भूमिकाको आत्मकथा : जलाउने कोही छैन

काठमाडौं (पहिचान) माघ १५ – सबैले भूमिकालाई चिन्छन । राज्यले भने कैलाशलाई मात्रै चिन्छ । किनकी नागरिकता कैैलाश श्रेष्ठकै नाममा छ । तेस्रोलिंगी अधिकारकर्मी भूमिकाले भरखरै बजारमा ल्याएको आत्मकथाको एक अंश जुन नेपालमा रहेका सबै तेस्रोलिंगीको पहिचानको समस्यालाई उजागर गरेको छ । कैलाश हुँदै भूमिका भएको कथालाई प्रस्तुत गरिएको आत्मकथामा उनको मात्रै कथा समेटिएको छैन । उनले तेस्रोलिंगीको आत्मकथामा नाम र रुपरंग नमिल्दा धेरै साथीले बैंक खाता खोल्न नपाएको उल्लेख गरेकी छन् ।

उनले आफ्नो नाम रीता, सीता, गीता, कमला, शर्मिला आदि भन्दा फरक नाम खोज्दै जादाँ भूमिका फुरेको लेखेकी छन् । दुई पटक नागरिकता लिएकी उनले पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता लिएपनि राज्यले भूमिकाको पहिचान नदिएकोमा तितो तर बास्तविक यथार्थता पुस्तकका उतारेकी छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर सजिलै पहिचान पाउने तेस्रोलिंगीको समग्र व्यथा मात्रै होइन समलिंगीको पीडालाई पनि उनले आफ्नो पुस्तकमा ठाउँ दिएकी छन् । नाम खुलाउन नचाहने एक समलिंगी महिलाको कहानीले भूमिकाको पुस्तकलाई थप सुन्दरता दिएको छ ।

धेरै मान्छेले सोच्छन समानलिंगी केटीहरुबीच यौनसम्बन्ध कसरी सम्भव छ ? खासमा मन मिल्ने, भावना मिल्ने दुई व्यक्तिबीचको यौनक्रियामा शरीर एकअर्कामा स्पर्श गराउँदा मात्र पनि सन्तुष्टि हुन्छ । हामी जस्ता महिलाको पुरुषप्रति आकर्षण रहँदैन समलिंगी महिलाले भनेको आफ्नो कहानी भूमिकाको तेस्रोलिंगीको आत्मकथामा समावेश छ ।

त्यसो त महिलाप्रति कुनै आकर्षण नहुने पुरुषले कसरी यौन व्यवहार राख्छन ? समलिंगी पुरुष अनुज पिटरले यसको सहज जवाफ भूमिकाको पुस्तकमा दिएका छन् । हाम्रो मुख्य यौन व्यवहार एनल सेक्स र ओरल सेक्स हो । उत्तेलित लिंग गुदद्धार र मुखमा प्रबेश गराउने, टङ किस, फोरप्लेजस्ता गतिविधिबाट सन्तुष्टि लिन्छौ पिटरले भनेका छन् ।

भूमिकाको पुस्तकमा समलिंगी महिला र समलिंगी पुरुषको मात्रै कहानी छैन । उनको पुस्तकमा तेस्रोलिंगी पुरुषको कथा पनि समावेश गरिएको छ । काठमाडौंकै रैथाने एलिन भण्डारी जन्मदा छोरी हुन् । जैविक रुपले केटी भए पनि उमेर बढ्दै जाँदा आफूलाई केटा ठान्ने एलिनको आफूजस्तै केटीसँग भएको प्रेम कहानी पुस्तकमा पढ्न पाइन्छ । एलिनले भूमिकाको पुस्तकमा आफू पुरुष बन्न हरसम्भव प्रयत्न गरिरहेको बताएका छन् ।

समलिंगी, तेस्रोलिंगीसँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायमा पर्ने अन्तरलिंगीको कथा पनि भूमिकाको पुस्तकमा पढ्न पाइन्छ । जन्मदै दुइवटै लिंग भएको सन्तान अन्तरलिंगी कुसुम विष्टलाई आफन्त र छिमेकी छोरा कि छोरी ? भनेर सोध्थे । के उत्तर दिने ? भनेर पिरोलिरहन्थ्यो । म अन्तरलिंगी पहिचानकी महिला तर जीवनसाथीका रुपमा महिला नै चाहन्छु कुसुमले भूमिकाको पुस्तकमा भनेकी छन, अन्तरलिंगीभित्रै पनि आफूलाई महिला वा पुरुष ठान्ने दुवै हुन सक्छन् । ममा महिलामा हुनुपर्ने स्वभाव, मासिक धर्म, पाठेघर केही पनि छैन । त्यसैले आफूजस्तै अन्तरलिंगी महिलासँग विवाह बन्धनमा बाँधिने इच्छा छ ।

भूमिकाले आफ्नो पुस्तकमा कुनै कुरा नछिपाई लेखेको देखिन्छ । ४-५ बर्षको उमेरदेखि नै केटीको व्यवहार देखाएको लेखेकी भूमिकाले बुबा हरेक दिन रक्सीले मातेर आउँदा घरमा सधै बबन्डर हुने गरेको लेखेकी छन् । बुबाले कमाएजति पैसा रक्सीमै स्वाहा हुन्थ्यो । मुल संरक्षक नै बरालिएका कारण हाम्रो आर्थिक स्थिति राम्रो थिएन । भूमिकाले आठ बर्षको उमेरमा बुबा गुमाउनु परेको थियो ।

कैशाल मोरो त कस्तो छक्का जस्तो भएछ । केटा भएर पनि केटीले झै पानी बोक्ने, कस्तो लाज नभएको नकचरो यस्ता वाक्य भूमिकको कानमा तातो झीर बनेर पस्थे । त्यति मात्रै होइन, नेपाली समाजलाई पनि भूमिकाले आफ्नो पुस्तकमा चित्रण गरेकी छन् ।

नेपाली समाज हो, घरपरिवारमा लोग्नेमान्छेको अगुवाई खोजिहाल्दो रहेछ । जँड्याहा नै भए पनि परिवार र समाजका लागि बुबा भरोसा हुनुहुन्थ्यो, जानुभयो । आफ्नो नेवारी संस्कार अनुसार गुठीले आफ्नो परिवारलाई बहिष्कार गरेको पनि उल्लेख गरेकी छन् ।

घरमा आमाले दिएको माया र साथ सहयोग प्रति नतमस्तक भूमिकाले राजनीतिमा गरिएको पूर्वाग्रहलाई भने कटाक्ष प्रहार गरेकी छन् । घरपरिवार र समाजले विभेद गर्ने र अनि राज्य पनि पूर्वाग्रही हुने । यस्तै छ हाम्रो विडम्वना । यो तथ्य राजनीतिक नेतृत्वले कहिले मनन गर्ने ? भूमिकाको प्रश्न छ ।

भूमिकाले आफ्नो पुस्तकमा आफ्नो र आफ्नो समूदायको कथा मात्रै लेखेकी छैनन् । राष्ट्रिय अन्तराष्ट्रिय रुपमा भएका उपलब्धी, समलिंगी विवाहले मान्यता पाउनु पर्ने कारण लगायतका यौनिक तथा लैंगिक अल्पसंख्यकको खानी नै प्रस्तुत गरेकी छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा ‘एल’ भन्नाले लेस्बियन अर्थात महिलाले महिलासँगै सम्बन्ध राख्न मन पराउने समलिंगी महिला, ‘जी’ भन्नाले ‘गे’ अर्थात पुरुष र पुरुषबीच सम्बन्ध राख्न मन पराउने समलिंगी पुरुष, ‘बि’ भन्नाले बायसेक्सियल अर्थात महिला र पुरुष दुबैसँग सम्बन्ध राख्न मन पराउने दुईलिंगी, ‘टि’ भन्नाले तेस्रोलिंगी जन्मदा छोरा पछि छोरी बनेर खुल्ने तेस्रोलिंगी महिला अनि जन्मदा छोरी पछि छोरा बनेर खुल्ने तेस्रोलिंगी पुरुष, ‘आई’ भन्नाले अन्तरलिङ्गी अर्थात छोरा वा छोरी भनेर छुट्याउन नसकिने भनेर खुलाइएको पुस्तक यो समुदायको पीडा झल्कने नेपाली भाषाको पहिलो पुस्तक हो ।

‘शिखण्डीको नियती’ शिर्षकबाट सुरु भएको भूमिका तेस्रोलिंगीको आत्मकथा ‘जलाउने कोही छैन’ शिर्षकमा सकिन्छ । धुवाँमा सकिएको सास, धुवाँमै झुण्डिएको आस । लाग्छ दुवै धुवाँ मभित्र पनि पसिरहेछ । तेरो ज्यान जलाउने होइन, मन जलाउने मात्रै छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यकको पीडा, व्यथा एवं बास्तिवकता रहेको भूमिका तेस्रोलिंगीको आत्मकथा पुस्तक घोष्ट राइटिङ नेपालले बजारमा ल्याएको हो ।