रत्नपार्कदेखि ब्लु डायमन्डसम्म

काठमाडौं (पहिचान) मंसिर २३ – परिवारका लागि शीतल पिंकी गुरुङ छोरा नै भएर जन्मिएकी हुन् । तर, सुरुदेखि नै उनी आफैँलाई भने छोराको आभास हुँदैन थियो । केटीहरूतिर आकर्षित हुनुपर्नेमा उल्टो केटाहरूतिरै आकर्षित हुन्थिन् । परिवार र समाजका लागि पुरुषको गेटअपमा हिँड्थिन् । यसबाट सन्तुष्ट भने थिइनन् । ‘मेरो शारीरिक सम्बन्ध नौ वर्षको उमेरमै भएको थियो, त्यतिवेला आफू महिला या पुरुष नभएर अरू नै केही हुँ भन्ने आभास भयो,’ शीतलले भनिन् । संयोगवश उनको पहिलो सम्बन्ध पुरुषसँग नै भएको थियो । त्यतिवेलासम्म उनलाई आफ्नो पहिचान थाहा थिएन । शीतल ८–९ कक्षा पढ्दा केटाप्रति आकर्षित थिइन् । ‘आत्मा त महिलाको थियो,’ उनले भनिन्, ‘जुन केटालाई मन परायो उसलाई हेरिरहन मन लाग्ने । तर, उसलाई त्यसरी हेर्दा उसको गाली खानुपर्ने ।’ जुन मान्छेलाई मन पराएको हुन्छ त्यही मान्छेबाट अपहेलित हुनुपर्दा मन चिरिन्थ्यो । किन केटी भएर जन्मिनँ होला भन्ने सोच्थिन्, उनी ।

शीतल पिंकी गुरुङ
अध्यक्ष, ब्लु डायमन्ड सोसाइटी

आफू के हो भन्ने पनि थाहा थिएन उनलाई । भन्छिन्, ‘अब यो जुनीमा चाहिँ उसको माया पाउँदिनँ होलाजस्तो लाग्थ्यो ।’ तर, त्यसको औषधि पनि थियो, शीतलसँग । जहिल्यै काल्पनिक संसारमै रमाउँथिन् । ‘मुझे निद नआए’ भन्ने गीत सुन्थिन् । त्यस्तै गीत सुनेर त्यही केटाको कल्पना गरेर सुत्थिन् । ‘जहिल्यै त्यही केटालाई हिरो र आफूलाई हिरोइन सम्झिन्थेँ,’ उनले सुनाइन् ।

 रत्नपार्कका ती दिन
सन् १९९० मा विश्व स्वास्थ्य संगठनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई मानसिक रोगीको सूचीबाट हटायो । नेपालमा तेस्रोलिंगी तथा समलिंगीहरूको संस्था ब्लु डायमन्ड सोसाइटी सन् २००१ मा स्थापना भयो । त्योभन्दा अगाडि शीतललगायत उनका साथीहरू रत्नपार्कमा भेटघाट गर्थे । आफ्नो अनुभूति साटासाट गर्थे ।

नेपालमा तेस्रोलिंगी तथा समलिंगीहरूको संस्था ब्लु डायमन्ड सोसाइटी सन् २००१ मा स्थापना भयो । त्योभन्दा अगाडि शीतललगायत उनका साथीहरू रत्नपार्कमा भेटघाट गर्थे । आफ्नो अनुभूति साटासाट गर्थे । रत्नपार्क ‘फ्रि–जोन’ जस्तै थियो । अहिलेजस्तो कडिकडाउ हुँदैन थियो ।

रत्नपार्क ‘फ्रि जोन’जस्तै थियो । अहिलेजस्तो कडिकडाउ हुँदैन थियो । त्यहाँ भेट भएपछि मन मिल्ने साथी छानेर उनीहरू साँझ शारीरिक सम्बन्ध राख्थे । उनीहरूको असुरक्षित शारीरिक सम्बन्ध हुन्थ्यो । ‘त्यतिवेला थाहा थिएन कि मेन टु मेन र अनल सेक्समा कन्डम प्रयोग गर्नुपर्छ,’ उनले भनिन् ।

२००१ मा ब्लु डायमन्ड सोसाइटी स्थापना भएपछि त्यसले तेस्रोलिंगी र समलिंगीको हकहित तथा स्वास्थ्यमा काम गर्न थाल्यो । अहिले त उनी सोसाइटीको अध्यक्ष नै भएकी छिन् । आफ्ना र आफूजस्ताको अधिकारको विषयलाई लिएर काम गर्छिन् । नयाँ शक्ति नेपालबाट उनी समानुपातिक उम्मेदवार पनि बनेकी थिइन् ।

शीतलहरूले खोजेको समानुभूति हो, सहानुभूति होइन । सहानुभूतिले परनिर्भर बनाउने शीतलको भनाइ छ । ‘हामीलाई अन्यसरह अधिकार दिनुपर्छ, तब मात्र आत्मनिर्भर बन्न सकिन्छ,’ उनले भनिन् । अहिले पनि ठूलो संख्यामा तेस्रोलिंगीले पहिचान लुकाएका छन् ।

जस्तो, भर्खरै हलिउडका नेपाली मूलका चर्चित डिजाइनर प्रबल गुरुङले आफू तेस्रोलिंगी भएको घोषणा गरे । हलिउड अभिनेत्री एलेन पेज, गोल्डेन ग्लोब, एकेडेमी अवार्डको नोमिनेसनमा परेकी लिली टमलिन, ग्रामी अवार्ड विजेता सिन्थिया निक्सनलगायतले आफूलाई बाहिर ल्याए ।

उनीहरू आफ्नो ठाउँमा स्थापित छन् ।‘तर, नेपालमा त तेस्रोलिंगीहरू यौन पेसामा छन् नि त ?’ उनी यसलाई अस्वीकार गर्छिन् । सानो संख्या मात्र यौन पेसामा लागेको उनको जिकिर छ । जसरी पुरुष र महिला पनि लागेका छन् । बरु ठूलो संख्यामा तेस्रोलिंगी खुल्न नसकेको उनको भनाइ छ ।

 रमाउने र घृणा गर्ने पनि थिए
जीवनमा तिता–मीठा घटनाहरूको संगालो हरमानिसमा हुन्छ । कसैका तिता बढी त कसैका मीठा । शीतलको सवालमा भने तिता नै बढी छन् । बाल्यकालदेखि नै उनी केटीको जस्तो व्यवहार गर्थिन् । केटीकै स्वरमा गीत गाएर हिँड्थिन् ।

‘त्यतिवेला हामीजस्तो मान्छेलाई देख्दा रमाउने पनि थिए र घृणा गर्ने पनि,’ उनी भन्छिन् । एकजना नारायण महर्जन भन्ने दाइ थिए । उनीभन्दा सिनियर । एकदिन उनी एलिशा चिनायको ‘सेक्सी सेक्सी मुझे लोग बोले’ गीत गाउँदै हिँडिरहेकी थिइन् । त्यो समयको हिट गीत । ती दाइले एक्कासि आएर उनको हात समातेर घाँटीमा अर्को हात राखेर उचालेका थिए । पछि साथीले ‘त्यसो नगर’ भनेपछि छाडे ।

त्यतिवेला उनले बुझिनन् किन ती दाइले त्यसो गरे । तर, अहिले सम्झिँदा केही अनुमान गर्न सक्छिन् । उनी भन्छिन्, ‘मेरो जुन किसिमको लैंगिक आकर्षण थियो, त्यसमा उनी एकदमै फोबिक थिए क्यार, घृणा लाग्ने रहेछ म देखेर ।’

आँसु आउँदैन, मन रुन्छ
तेस्रोलिंगीले धेरै ठूलो विभेद भोग्नुपरेको छ । घरभित्र पनि र बाहिर पनि । ‘कसैले बोलेर, कसैले व्यवहारले त कसैले हेरेरै पनि हामीमाथि विभेद गरेका छन्,’ एकै सासमा भनिसिध्याउँछिन् । भेदवाव भन्ने कुरा बोल्नैपर्छ भन्ने पनि छैन । आँखाले नै गरिरहेको हुन्छ । त्यो कुराले मनमा छुन्छ । त्यसपछि त्यसको असर त पर्ने नै भयो । गत दसैँअघि उनी ऋद्धिसिद्धि ज्वेलर्समा सुन किन्न गइन् । उनको स्वर केटाको जस्तै छ । केटीको बनाएर बोल्दिनन् । गीत गाउँदा भने कहिलेकाहीँ निकाल्छिन् । ‘मैले पसलेलाई औँठी सोधेँ, तर ऊ मेरो प्रश्नको जवाफ नदिई अर्को साथीको मुख हेरेर एक छिन हाँसिरह्यो,’ उनले भनिन् ।

अहिले त उनी बोल्न सक्छिन् । त्यहाँ पनि प्रतिवाद गरिन् । भनिन्, ‘हामीजस्तो मान्छे कहिल्यै देख्नुभएको छैन ? सुन्नुभएको छैन ? सोधेको प्रश्नको उत्तर दिने हो कि अर्काको मुख हेरेर हाँस्ने हो ? हामीलाई कस्तो असर गर्छ त्यसले बुझ्नुभएको छ ?’ त्यसपछि उनीहरू रातो–पिरो भए । कारण भने अर्कै भएको बताउँछिन् ।

‘यो हिँजडा रहेछ, यसले के गर्ने भयो भनेर एक किसिमको डरले उनीहरू रातो–पिरो भएका हुन्,’ उनी भन्छिन् । यस्ता घटनाले उनी आँसु झार्दिनन् । ‘तर, मनभित्रबाट भने धेरै रोएकी छु,’ उनी भन्छिन्, ‘अपमान भन्ने कुरा त तीन वर्षको बच्चाले पनि बुझ्छ ।’

 बुबाको भरोसा
शीतल एसएलसी दिएपछि विभिन्न कलेज भर्ना भइन् । तर, पढ्ने मन भएन । आफूजस्तै साथी सर्कल भेटाइन् । आफैँलाई चिनिन् । २००३ मा एउटा टिभी कार्यक्रममा छायामा रहेर अन्तर्वार्ता दिएकी थिइन् । तर, उनको परिवारले चिन्यो । परिवारले प्रश्न गर्दा हो पनि भनिनन्, होइन पनि भनिन् ।

शीतल २००८ देखि मात्र खुलेर बाहिर आएकी हुन् । खुला रूपमा आएपछिको समय झन् सकसपूर्ण भयो । कपाल अलि लामो, आशिकी कट बनाएकी थिइन् । अझै लामो भएपछि केटीजस्तो दखिन थालिन् । त्यसपछि बाँधेर हिँडडुल गर्न थालिन् । हर्मोनहरू खाइन् । अंगहरू महिलामय हुँदै गयो । ड्रेस भने केटाकै । ‘हरेक दिन सानो–सानो परिवर्तन भयो,’ उनले भनिन्, ‘सानो–सानो परिवर्तन परिवारले थाहा पाएन ।’

सन् २००८ तिर उनी मेक्सिको गइन् । कपाल बाक्लो थियो । १०–१२ वटा कलर प्रयोग गरेर आइन् । ‘त्यसवेला त्यस्तो कलर लगाउने चलन नै थिएन, काठमाडौंमा,’ उनी सुनाउँछिन् ।

बिस्तारै ड्रेसमा पनि चेन्ज गरिन् । ‘टम ब्वाई’जस्तो ड्रेस । घरभन्दा अलि तल सोल्टिनीको क्याफे थियो । घरबाट ‘टम ब्वाई’ भएर निस्केकी शीतल क्याफेबाट भने पूर्ण महिला भएर निस्किन्थिन्् । ‘छाती देखिने, अलि कामुक देखिने कपडा लगाएर निस्किन्थेँ,’ उनी भन्छिन् । सोल्टिनीको क्याफेमा ग्राहकहरूको आगमन भइरहने । खुलेर ड्रेस परिवर्तन गर्न सकिनन् । सोल्टिनीले पनि कराउने गरेकाले सोचिन्, ‘अब यो जीवन नै बाँच्ने हो भने घरबाटै सुरु गर्नुपर्छ ।’ एक दिन केटीको ड्रेस लगाएर घरबाट खुरुखुरु बाहिर निस्किन् । गेटमा पुगेपछि पाइला अगाडि बढाउन सकिनन् । एक छिन रोकिइन् । हिम्मत गरेर निस्किइन् । तर, सामाजिक वातावरणका कारण यति असहज महसुस गरिन् कि उनी शब्दमा भन्न सक्दिनन् । सबैले हेरिरहेजस्तो लाग्थ्यो । पेन्सिल हिल लगाएकी, कपाल हाइलाइट गरेकी । मान्छेहरूले खुब रमिता मानेर हेर्थे । ‘जसले मलाई त्यसरी हेर्छ, म त्यही बाटो हिँड्नुपर्छ,’ उनले संघर्ष गर्ने विचार गरिन् ।

यसपटक परिवारको पनि साथ पाइन् । बुबाले ‘तैँले मेरो वंश धानिनस्’ भनेनन् । उनले पनि बुझाउन सक्दो प्रयास गरिन् ।

‘कोही पनि म तेस्रोलिंगी बनेर जन्मिन्छु भनेर जन्मेका हुँदैनन् । कसैले छोरा चाहेको हुन्छ, कसैले छोरी,’ बुबालाई भनिन्, ‘तपाईंको घरमा त छोरा पनि छ । छोरी पनि छ । तेस्रोलिंगी पनि छ । तीन किसिमका सन्तान हुनु भनेको त भाग्यको कुरा हो ।’ यसपछि बुबाले उनलाई कहिल्यै नराम्रो भनेनन् ।
उनका बुबा तीन वर्षपहिले बिते । बित्नुभन्दा तीन दिनअघि शीतललाई भनेका थिए, ‘म मर्दा मलामीलाई पानी, खाजा तैँले खुवाउनू । मलाई अरूको विश्वास छैन ।’

साभार : नयाँ पत्रिका