बिगत एक दशकमा सय भन्दा धेरै क्याम्पसका बिद्यार्थी एलजिबिटिआईबारे जानकार

काठमाडौं (पहिचान) असार १५ – नील हिरा समाजले समलिंगी तथा तेस्रोलिंगीबारे विद्याथीहरुलाई जानकारी दिएको छ । समाजको केन्द्रिय कार्यालय धुम्बाराहीमा विभिन्न क्याम्पसका विद्यार्थीलाई यौनिक तथा लैंगिक अल्पसंख्यक सुमदाय तथा नील हिरा समाजले गर्ने काम र स्थापना देखि अहिलेसम्मका उपलब्धीबारे जानकारी दिएको हो ।

समाजमा कार्यरत मानव अधिकारकर्मी विश्वराज अधिकारी, अपेक्षा दाहाल र आकांक्षा तिमिल्सिनाले समलिंगी तेस्रोलिंगीले भोग्दै आएका समस्या, समाजको अभियानपछि प्राप्त भएका अधिकारबारे विद्यार्थीलाई जानकारी दिए ।

नील हिरा समाजमा इन्टर्नसिप गर्न आएका विद्यार्थीलाई समाजले समलिंगी तेस्रोलिंगीबारे समाजमा सकारात्मक धारणा बनाउन यस्ता कार्यक्रम गर्दै आएको अधिकारकर्मी विश्वराज अधिकारीले बताए । पहिचानकै आधारमा हुने गरेको विभेदको अन्त्य गर्न विद्यार्थीको महत्वपूर्ण भूमिका हुन सक्ने उनले बताए ।

आफ्नो यौनिक पहिचानको जानकारी दिँदै अधिकारकर्मी अपेक्षा दाहालले आफ्नो यौनिक पहिचानबारे सुरुमा परिवारलाई जानकारी गराउन नै ठूलो मानसिक संघर्ष गर्नु परेको सुनाइन् । सुरुमा अन्तरसंघर्ष गर्न नै कठिन हुने गरेको तर अधिकारका लागि पहिचान खोलेर एकताबद्ध हुनुपर्नेमा उनको जोड छ ।

अधिकारकर्मी आकांक्षा तिमल्सेनाले आफू तेस्रोलिंगी महिला भएको जानकारी दिँदै समलिंगी तेस्रोलिंगीको अधिकारका लागि काम गर्दै आएको संथा नील हिरा समाजको स्थापनाको संघर्षबारे विद्यार्थीलाई जानकारी दिइन् । पछिल्लो एक दशकमा समाजसँग आएका क्याम्पसको संख्या एक सय पुगेको भन्दै उनले क्याम्पसहरुले सहकार्य गरेर काम गरिरहेको बताइन् ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले समलिंगी, तेस्रोलिंगीको पहिचान, उनीहरुको अधिकार, समलिंगी विवाह लगायतका विषयमा जिज्ञासा राखेका थिए । उनीहरुको जिज्ञासा अधिकारी, दाहाल र तिमल्सेनाले मेटाएका थिए ।

हिजडा, छक्का जस्ता शब्द समाजले भन्ने गरेको भन्दै उनीहरुले आँफूहरु हिजडा र छक्का नभएको भन्दै हिजडा भनेको भारतमा कल्चरका रुपमा रहेको स्पष्ट पारे । “हिजडा भनेको मुगल साम्राज्यको पाला देखि सुरु भएको कल्चर थियो, त्यो एक खालको विशिष्ट अवस्था हो । यौन अंग छेदन गरेर बसेको अवस्थालाई हिजडा भनिन्छ, तर यहाँ हामी तेस्रोलिंगीलाई हिजडा भन्ने गरेको पाइन्छ, यो नबुझेर भनिएको हो, छक्का भनेको त के हो त्यसको केही अर्थ छ जस्तो लाग्दैन” अपेक्षाले भनिन् ।