो चाहना भनेको छोरीलाई डाक्टर बनाउने हो । हेरौं के हुन्छ ।”
० ० ०
मनिष माओवादी जनयुद्धमा पनि सामेल थिए । जन मिलिसिया थिए उनी । त्यही उनको एक जना केटीसँग मायाँ प्रेम बस्यो । उनीहरु घरजमसम्म बसाल्ने टुङगोमा पुगे । तर बिडम्बना परिवारले उनीहरुको भावना बुझेन । मनिषबाट छोरी छुटाएर लग्यो केटीको परिवारले । मनिष चुँडिए । उनको जिन्दगी एउटा पांग्रामा अड्कियो ।

सायद अदृश्य भगवान छन् कि ! मनिषलाई सम्हाल्न जनमिलिसिया बाटै एक नयाँ कोही व्यक्ति आयो । “मैले उसलाई देखिरहेको थिएँ, उसको साथीलाई परिवारले छुटाएर लगेको, उ विक्षिप्त जस्तै भएको थियो,” भावनामा बहकिँदै अहिले पनि उनी भन्छिन्, “केटो बाठो छ यसले केही गर्छ भन्ने लाग्यो र उसलाई साथ दिने मैले निर्णय गरेँ ।”

जिन्दगी सँधै फाँटहरुको सुगम यात्रा होइन यो त तरेलीहरुको कष्टप्रद घिस्राई पनि हो ।

भोगे मनिष र उनकी सहयात्रीले पनि 

समाज शिक्षितहरुको बस्ति मात्रै होइन, अशिक्षतहरुको समूह पनि हो । जहाँ बुझ्नेहरु माहै हुँदैनन्, नबुझ्नेहरु पनि हुन्छन् ।
तर, मनिषले भोगेको यातनाको परिवेश अलि फरक थियो । अधिकारका लागि अवाज उठाउनेहरुकै आगोमा पिल्सिएका थिए उनी ।
माओवादीले नै उनको जोडीलाई ‘समलिंगी जोडी ?’ भन्दै यातना दिएको थियो । कुटपिट गरेको थियो । उनलाई त्यती बेला मनमा लागेको थियो,–म मेरै अधिकार पाइरहेको छैन भने मैले कसको अधिकार सुरक्षित गर्न सक्छु ?

अहिले भने उनीहरुलाई त्यो दुःख सन्तान सुखले मेटाइदिएको छ । भरिलो काखले जिन्दगीलाई पारिलो बनाइरहेको छ ।

उनीहरु अहिले छोरीको जन्म दर्ताको प्रक्रियामा छन् । “हामी समलिंगी हौं, त्यसैले हाम्रो विवाह दर्ता छैन, हाम्रो विवाह दर्ता नभएसम्म छोरीको जन्म दर्ता हुँदैन । त्यसैले सरकारले विवाहको मान्यता दिनुपर्यो,” मनिष भन्छन्, “हामीलाई बाबुआमा हुने अधिकार र आठ महिना भैसक्यो यो बच्चा, यसलाई बाबुआमा भन्ने अधिकार सरकारले दिनुपर्यो ।”

यसमा तपाइको मत

विविधबाट अन्य समाचार